बाबुरामले कोरिदिएको नयाँ-पुरानाको जबरजस्त ‘डिमार्केसन’ !

सहभागीका बीच खासखुस थियो— डा. भट्टराई मान्छे त आफैँ पुराना हुन् तर, उनले दिन खोजेको नयाँ सन्देशचाहिँ के हो ? समारोहको सभापतित्व गरेका भट्टराईले समापन भाषणमा त्यसको उत्तर दिए— म पुरानो शरीरमा नयाँ आत्मा हुँ । मान्छे त म पुरानै हुँ तर, विचारले नयाँ हुने प्रयत्नमा छु ।

बाबुरामले कोरिदिएको नयाँ-पुरानाको जबरजस्त ‘डिमार्केसन’ !

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम अहिले नेपाल समाजवादी पार्टी (नेसपा) छ । यो पार्टी २०७९ को श्रावणमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजित भएर बनेको थियो ।

नेसपाको स्थापना दिवस कहिले हो ? कसैले सरोकार राखेको छैन । नेसपा स्थापनाको कुनै भव्य समारोह पनि भएको थिएन । कोठे बैठक गरेर त्यसले निर्वाचन आयोगमा पार्टी दर्ताको प्रक्रिया पूरा गरेको थियो ।

लगत्तै गत आमनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन र चुनावचिन्ह साझेदारी गरेको थियो । धेरैको अनुमान थियो कि त्यो पार्टी चुनावपश्चात् माओवादीमै गएर मिल्छ । तसर्थ, त्यसको स्थापना दिवस सम्झना गर्नुपर्ने दरकार पनि थिएन ।

तर, नेसपाले पार्टी स्थापना दिवस भने नयाँ शक्ति बनेको दिनलाई मनाउने निर्णय गरेको छ । नयाँ शक्ति पार्टी २०७३ जेष्ठ ३० गते स्थापना भएको थियो, दशरथ रङ्गशालामा भव्य समारोहका बीच ।

नयाँ शक्ति पार्टी स्थापना भएको ८ वर्ष पूरा भएको छ । यस अर्थमा अब डा. भट्टराई नेतृत्वको नेसपालाई ९ वर्ष प्रवेश गरेको पार्टी मान्नुपर्ने हुन्छ । डा. भट्टराई समर्थकले आजकल पार्टीको नाम नेसपा (नयाँ शक्ति) लेख्ने गर्दछन्, अनौपचारिक तवरले । अर्थात् त्यो समूहमा नेसपाभन्दा बढी नयाँ शक्ति ब्राण्डको मोह बढ्दै गएको देखिन्छ ।

९ वर्षे पार्टीको राजनीतिक उपलब्धि वा प्रतिनिधित्व भने अहिले १ जना प्रदेशसभा सदस्य, गण्डकी प्रदेश सभाका फणीन्द्र देवकोटा । हाल उनी चर्चामा छन् र प्रदेश सरकारको मन्त्री पनि भएका छन् ।

गत आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनावचिह्न साझेदारी गरेको कारणले माओवादी केन्द्रको प्रदेश संसदीय दलले उनलाई ह्वीप उल्लङ्घन गरेको आरोपमा कारबाहीको तयारी गर्दैछ ।

नेसपाका अन्य ३ सांसदले भने आफूलाई माओवादीमै समाहित गर्ने निर्णय गरिसकेका छन् । सङ्घीय प्रतिनिधि सभाका महिन्द्र राय यादव र उम्रावत्ती यादव, बागमती प्रदेश सभाका गंगानारायण श्रेष्ठ बुधबार आयोजित पार्टी स्थापना दिवसमा उपस्थित थिएनन् । सायद उनीहरूलाई आमन्त्रण गरिएको पनि थिएन ।

साहित्यकार तथा नागरिक समाजका अगुवा खगेन्द्र सङ्ग्रौला डा. भट्टराईको ८ वर्षे उपलब्धिलाई ‘चिप्ले किराको भन्दा पनि कम’ मान्दछन् । स्थापना दिवस कार्यक्रममा उनले भने, “बरु चिप्ले किरा अलिअलि गर्दै घिस्रँदै कहीँ पुग्छ तर, डा. बाबुराम भट्टराईको पार्टी कहाँ पुग्यो, कसैलाई थाहा छैन ।”

डा. बाबुराम भट्टराई २०७३ जेष्ठ ३० गतेलाई नयाँ राजनीति र पुरानो राजनीतिबीच एक साँध-सिमाङ्कन कोरिएको दिन मान्दछन् । इतिहासले उनको यो प्रयासलाई कति महत्त्व दिन्छ, त्यो त भविष्यले नै बताउने छ, तर, उनले एक जबर्जस्त ‘डिमार्केसन’ को प्रयास भने गरेका छन् ।

तसर्थ, बुधबार प्रज्ञा भवनको सिद्धिचरण सभाहलमा भएको नयाँ शक्ति स्थापना दिवसको कार्यक्रममा उनले त्यसअघिका राजनीतिक दल कसैलाई आमन्त्रण गरेनन् । त्यहाँ न कांग्रेस थियो, न एमाले । न माओवादी केन्द्र, न कुनै कम्युनिष्ट घटक । न पुराना मधेसकेन्द्रित दल, न राप्रपा ।

२०७३ जेष्ठ ३० गतेयता स्थापना भएका वा उदाएका दललाई भने उनले आमन्त्रण गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीं (नाउपा), आम जनता पार्टी (आजपा) र विवेकशील साझा पार्टी डा. भट्टराईको छनोटमा परेका थिए । ठीक त्यसैगरी थप दुई राजनीतिक अभियान; नागरिक पहिलो आन्दोलन र पहिचानवादी मोर्चाका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो ।

समारोहमा नागरिक समाजका केही प्रबुद्ध व्यक्ति पनि थिए, खगेन्द्र सङ्ग्रौला, डा. सूर्यराज आचार्य, युग पाठकलगायत । सहभागीका बीच खासखुस थियो— डा. भट्टराई मान्छे त आफैँ पुराना हुन् तर, उनले दिन खोजेको नयाँ सन्देशचाहिँ के हो ?

समारोहको सभापतित्व गरेका भट्टराईले समापन भाषणमा त्यसको उत्तर दिए— म पुरानो शरीरमा नयाँ आत्मा हुँ । मान्छे त म पुरानै हुँ तर, विचारले नयाँ हुने प्रयत्नमा छु ।

तर, उनको यस्तो उत्तरले मात्र पनि सबैको जिज्ञासा शान्त भइरहेको थिएन । बितेका ८ वर्षका निर्णय, कार्यशैली र अभ्यासमा उनी कति नयाँ भए वा त्यसको परिणाम किन सुखद रहेन भन्ने प्रश्नले मनिसलाई चित्त बुझिरहेको थिएन ।

डा. भट्टराईपुत्री मानुषी भट्टराई यमीले कार्यक्रमको सुरुवातमा नै एक डमुकेन्ट्री प्रस्तुत गरेकी थिइन् । जसमा विगत ८ वर्षका थुप्रै विषय र निर्णयलाई ‘गल्ती भयो’ भनिएको थियो ।

यस्तै गल्तीमध्ये सबैभन्दा पछिल्लो र ठूलो गल्ती गत आम निर्वाचनमा प्रचण्डलाई गोर्खा २ लैजानु थियो भन्ने स्वीकारोक्तिचाहिँ डकुमेन्ट्रीमा थिएन । ‘आफैँले मभन्दा राम्रो उम्मेदवार ल्याएँ’ भनेर चुनावमा सहयोग गर्ने र भोलिपल्टै फेरि तिनै प्रचण्डको विरोध गर्न थाल्ने डा. भट्टराईको शैलीको औचित्य पुष्ट्याइ हुने आधार थिएनन् ।

कार्यक्रमका सहभागी एक आपसमा चर्चा गर्दै थिए— डा. भट्टराईको शैली बढो अनौठो छ, पुराना गल्ती स्वीकार्दै जाने, नयाँ गल्ती गर्दै जाने । गल्ती चाङका चाङ ।

त्यसो त अब त्यस्ता गल्ती नदोहोर्‍याउने सङ्कल्प पनि गरिएको थियो । पार्टी नेता दुर्गा सोबले नयाँ ‘सङ्कल्प पत्र’ पढेर सुनाएकी थिइन् । त्यसमा अब पुराना गल्ती नदोहोर्‍याउने प्रतिबद्धता थियो । सहभागीले सङ्कल्प पत्रको व्यावहारिक विश्वासनीयता खोजिरहेका थिए ।

कार्यंक्रममा उपस्थितले ‘नयाँ’ र ‘वैकल्पिक राजनीति’ का समर्थक, शुभचिन्तकका बीच उत्साह भरिदिए जस्तो पनि लाग्थ्यो । सामाजिक सञ्जालमा प्राप्त अभिव्यक्ति हेर्दा यस्ता सबै समूह एक ठाउँ हुने हो भने पुरानालाई हाराहारीको टक्कर दिन सक्ने बलियो राजनीतिक शक्तिको उदय हुने सम्भावना रहन्छ भन्ने आशा देखिन्थ्यो ।

तर, यो सस्तो, अपरिपक्क र हतारोको अपेक्षा मात्र थियो । ‘नयाँ शक्ति’हरूको एकता प्रयासका लागि यो कार्यक्रम आयोजित थिएन । नयाँ र वैकल्पिक भनिनेबीचको सोच, नेतृत्वको आकाङ्क्षा, पूर्वाग्रह र कार्यशैलीबीचको दूरी निकै फराकिलो छ । एउटा औपचारिक कार्यक्रममा सँगै हुँदैमा यी एकताबद्ध हुन्छन् भनेर सोच्नु नै अर्थहीन हो ।

नयाँहरूका बीच गत आम निर्वाचनबाट संसद्‌मा उदाएका तीन नयाँ दल रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीभित्र पुरानै दलको सरकार र सिन्डिकेटमा सामेल हुनु उचित हो कि हैन भन्ने व्यापक बहस छ ।

नयाँ शक्ति स्थापनायताको ८ वर्षमा तिनै पुराना शक्तिसँगको सहकार्य, एकता, विभाजन र गठबन्धन गरेका र त्यसका लागि आलोचित भएका डा. भट्टराईमा पछुतोको भावना भने देखिन्छ । तर, विगतको पश्चाताप नै आगतको पर्याप्त मार्गदर्शन भने हैन ।

उनले पुराना दलसँगको नयाँ दलको गठबन्धन, सहकार्य र सत्ता साझेदारलाई ‘धृतराष्ट्रको बाहुपाश’ को संज्ञा दिए । महाभारतका दृष्टिविहीन राजा धृतराष्ट्र जसलाई माया गर्थे, उसलाई अङ्गालोमा बेर्थे तर, उनको अङ्गालो फलामको थियो र मान्छे अङ्गालोमै चेपिएर मर्ने सम्भावना हुन्थ्यो ।

डा. भट्टराईको यो सुझावलाई रास्वपाका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गम्भीरतापूर्वक लिएको देखिएन । उनीहरूका लागि यो अरुचिकर सुझाव थियो सायद ।

रवि सरकारको साझेदार हुनुमा र डा. राउत मधेस सरकारको नेतृत्व पाउनुमा मख्ख देखिन्थे । रवि आफ्नो २ वर्षे छोटो राजनीतिक जीवनमा सङ्घीय सरकारमा सामेल हुनुलाई आजसम्म कसैले गर्न नसकेको ठूलो राजनीतिक उपलब्धि मानिरहेका थिए ।

तीनवटै नयाँ दलमा पुरानासँग सङ्घर्षभन्दा सहकार्य गर्ने, विकल्प बन्नेभन्दा मिलेर जाने, भागबन्डा खाने सोच बलियो देखिन्थ्यो । रेशम चौधरीमा भने प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीभित्र ‘श्रीमान्-श्रीमतीको झगडा’ लगाई दिएको रिस थियो ।

अभियानकर्मी डम्बर खतिवडा र खगेन्द्र माखिमको सोच भने छोटे दलका नयाँ नेताहरूको सोचसँग मेल खाइरहेको थिएन । उनीहरू दल र नेता बदलिँदैमा ‘राज्यको चरित्र’ नबदलिने र राज्यको चरित्र बदल्नु सबैभन्दा ठूलो कार्यभार हो भन्न खोज्दै थिए ।

खतिवडाले ठोकेरै भने, “नयाँ भन्दाभन्दै हामी नै पुराना, वैकल्पिक भन्दाभन्दै हामी नै कथित मूलधारजस्तै भइसक्यौँ कि ? वैकल्पिक राजनीतिको प्रयासले सार्थक नतिजा दिइरहेको छैन, पुराना जस्तै कथित नयाँ चाहिएको हैन ।”

समग्रमा डा. भट्टराईको नयाँ शक्ति स्थापना दिवसले एक जबरजस्त ‘डिमार्केसन’ भने कोरिदिएको छ । प्रधानमन्त्री भइसकेको एक पुरानो र स्थापित राजनीतिज्ञले आफ्ना कुनै पनि सहकर्मी र समकक्षीलाई निमन्त्रणा नगर्नु र आफूभन्दा ‘कनिष्ठ’ राजनीतिकर्मीलाई एक ठाउँमा ल्याएर बहस गर्ने वातावरण दिनुले उनको ‘उदारता’ झल्किएको छ ।

के भविष्यमा नेपाली राजनीति नयाँ-पुरानाको ध्रुवीकरणतिर जान्छ कि पुराना-पुरानाबीचकै परम्परागत सत्ता सङ्घर्षमा सीमित हुन्छ ? यो सबैभन्दा अहम् तर, अनुत्तरित प्रश्न हो ।

नयाँ दललाई मात्रै बोलाइएको बाबुरामको मञ्चबाट वैकल्पिक राजनीतिको खोजी !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved