भारतीय चुनावको विश्लेषण : के ‘मोदी युग’को ओरालो यात्रा सुरु भएको हो ?

मोदी युगमा विपक्षी दल निरन्तर कमजोर भएको र उल्लेखनीय सिटसहितको विपक्षी दल नै अस्तित्वमा नरहेको विश्लेषण गरिँदै थियो । तर, यसपटकको निर्वाचन परिणामले भारतीय राष्ट्रिय कांग्रेसलाई एक बलियो प्रतिपक्षको रूपमा स्थापित गरिदिएको छ ।

भारतीय चुनावको विश्लेषण : के ‘मोदी युग’को ओरालो यात्रा सुरु भएको हो ?

काठमाडौं । भारतको लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नारा ‘अबकी बार, ४०० पार’ को थियो । तर, भाजपाको यात्रा २४० सिटमा नै रोकियो । भाजपा नेतृत्वको गठबन्धन ‘एनडीए’ २९२ सिटमा सीमित भयो ।

विगत दुई चुनावयता भाजपा एक्लैले लगातार बहुमत हासिल गरेको थियो । सन् २०१४ मा २८२ र सन् २०१९ मा ३०३ सिट पाएको थियो । भाजपा नेतृत्वको एनडिए गठबन्धनले यी दुई चुनावमा क्रमशः ३३६ र ३५३ सिट जितेको थियो ।

उपरोक्त दुई चुनावअनुरूप नतिजा वृद्धि हुन्थ्यो त भाजपाको नारा अस्वाभाविक थिएन । तर, यसपटकको निर्वाचन परिणामले पुष्टि गरेको छ कि अब भाजपा वृद्धिमा हैन, ह्रासको चरणमा पुगेको छ । राष्ट्रिय राजनीतिमा र पार्टीमा ‘मोदी युगको ओरालो यात्रा’ सुरुवात भएको अनुमान गर्न थालिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको १० वर्षे शासनकाललाई ‘मोदी युग’ भन्न थालिएको थियो । उनी यसपटक ‘ह्याट्रिक’ गरेर जवाहरलाल नेहरूसँग बराबरी गर्न चाहन्थे । भारतमा निरन्तर प्रधानमन्त्रीको तीन कार्यकाल पूरा गर्ने रेकर्ड नेहरूको नाममा मात्र छ । सन् १९६२ यता अरु कुनै प्रधानमन्त्रीले त्यस्तो अभिलेख कायम गर्न सकेका थिएनन् ।

भाजपाको एकल बहुमत नआए पनि प्रधानमन्त्री मोदीले ‘ह्याट्रिक’ गर्ने सम्भावनाको अन्त्य भएको छैन । गठबन्धनसँग अहिले पनि बहुमत छ । तर, मोदीको राजनीतिक सकस भने बढेको छ । भाजपाको एकल बहुमत नभएको अवस्थामा गठबन्धन दल अर्कोतिर जानसक्ने सम्भावना छ ।

बिहारका मुख्यमन्त्री नीतीशकुमार नेतृत्वको जेडियू र उडिसाको चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टी ‘किङ मेकर’ को रूपमा देखिएका छन् । यी दुई दलसँग क्रमशः १२ र १६ गरी २८ सिट छ । यी दलले गठबन्धन त्याग गरेको खण्डमा भाजपा नेतृत्वको एनडीएसँग २६४ सिट मात्र रहन्छ । जुन सरकार बनाउन अपुग हुन्छ ।

विपक्षी इन्डिया गठबन्धनलाई भ्यागुताको धार्नी पुर्‍याउन पनि त्यति सहज भने छैन । उनीहरूसँग २३४ सिट मात्र छ । विपक्षी इन्डिया गठबन्धनको सबैभन्दा ठूलो घटक भारतीय राष्ट्रिय कांग्रेससँग ९९ सिट छ ।

निर्वाचन परिणामपछि मङ्गलबार साँझ भाजपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भने— उनीहरू सबै मिलेर पनि भाजपाको एक्लै जति सिट ल्याएका छैनन् । तर, उनीहरूको जित मानिने र भाजपाको हार मानिने कस्तो व्याख्या हो ?

भाजपा अध्यक्ष जेपी नड्डाले त्यही भने, “१०० सिट नपुर्‍याएकाहरू विजयको धुम मच्चाइरहेका छन् । त्यसको दोब्बर सिट ल्याएको हाम्रो हार मानिने, यस्तो हुन सक्दैन । अपेक्षित सिट नआए पनि यो भाजपा र एनडीए गठबन्धनको जित हो ।

हो पनि, कांग्रेसले पाएको ९९ सिट र विपक्षी दलले पाएको २३४ सिटको तुलनामा भाजपा एक्लैले पाएको २४० सिट धेरै हो । भाजपा एक्लै निकै ठूलो आकारको ‘लार्जेस्ट्’ पार्टी भएको छ । तसर्थ, यसलाई ‘मोदी युगको अन्त्य’ भनिहाल्नु हतारो हुन सक्दछ । ‘मोदी युगको ओरालो यात्रा’ को सुरुवात भन्नु उचित हुन सक्दछ ।

यो तथ्य उत्तिकै सत्य हो कि इतिहासमा भाजपाले पहिलो बहुमत मोदी युगमै हासिल गरेको थियो । सन् १९५१ मा भारतीय जनसङ्घ स्थापना भएयताको ६३ वर्षपछि पहिलो बहुमत सन् २०१४ मा हासिल भएको थियो । मोदी १० वर्षे कार्यकाल पूरा गर्ने भाजपाका पहिलो प्रधानमन्त्री हुन् ।

विपक्षी इन्डिया गठबन्धन निर्माणपछि मोदी युगको विजय यात्रा कुनै न कुनै प्रकारले गतिरोधमा फस्ने अनुमान धेरैले गरेका थिए । नभन्दै त्यस्तै भयो । १० वर्षे शासनको प्रतिप्रभाव र जनअसन्तुष्टिको फाइदा विपक्षी गठबन्धनलाई हुनु स्वाभाविक थियो ।

यसपटक प्रधानमन्त्री मोदीले निम्नकोटीको जस्तो लाग्ने कतिपय विवादास्पद अभिव्यक्ति पनि दिएका थिए । यसअघिका निर्वाचनमा मोदीले मतदाताबीच एक सर्वसाधारण व्यक्ति पनि देशको प्रधानमन्त्री हुन सक्दछ भन्ने ‘चायवाला फिलिङ’ दिने गरेका थिए । यसपटक उनले ‘लाग्छ मलाई भगवान्‌ले पठाएको हो’ भन्दै ‘मसिहावाला फिलिङ’ मतदाताका बीच पस्के ।

मोदीले देशको भविष्यसँग सम्बन्धित ‘ठूला-ठूला निर्णय गर्न’ आफूलाई ४०० भन्दा बढी सिट आवश्यक परेको बताएका थिए । तर, ती ‘ठूला-ठूला निर्णय’ के हुने छन्, भाजपाले प्रष्ट पार्न सकेको थिएन ।

मोदीको यो भनाइको अर्थ विपक्षी दलले ‘संविधान संशोधन र आरक्षणको खारेजी’ भन्ने लगाएका थिए । उनीहरूले ‘संविधान, सामाजिक न्याय र आरक्षणको रक्षा’ गर्न इन्डिया गठबन्धनलाई भोट दिन अपीलसमेत गरेका थिए ।

मोदी युगमा विपक्षी दल निरन्तर कमजोर भएको र उल्लेखनीय सिटसहितको विपक्षी दल नै अस्तित्वमा नरहेको विश्लेषण गरिँदै थियो । तर, यसपटकको निर्वाचन परिणामले भारतीय राष्ट्रिय कांग्रेसलाई एक बलियो प्रतिपक्षको रूपमा स्थापित गरिदिएको छ । भारतीय राष्ट्रिय कांग्रेसले पहिलेभन्दा करिब दोब्बर सिट जितेको छ ।

विपक्षी नेता राहुल गान्धीले केरलको वायनाड र उत्तरप्रदेशको रायबरेली दुवै सिटमा विजय हासिल गरेका छन् । गत निर्वाचनमा उनी वायनाडबाट जिते पनि उत्तरप्रदेशकै अर्को सिट अमेठीमा भाजपा नेतृ स्मृति इरानीसँग पराजित भएका थिए । यसपटक अमेठीको सिट पनि गान्धी परिवारका निकटस्थ किशोरीलाल शर्माले जितेका छन् ।

गान्धी परिवारका पछिल्ला उत्तराधिकार राहुल गान्धी, प्रियंका गान्धी यस निर्वाचनबाट स्थापित भएका छन् । यसअघि उनीहरू नेतृत्वका लागि परिपक्क भइनसकेको धारणा बलियो थियो । ५४ वर्षीय राहुल गान्धीले कन्याकुमारीदेखि कश्मीरसम्म ‘भारत जोडो यात्रा’ र मणिपुरदेखि महाराष्ट्रसम्म ‘भारत जोडो न्याय यात्रा’ गरेका थिए ।

गान्धीले यात्राका क्रममा ‘घृणाको दोकान’ विरुद्ध ‘प्रेमको दोकान’ खोल्न हिँडेको बताउने गरेका थिए । राहुलकी बहिनी प्रियंका गान्धी ‘स्टार प्रचारक’ का रूपमा देशभरि दौडिएकी थिइन् । उनी लोकसभामा उम्मेदवार थिइनन् । तर, राहुलले जितेका दुईमध्ये एक क्षेत्रको उपनिर्वाचनमा उनी उम्मेदवार हुने बलियो सम्भावना छ । यसरी कांग्रेस फेरि गान्धी परिवारकै वरिपरि एकीकृत हुन पुगेको छ ।

भाजपाले उसको आधार क्षेत्र मानिएका उत्तरी राज्यमै अपेक्षित सिट हासिल गर्न सकेन । उत्तरप्रदेशमा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी र भारतीय राष्ट्रिय कांग्रेसको सहयात्रा बलियो देखियो । सन् २०१४ मा भाजपाको उदय हुन उत्तर प्रदेश निर्णायक प्रदेश थियो । त्यहाँ भाजपाले ८० मध्ये ७३ सिट जितेको थियो । यसपटक भाजापा उत्तर प्रदेशमा ३३ सिटमा सीमित भयो । अखिलेश यादवको समाजवादी पार्टीले ३७ सिट जितेर प्रदेशमा वर्चस्व स्थापित गरेको छ । कांग्रेस ६ सिटसहित फाइदामा छ ।

उत्तर प्रदेशमा पूर्वमुख्यमन्त्री मायावती नेतृत्वको बहुजन समाजवादी पार्टी शून्य हुनुलाई अर्को रोचक घटना मानिएको छ । उत्तर प्रदेशमा अनपेक्षित परिणामले भाजपाको आन्तरिक शक्ति सङ्घर्ष बढाउन सक्ने ठानिएको छ । त्यहाँ दुई कार्यकालदेखि योगी आदित्यनाथको नेतृत्वमा भाजपा सरकार छ । लोकसभा निर्वाचन परिणामले मुख्यमन्त्री योगीलाई राजनीतिक रूपमा कमजोर बनाएको छ । भाजपाभित्र उत्तरप्रदेश सरकारको नेतृत्व परिवर्तनको माग बढ्न सक्ने अनुमान गरिँदैछ ।

पश्चिम बंगालमा तृणमूल कांग्रेसले भाजपाको ‘४०० पार’ लक्ष्यलाई रोक्न ठूलो भूमिका गर्‍यो । बंगालका ४० मध्ये तृणमूल कांग्रेसले एक्लै २९ सिट जित्यो । भाजपा १२ सिटमा सीमित भयो । बंगालबाट गत चुनावमा भाजपाले १९ सिट जितेको थियो र यसपटक २५ भन्दा धेरै सिट जित्ने अपेक्षा गरेको थियो ।

दक्षिणमा तमिलनाडुले भाजपालाई बढ्न दिएन । त्यहाँ एमके स्टालिन नेतृत्वको डिएमके निकै बलियो क्षेत्रीय दलका रुपमा कायमै रह्यो । उसले एक्लै २२ सिट जित्यो ।

कम्युनिष्ट पार्टीहरूले भने यसपटक पनि कुनै उल्लेखनीय प्रगति गरेनन् । तीन कम्युनिष्ट समूह भाकपा (मार्क्सवादी), भाकपा र भाकपा (माले-लिवरेशन) विपक्षी एनडीए गठबन्धनमा थिए । तीन समूहले जम्मा ८ सिट जितेका छन् ।

दिल्ली र पञ्जाबमा सरकार चलाइरहेको आम आदमी पार्टीले पनि यस चुनावमा उल्लेखनीय प्रगति गर्न सकेन । आप ३ सिटमा सीमित भयो । त्यो पनि सबै पञ्जावबाट । दिल्लीमा एक दशकभन्दा बढी समयदेखि सरकार चलाइरहेको आप कांग्रेससँगको गठबन्धनका बाबजूद शून्य भयो । दिल्लीका सबै ७ सिट भाजपाले जितेको छ । विपक्षी दलका स्टार युवा नेता कन्हैया कुमार पराजित भए ।

केरलमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन नै बलियो देखियो । २० मध्ये १८ सिट कांग्रेस गठबन्धनले जित्यो भने सत्तारुढ वाम मोर्चाले १ सिट मात्र जित्यो । केरलको इतिहासमै पहिलोपटक १ सिट जितेर खाता खोलेको छ ।

महाराष्ट्रमा शिवसेना र राष्ट्रवादी कांग्रेस पार्टीको फुटपछि यो पहिलो चुनाव थियो । तसर्थ, विभाजित समूहमध्ये कुन मूल पार्टी बन्ने भन्ने लडाइँ र जिज्ञासा व्यापक थियो ।

शिव सेनाको उद्धव ठाकरे समूह र राष्ट्रवादी कांग्रेसको शरद पवार समूह नै ठूलो पार्टीका रूपमा उदय भएका छन् । यी दुवै समूह विपक्षी इन्डिया गठबन्धनमा थिए भने शिव सेनाको एकनाथ सिन्दे र राष्ट्रवादी कांग्रेसको अजित पवार समूह भने सत्तारुढ एनडीए गठबन्धनमा थिए । शरद पवार समूहले ८ सिट जित्दा अजित समूह १ मा मात्रै सीमित भएको छ । यस्तै शिवसेनाको ठाकरे समूहले ९ र सिन्दे समूहले ७ सिट जितेको छ ।

बिहारमा भने विपक्षी गठबन्धन दल आरजेडीले उल्लेखनीय सफलता हासिल गर्न सकेन । आरजेडी ४० मध्ये ४ सिटमै सीमित भयो । बारम्बार गठबन्धन फेर्न माहिर ‘पल्टुराम’ चरित्रका नीतीशकुमार फेरि सान्दर्भिक भएका छन् ।

मोदीले तेस्रो कार्यकालमा देशको अर्थतन्त्रलाई विश्वको तेस्रो ठूलो बनाउने र सन् २०४७ सम्म ‘विकसित भारत’ बनाउने नारा दिएका थिए । उनले आफ्नो १० वर्षे शासनकालमा करिब १२ करोडलाई गरिबीको रेखाबाट बाहिर निकालेको दाबी गरेका थिए ।

विपक्षी दलले भने गरिबी, बेरोजगारी, सामाजिक विभेद, राज्य संयन्त्रको पक्षपात, पुँजीपति वर्गलाई मोदी सरकारले विशेष आर्थिक संरक्षण दिएको तथा मोदीको निरङ्कुश तथा अहङ्कारी कार्यशैली रहेको मुद्दा जोडतोडले उठाएका थिए ।

जे होस्, संसारकै सबैभन्दा ठूलो लोकतन्त्रको एक अर्को महाउत्सव सम्पन्न भएको छ । सबैले निर्वाचन परीणाम स्वीकार गरेका छन् । मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भए नै भने पनि यो उनको लागि अन्तिम अवसर बन्ने निश्चित छ । आउँदा ५ वर्षमा मोदी-शाह जोडीको युगबाट भाजपाको नेतृत्व कसरी र कसमा हस्तान्तरण होला, त्यो अर्को रोचक पक्ष हो ।

भाजपा केही कमजोर अवश्य भएको छ तर, भारतीय राजनीतिमा अहिले सबैभन्दा बलियो दल उनै साबित भएको छ । मोदीले भाजपा र भारतका लागि आफ्नो कालखण्डको दायित्व एक अर्थमा पूरा गरेका छन् । विस्तारै अब उनी राजनीतिक उत्तरार्धतिर प्रवेश गर्ने प्रष्ट भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved