प्रश्नको घेरामा डा. स्वर्णिम वाग्ले

आफ्नो पार्टी र नेताले जे गर्दा पनि प्रतिरक्षा गर्ने ‘झोले’ वा ‘अरिङ्गाल’ चरित्रको नयाँ पार्टी कसलाई किन चाहियो, त्यस्तो चरित्रका लागि त पुराना पार्टी नै काफी छँदैछन् । डा. वाग्ले आज यस्ता थुप्रै प्रश्नहरूको घेरामा पर्दै गएका छन् । उनी यो चक्रव्यूहभित्र स्वयम् अभिमन्यु बन्छन् वा बाहिर निस्कने प्रयत्न गर्दछन् ? यसले उनको भावी राजनीति र सार्वजनिक भूमिका निर्धारण गर्नेछ ।

प्रश्नको घेरामा डा. स्वर्णिम वाग्ले

डा. स्वर्णिम वाग्ले- तनहुँ १ का निर्वाचित प्रतिनिधिसभा सदस्य । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति ।

यी परिचय स्थापित हुनुभन्दा अघि उनी एक राम्रा अर्थविज्ञ तथा आर्थिक मामिला विश्लेषकका रूपमा स्थापित थिए । आर्थिक मामिलामा उनका विचार र विश्लेषण पढ्दा धेरैलाई लाग्थ्यो, उनी देशकै एक अब्बल ‘उदीयमान अर्थशास्त्री’ हुन् । डा. वाग्लेको यो छवि बौद्धिक जगत, पाठक र अर्थ-राजनीतिक रुचि भएका धेरै मान्छेलाई प्रिय थियो ।

स्वाभाविक हो कि व्यक्तित्वको उदयसँगै विरोधाभास पनि बढ्दै जान्छन् । संसारमा यो असङ्गतिबाट जोगिने थोरै मान्छे हुन्छन् । जो जोगिन्छन्, तिनैले समाज, इतिहास र सभ्यताका आदर्श तथा मानक निर्माण गर्दछन् । जो चिप्लन्छन्, कतै किनारामा गएर थन्किन्छन् ।

कुनै समय डा. वाग्लेले आफूलाई सार्वजनिक रूपमै ‘तीनपुस्ते कांग्रेस’ दाबी गरेका थिए । अर्थात् उनी चिप्लिन थालेका थिए । त्यतिखेरै ‘पुस्ता’, ‘लोकतन्त्र’ र ‘कांग्रेस’बीचको सम्बन्ध-असङ्गतिलाई लिएर उनको अभिव्यक्ति विवादमा परेको थियो ।

लोकतन्त्रमा कुनै दल छनोट गर्नु सार्वभौम नागरिकको ‘पुस्तौनी संलग्नता’ को विषय हो कि निजी स्वतन्त्रता र छनोटको अधिकार ? दलहरूको विचार, कर्म, भूमिका र योगदानप्रति नागरिक निगरानी र निर्णयाधिकारको सवाल ?

यो मानकको कसीमा डा.वाग्लेको अभिव्यक्ति शङ्काको घेरामा तानिएको थियो र उनको ‘बौद्धिकता’ फिक्का देखिएको थियो ।

लोकतन्त्रले उदात्त मानवीय स्वतन्त्रताको पक्षपोषण गर्दछ । लोकतन्त्र दलीय सर्वोच्चताको विचारधारा हैन, नागरिक सर्वोच्चताको प्रणाली हो ? लोकतन्त्रमा कुनै दल र नेताप्रति नागरिकको समर्थन र विरोध ‘ईस्यू बेस’ हुन्छ । सामयिक हुन्छ । ‘पुस्तौनी’ वा ‘निरपेक्ष’ हैन ।

स्वयम् उनकै जीवनको घटनाक्रमले देखायो, राजनीति कुनै पार्टीसँगको निजी वा पारिवारिक सम्बन्ध हैन । ‘तीनपुस्ते’ सम्बन्धले उनलाई नेपाली कांग्रेसमा बाँधिराख्न सकेन । उनी २०८० को उपनिर्वाचनमा कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे । टिकट पाए, जिते ।

उनमा बलियो नैतिक भावना र विकल्प खोजको तीव्र चाहना हुन्थ्यो त २०७९ को आम निर्वाचनअघि नै कांग्रेस परित्याग गरी विकल्प निर्माणका लागि योगदान गर्न सक्नुपर्थ्यो । रास्वपा एक शक्तिको रूपमा उदित भएपछि त्यो पनि ‘टिकटको मोलतोल’ मिलेपछि मात्र प्रवेश गर्नु कति ठूलो नैतिक दाबीको विषय बन्न सक्ला ?

डा. वाग्ले २०७९ को आम निर्वाचनसम्म नेपाली कांग्रेसको चुनावी घोषणापत्र लेख्दै थिए । कांग्रेसले बहुमत ल्याए, गगनकुमार थापा प्रधानमन्त्री भए ‘करिअर सुरक्षित’ होला भन्ने आशामा थिए ।

रास्वपा प्रवेश गर्ने ‘राजनीतिक अधिकार’ उनलाई थियो तर, कांग्रेसप्रतिका ‘नैतिक भावना’ त्यति शिथिल हुनुपर्थ्यो वा पर्दैनथ्यो ? जो मानिसले कुनै राजनीतिक दलको घोषणापत्र लेख्छ, त्यो मानिस त्यो दलको भविष्यप्रति नैतिक अनुबन्धमा हुन्छ कि हुँदैन भन्ने प्रश्न अवश्य उठ्छ ।

कांग्रेस परित्याग गर्दा उनले कुनै वैचारिक तथा नीतिगत प्रश्न उठाएनन् । ‘दाजु-भाउजूको वर्चस्व’ को सवाल उठाए । राजनीतिमा यस्ता सवाल अनौपचारिक हुन् । ‘गतिलो राजनीति’ गर्छु भन्नेले आफ्ना कुनै राजनीतिक कदमको औपचारिक पुष्टि गर्नुपर्ने हुन्छ, अनौपचारिक सवाल उठाएर मात्र पुग्दैन । राजनीतिक तथा वैचारिक विमति वा फरकमत देखाउन सक्नुपर्ने हुन्छ, ‘दाजु-भाउजूले देखिसहेनन्’ भन्ने उत्तर त्यति गतिलो हैन ।

गगनकुमार थापामा भावी नेतृत्वको सम्भावना र देशको भविष्य देख्ने डा. वाग्लेले रातारात त्यो कुरा रवि लामिछानेमा देख्न थाले । यहाँनेर यो देशको भविष्यको चिन्ता हो कि स्वयम् आफ्नो भन्ने प्रश्न उठ्ने नै भयो । अझ अघि बढेर डा. वाग्लेले लामिछानेलाई बिनासन्दर्भ र औचित्य बीपी कोइरालासँग अमिल्दो तुलना गर्न थाले ।

डा. वाग्ले यहाँनेर तेस्रोपटक चिप्लिए । बीपीसँग लामिछानेको तुलना धेरैका आँखामा ‘नयाँ मालिक’प्रतिको बफादारी, चाकरी, चाप्लुसीजस्तो मात्र देखियो । भित्रभित्र निकटस्थलाई दिने उनको जवाफ थियो— राजनीतिमा ‘क्राउड पुलर’ पनि त चाहिन्छ, लामिछानेले त्यो क्षमता देखाए त म के गरूँ ?

खासमा गत आमचुनावमा रास्वपाले पाएको मत लामिछानेको ‘निजी लोकप्रियता’ र ‘क्राउड पुलिङ’ मात्र थिएन । र, त्यो अर्को चुनावसम्म कायम रहन्छ वा बढ्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यो एक विशिष्ट प्रकारको राजनीतिक रिक्तताको लाभ थियो । २०७० को दशकबाट बन्दै गएको ‘वैकल्पिक राजनीति’ को विमर्श र स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी अभियानले निर्माण गरेको जनमतको केन्द्रीकरण थियो ।

छुट्टिनुपर्ने दिन आयो भने काठमाडौंको यस्तो जनमतमा ‘रवि समर्थक’ धेरै होलान् कि ‘बालेन समर्थक’ ? को ठूलो ‘क्राउड पुलर’ बन्ला ?

‘नैतिक राजनीति’ गर्ने मान्छेले ‘क्राउड पुलर’ मात्र हैन, त्यसभित्रको ‘अर्थ-सङ्गति’ पनि खोज्छ । मूल्य-प्रणाली के हुन्छ, समाज, सभ्यता र इतिहासका मानक कसरी बन्छन् र बिग्रिन सक्दछन् भन्ने पनि हेर्छ । दूरगामी प्रभाव र प्रवृत्ति निर्माणमा पुग्ने योगदान वा क्षतिको पनि विश्लेषण गर्दछ ।

प्रियतावाद आज देशका ज्वलन्त समस्याको सही निदान र समाधान हो कि हैन ? प्रियतावादको विश्व परिप्रेक्ष्य के हो ? र, यसले देशलाई कस्तो हानि पुर्‍याउन सक्दछ भन्ने पनि सोच्दछ ।

नयाँ दलको खास ताकत भनेको छवि र सन्देश हो । त्यसको सन्तुलन बिग्रियो भने के हुन्छ, २०७० को दशकका विवेकशील, विवेकशील-साझा र नयाँ शक्ति हेरे पुग्छ । अर्को चुनावसम्म रास्वपा त्यस्तो हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन ।

चुनावमा मतदाताबीच ‘नो नट एगेन’ भनेर आएको पार्टीले चुनाव सम्पन्न भएको केही दिनभित्रै ‘एस, वोन्स अगेन’ भन्ने नैतिक तथा राजनीतिक अधिकार राख्छ कि राख्दैन ? के यो सार्वभौम नागरिकको अपमान र मतदातालाई ढाँट्नु हैन ? के यो आवधिक निर्वाचन र जनादेशको सिद्धान्तविपरीत हैन ? के उन्नत लोकतन्त्रमा भए यसो गर्ने उम्मेदवार र पार्टीलाई जनअदालतमा ‘राइट टू रिकल’ को मुद्दा लगाइँदैन ?

यो प्रश्नको उत्तर ‘लामिछाने’हरूबाट अपेक्षित थिएनन् तर, ‘वाग्ले’हरूका लागि सङ्गीन हुन् । एक माघले जाडो जाँदैन, लोकतन्त्रमा चुनाव त फेरिफेरि फर्की-फर्की आउँछ ।

यी सबै घटना शृङ्खलाको ‘क्लाइमेक्स’ मा अहिले सहकारी ठगी प्रकरण छ । उन्नत लोकतन्त्र र सुसंस्कृत राजनीतिक संस्कारको मान्यताले के भन्छ ?

आरोपित व्यक्तिले छानबिनको अवधिभर ‘स्वार्थ-बाझन’ हुने पद नलिनु लोकतन्त्रको सामान्य सिद्धान्त र मान्यता नै हैन र ? स्वयम् लामिछाने टेलिभिजन एङ्करिङ गर्दा अरुमाथि प्रश्न उठाउँदा यिनै कुरा भन्थे, हैन र ?

सहकारी ठगी पीडितको न्यायको प्रश्न हो कि संसदीय गणितको खेल हो ? कसको सरकार रहन्छ वा टिक्छ, कसको मन्त्री पद रहन्छ वा टिक्छ भन्ने कुरासँग ‘न्याय’ को के सम्बन्ध छ ?

न्याय कुनै स्वार्थको गणित हैन । आधुनिक लोकतान्त्रिक राज्यको अनिवार्य कर्तव्य हो । वाग्ले जत्तिका मान्छेबाट प्रेस स्वतन्त्रता र राजनीतिक प्रतिशोधको सवालमा पनि कुनै न कुनै न्यायिक अभिव्यक्ति समाजलाई अपेक्षित थियो ।

४४ वर्षपछि ठीक यतिखेरै सिरोहिया प्रकरण किन भयो ? यसमा प्रतिशोधको कुनै भावना छैन भन्न सकिन्छ ? कसैको नागरिकता प्रमाणपत्रको छानबिन सहकारी ठगी र गिरीबन्धु टी-स्टेट प्रकरणसँग जोडिएर आउनुपर्ने हो र ? त्यो काम त यी प्रकरणभन्दा अघि वा पछि पनि त हुन सक्थे ।

वाग्ले हिजो एक ‘पात्र’ जस्ता लाग्थे, आज एक ‘प्रवृत्ति’ जस्तो देखिँदै छन् । समाज, इतिहास र सभ्यताका लागि पात्रभन्दा प्रवृत्ति महत्त्वपूर्ण हुन्छन् ।

के बौद्धिक क्षमता र अति महत्वाकाङ्क्षाको आडमा मात्र बारम्बार बीपी कोइरालाको नाम काढ्ने अधिकार कसैमा रहन्छ ? कि त्यसका लागि नैतिक मूल्य-प्रणालीसँगको सङ्गति पनि चाहिन्छ ?

आफ्नो पार्टी र नेताले जे गर्दा पनि प्रतिरक्षा गर्ने ‘झोले’ वा ‘अरिङ्गाल’ चरित्रको नयाँ पार्टी कसलाई किन चाहियो, त्यस्तो चरित्रका लागि त पुराना पार्टी नै काफी छँदैछन् ।

डा. वाग्ले आज यस्ता थुप्रै प्रश्नहरूको घेरामा पर्दै गएका छन् । उनी यो चक्रव्यूहभित्र स्वयम् अभिमन्यु बन्छन् वा बाहिर निस्कने प्रयत्न गर्दछन् ? यसले उनको भावी राजनीति र सार्वजनिक भूमिका निर्धारण गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved