माधव-झलनाथको ‘मोहनविक्रम पथ’

२००९ सालमा जन्मिएका नेपाल पहिलोपटक पार्टी प्रमुख हुँदा ४१ वर्षका थिए । ७१ वर्षको उमेरमा फेरि अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । २००६ सालमा जन्मिएका खनाल माधवभन्दा उमेरले ३ वर्ष जेठा हुन् । १२ वर्ष पार्टी प्रमुख भइसकेका छन् । तर, नेपालको जस्तै उनको पनि धित मरेको छैन ।

माधव-झलनाथको ‘मोहनविक्रम पथ’

काठमाडौं । नेकपा (एमाले) बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले पहिलोपटक पार्टी महाधिवेशन गर्दैछ, यही असार १६ देखि २० गतेसम्म ।

एकीकृत समाजवादीले यसलाई ‘दशौं महाधिवेशन’ भनेको छ । यसको अर्थ हो कि एमाले हुँदै भएको नवौं महाधिवेशनलाई यस समूहले मान्यता दिएको छ ।

नेकपाका पहिलो, दोस्रो र तेस्रो तीनवटा महाधिवेशनलाई सबै कम्युनिष्ट समूहले मान्यता दिन्छन् । २०१९ सालमा तेस्रो महाधिवेशनपछि पार्टी विभाजित भएको थियो । त्यसपछिका महाधिवेशनका हिसाबकिताब भने सबैका आ-आफ्नै छन् ।

माले धारले तेस्रो महाधिवेशनको २६ वर्षपछि २०४५ सालको भाद्रमा चौथो महाधिवेशन गरेको थियो । एमाले भएपछि पाँचौँदेखि नवौंसम्मका महाधिवेशन भए ।

त्यसो त एमालेले भने आफ्नो दशौं महधिवेशन पनि सम्पन्न गरिसकेको छ । एमाले दशौं महाधिवेशन २०७८ मंसिर १०-१३ चितवनमा भएको थियो । यस महाधिवेशनबाट केपी शर्मा ओली दोस्रोपटक अध्यक्ष भए । माधव नेपाल-झलनाथ खनाल समूह बाहिरिएपछिको एमालेले गरेको यो पहिलो महाधिवेशन थियो ।

रमाइलो कुरा एकीकृत समाजवादीका वर्तमान महासचिव घनश्याम भुसालले भने दुवैतिरको ‘दशौं महाधिवेशन’ भ्याउने भएका छन् । उनी एमालेको सौराहा महाधिवेशनमा सहभागी भएर उपाध्यक्ष पदको उम्मेदवारसमेत थिए । उनी पराजित भएका थिए । त्यसपछि मात्र उनी एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

पार्टी विभाजन हुँदा १० बुँदे सम्झौताका नाममा एमालेमै रोकिएका भुसाल अहिले एकीकृत समाजवादीको अध्यक्ष पदका लागि सम्भावित नयाँ र युवा पुस्ताको उम्मेदवारको सूचीमा छन् । तर, माधव नेपाल र झलनाथ खनालले भुसाललाई पालो दिने सम्भावना अहिलेसम्म देखिएको छैन ।

पार्टी राष्ट्रिय थ्रेसहोल्डसमेत काट्न नसक्ने गरी थला परेको छ । दुवै पूर्वप्रधानमन्त्री ७० वर्ष पार गरेका छन् । तर, नेतृत्वको आकाङ्क्षा भने जहाँको तहीँ देखिन्छ ।

२००९ सालमा जन्मिएका नेपाल पहिलोपटक पार्टी प्रमुख हुँदा ४१ वर्षका थिए । ७१ वर्षको उमेरमा उनी फेरि अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने मुड र तयारीमा छन् ।

२०५० देखि २०६५ सम्म उनले करिब १५ वर्ष एमालेको नेतृत्व गरे । एकीकृत समाजवादी गठन भएयताको करिब ३ वर्ष समेत जोड्दा नेपाल पार्टी प्रमुख भएको १८ वर्ष हुन्छ । तथापि उनमा नेतृत्वको भोक मरेको छैन ।

२००६ सालमा जन्मिएका झलनाथ खनाल माधव नेपालभन्दा उमेरले ३ वर्ष जेठा हुन् । उनी अहिले ७४ वर्षका भए । २०३९ सालमा पहिलोपटक नेकपा (माले) को महासचिव हुँदा उनी ३३ वर्षका थिए । उनी २०४५ को चौथो महाधिवेशनसम्म ६ वर्ष पार्टी प्रमुख भए । त्यसपछि २०६५ देखि २०७१ सम्म अर्को ६ वर्ष एमालेको अध्यक्ष भए ।

खनाल यसरी दुई कार्यकाल गरी १२ वर्ष पार्टी प्रमुख भइसकेका छन् । तर, नेपालको जस्तै खनालको पनि पार्टी प्रमुख हुने धित मरेको छैन । चर्चा छ, सानै पार्टीमा सही उनी आसन्न महाधिवेशनमा माधव नेपालसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।

दुवै लामो समय निक्कै ठूलो पार्टी प्रमुख मात्र हैन, प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तित्व हुन् । यति सानो समूहको नेतृत्वको लोभ वा रहर गर्नुपर्ने हैन । हिजो नेपाल-खनालले नेतृत्व गरेको माले-एमालेको तुलनामा अहिलेको एकीकृत समाजवादीको आकार निकै सानो छ । उमेरले पनि उनीहरु ‘जेष्ठ नागरिक’ भइसकेका छन् । तर, नेतृत्वको यति धेरै लोभ र भोकचाहिँ किन हो भन्ने प्रश्न पार्टीभित्र मात्र हैन, सार्वजनिक जीवनमा पनि उठेको छ ।

त्यसो त उता ७२ वर्षीय केपी शर्मा ओलीले पनि अझै २० वर्ष नेतृत्व नछोड्ने बताउँदै आएका छन्, जबकि एमालेको विधानमा दुई कार्यकालको व्यवस्था छ र आउँदा केही वर्षमा ओलीको दोस्रो कार्यकाल पूरा हुँदैछ ।

कम्युनिष्ट आन्दोलनमा एकपटक नेतृत्वमा पुगेपछि हत्तपत्त नछोड्ने प्रचलन विश्वव्यापी हो । यो प्रचलन सोभियत कम्युनिष्ट पार्टीका जोसेफ स्टालिन र चिनियाँ कम्युनिष्ट पार्टीका माओ च तोङकै पालादेखि स्थापित थियो । यी दुवै नेता मृत्यु नहुँदासम्म पार्टीको सर्वोच्च पदमा थिए ।

स्टालिन र माओ मात्र हैन, संसारभरि यस्ता दर्जन उदाहरण छन्, जसलाई ‘कम्युनिष्ट जेरेन्टोक्रेसी’ अर्थात् ‘साम्यवादी वृद्धतन्त्र’ भन्ने गरिन्छ । लियोनिद ब्रेझनेभकालीन सोभियत सङ्घमा यो शब्दावली व्यापक प्रचलित थियो ।

नेपालमा यसका सबैभन्दा राम्रा उदाहरण भने कमरेड मोहनविक्रम सिंह हुन् । ९० वर्षीय सिंहले ५० वर्षभन्दा बढी समयदेखि नेकपा (मसाल ) नामको कम्युनिष्ट समूहको नेतृत्व गरिरहेका छन् । पार्टी भने खिइँदाखिँइदै समाप्त हुन लागेको छ । तर, कमरेडको नेतृत्व मोह भने मरेको छैन ।

अक्सर कम्युनिष्ट नेताहरु नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा गर्दा  युवापुस्तामा उपयुक्त पात्र नभएको, आफूलाई नै सबैले मन पराएको, जे-जस्तो पार्टी, त्यो आफ्नै कारणले भएको, आफू नभए त्यो पनि समाप्त हुने तर्क गर्छन् ।

करिब ३८ वर्षदेखि निरन्तर नेतृत्वमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त हाक्काहाक्की भन्ने गर्दंछन्— म नभए को छ ? हाम्रा कुन साथीले गरिखालान् ?

स-साना समूहका कम्युनिष्ट नेता नारायणमान बिजुक्छे, सीपी मैनालीले पनि अहिलेसम्म आ-आफ्नो समूहको नेतृत्व छोडेका छैनन् । मोहनविक्रम सिंहदेखि बिजुक्छे, मैनाली, प्रचण्ड, नेपाल, खनाल, ओली सबैको एउटै चरित्र र सोच देखिन्छ ।

ती आफूभन्दा कम उमेरका मान्छेलाई अयोग्य ठान्दछन् । तर, के बिर्सन्छन् भने जुन पार्टी र नेताले दशकौं लगाएर एउटा राम्रो उत्तराधिकार जन्माउन सक्दैन, ती नेता आफैँमा कति सफल हुन् ?

कुनै पनि राजनीतिक दलको नेतृत्व परिवर्तन लोकतन्त्रमा उसको आन्तरिक मात्र हैन, आम सरोकारको विषय बन्दछ । यहाँसम्मकी राप्रपाजस्तो चरम दक्षिणपन्थी समूहको नेतृत्व परिवर्तन हुँदासमेत आम चासो र सरोकार देखिन्छ । कमल थापाको ठाउँमा राजेन्द्र लिङ्देनको उदय हुनुलाई समाजले राम्रो मानेको थियो । नभन्दै थापाको कार्यकालमा भन्दा लिङ्देनको कार्यकालमा राप्रपाले राम्रो प्रगति गर्‍यो ।

उता मधेस-केन्द्रित दलमा उपेन्द्र यादव र महन्थ ठाकुरको लामो नेतृत्व कायमै छ । तसर्थ, ती दल निरन्तर विखण्डित र सङ्कुचित हुँदै गएका छन् । तिनको ठाउँ नयाँ नेता डा. सीके राउत नेतृत्वको जनमत पार्टीले लिँदै गएको छ ।

लोकतन्त्रमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको एक नियमित र वैधानिक प्रक्रिया हुनु पर्दछ । अन्यथा लोकतन्त्र जीवन्त र शुद्ध रहन सक्दैन ।

एकीकृत समाजवादीभित्रको आन्तरिक शक्ति संरचना के कस्तो छ ? को कति पानीमा छ ? त्यो त आसन्न महाधिवेशनपछि नै प्रष्ट होला । तर, माधव नेपाल र झलनाथ खनालको मूल नेतामा कायम भइरहने चाहनालाई भने लोकतान्त्रिक वृत्तले राम्रो मानेको छैन ।

माधव–झलनाथको मोहनविक्रम सिंह पथले नेकपा (एकीकृत समाजवादी ) लाई नेकपा (मसाल) कै हालतमा नपुर्‍याउला भन्न सकिन्न ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved