आइतबार नेकपा (एकीकृत समाजवादी) ले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो, विषय थियो- नेपालमा समाजवादी क्रान्ति ।
समाजवाद ! समाजवाद !! समाजवाद !!! देशमा समाजवादबारे यति धेरै भाषण, प्रवचन, बहस र बयानबाजी भइरहेका छन् कि मानौं कि यो पक्कै ‘केही कुछ’ हो । तर, परिणाम भने ‘खोदा पहाड, निकला चुहा’ जस्तो छ ।
यसको गफ गर्नेहरूले समाजवाद भनेको के हो ? नेपालमा समाजवादको सन्दर्भ के हो ? कुन वैचारिकी, अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको समाजवाद चाहिएको हो ? कस्तो समाजवाद खोजेको हो ? र, त्यो कसरी आउँछ, आए के हुन्छ ? देश र जनतालाई के फाइदा हुन्छ ? कि झन् बेफाइदा हुने हो ? भन्नेबारे कुनै प्रष्टता दिन सकेका छैनन् ।
हरेक राजनीतिक समूहले आफूलाई ‘सच्चा समाजवादी’ दाबी गर्ने र अर्को दल वा नेतालाई अर्घेलो देखाउनेबाहेक यो बहसको सान्दर्भिकता देखिन छोडेको छ । समाजवादबारे यति धेरै बोलिएका, लेखिएका छन् कि अब यसबारे बोल्न, लेख्न बाँकी केही छैन ।
समाजवादको गफ छ, तर यसको सोच र दूरदृष्टि कतै छैन ।
शब्दमा समाजवाद जपेर मात्र हुने भए, संविधानमै लेखिएको छ– समाजवाद उन्मुख । तर, संविधानमा ‘समाजवाद उन्मुख’ लेखेको एक दशक बित्न लाग्दा व्यवहारमा कुनै भिन्नता आएको छैन । जनताको जीवनमा कुनै सार्थक परिवर्तन आएको छैन । देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवेश झन्झन् खराब हुँदै गएको जनगुनासो बढ्दो छ ।
त्यसोभए समाजवादको सर्वत्र र सदाबहार गफ किन ? गफ मात्रै कति सुन्ने ?
एक भनाइ छ कि तपाईं मन-मष्तिष्कले समाजवादी हुुनुहोस् वा नहुनुहोस्, तर, समाजवादको नाम जप्न नछोड्नुहोस् किनकि समाजवाद राजनीतिक बजारमा सबैभन्दा धेरै र सजिलोगरी बिक्ने चिज हो ।
आज नेपालको स्थिति हेर्दा ठीक त्यस्तै देखिन्छ । दल र नेताहरू नामले एकसे एक समाजवादी । कामले ती कहाँ छन् ? के गर्दैछन् ? तिनले सत्तोसराप गर्ने पुँजीवादी भनिएका देशको जत्तिको पनि छन् कि छैनन् ? यथार्थमा व्यवहार बिनाको शाब्दिक रटानले जनतामा समाजवाद शब्दप्रति नै वितृष्णा बढ्न थालेको छ ।
निर्वाचन आयोगमा ११८ दल दर्ता छन् । भर्खरै संसद्भित्रै जनता समाजवादी पार्टी, नेपाल विभाजित भएर अर्को समाजवादी दल थपिएको छ, अशोककुमार राई नेतृत्वको जसपा । यीमध्ये ७० भन्दा बढी दल ‘कम्युनिष्ट’ र ‘समाजवादी’ छन् ।
यो ‘साम्यवादी’ र ‘समाजवादी’ अर्थात् ‘कम्युनिष्ट’ र ‘सोसलिष्ट’ भनेको एकै हो कि फरक हो ? अर्को अन्त्यहीन भ्रम छ । कुरा सुन्दा दुवैका उस्तै लाग्दछन् । व्यवहार हेर्दा दुवैका उस्तै लाग्दछन् । यी किन र कुन कारणले फरक हुन् जनतालाई बुझ्न मुस्किल छ ।
सिद्धान्तको किताबमा फरक नै हुन् भने पनि नीति, कार्यक्रम र व्यवहारमा उस्तै छन् भने त्यसको के अर्थ रह्यो ?
देशको सङ्घीय संसद्मा अहिले १५ राजनीतिक दलको प्रतिनिधित्व छ । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, जनता समाजवादी नेपाल, जनता समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आजपा ।
यी १५ मध्ये राप्रपा र जनमत पार्टीलाई छोडेर सबै समाजवादी हुन्, घोषित समाजवादी नाम जे सुकै भए पनि ।
जनमत पार्टीले समाजवाद नभने पनि ‘सामाजिक लोकतन्त्र’ को कुरा गर्दछ । त्यो पनि समाजवादभन्दा त्यति धेरै भिन्न अवधारणा हैन ।
त्यो भिन्नै कुरा हो कि दलहरूले समाजवादसँग जोडेका फुर्को फरक-फरक छ । कम्युनिष्टहरूले ‘मार्क्सवादी–लेनिनवादी–माओवादी समाजवाद’ को कुरा गर्दछन् ।
एमालेले जनताको बहुदलीय जनवादी–समाजवादको कुरा गर्दछ । कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ भन्छ । रास्वपाले ‘संवैधानिक समाजवाद’ भन्ने गरेको छ । जसपा, लोसपालगायतका पहिचानवादी दलले ‘सङ्घीय समाजवाद’ वा ‘सामुदायिक समाजवाद’ भन्छन् । नेसपाले ‘समुन्नत समाजवाद’ भन्छ ।
यी अवधारणा के कति मिल्दाजुल्दा वा फरक हुन्, कसैले तुलनात्मक अध्ययन गरेको छैन । मतदाताले भोट हाल्दा समाजवादका यस्ता प्रारुपबीच तुलना गरेर वा भिन्नता बुझेर हाल्दैनन् ।
चुनावबाट, जनादेशबाट कसको समाजवाद अनुमोदित र कसको समाजवाद फेल भएको हो, जनताले कसको समाजवादलाई मन पराएको वा नपराएको हो– यकिन भन्न सकिने आधार छैन ।
अर्को प्रश्न छ, यदि यी सबैको विचार समाजवाद नै हो भने यति धेरै समाजवादी पार्टी किन र केका लागि ? यसको उत्तर कसैले दिन सक्दैन ।
समाजवाद आज एक अवधारणा, सिद्धान्त र भिजनभन्दा बढी भ्रमजस्तो भएको छ । समाजवादको नाम नजपे राजनीति नै नहुने जस्तो स्थिति देखिन्छ, व्यवहारमा परिणाम भने शून्य । तर, संसारमा समाजवाद विरोधी दलको पनि लामो, सफल र गौरवशाली इतिहास छ ।
समाजवाद आफैँमा अब कति सान्दर्भिक विचारधारा रह्यो वा रहेन भन्ने विषयमै बहस हुन सक्दछ । बीसौं शताब्दीको राजनीतिक बजारमा समाजवाद जति सजिलै बिक्थ्यो, आज त्यति बिक्दैन ।
बीसौं शताब्दीमा कम्युनिष्ट, फासिष्ट, उदारवादी सबैले समाजवादको ‘मार्केट भ्यालु’ उपयोग गर्ने आकाङ्क्षा राख्थे । तर, तिनका भित्री मनसाय र राजनीतिक उद्देश्य भने फरक-फरक हुन्थे ।
कम्युनिष्ट सिद्धान्त र अभ्यासमा समाजवादको परिभाषा बिल्कुलै फरक थियो । कम्युनिष्ट विचारमा समाजवाद भनेको एक भिन्नै मौलिक विचारधारा हैन । त्यो साम्यवादसम्म पुग्ने बाटो मात्र हो । साम्यवादी क्रान्तिको एक प्रारम्भिक चरण मात्रै हो ।
साम्यवाद भनेको के हो त ? कार्ल मार्क्सका शब्दमा ‘साम्यवाद भनेको अन्तिम निष्कर्षमा राज्य र निजी सम्पत्तिको उन्मूलन’ हो । अर्थात्, समाजवाद भनेको विस्तारै-विस्तारै निजी सम्पत्तिको उन्मूलन गर्दै जानु हो ।
कम्युनिष्ट पार्टीको शासनकालमा जबसम्म निजी सम्पत्तिको उन्मूलन हुँदैन, त्यो समाजवाद हुन्छ, जब उन्मूलन हुन्छ, त्यो समाजवादभन्दा अगाडि बढ्छ साम्यवादको यात्रामा । कम्युनिष्ट विश्वासमा निजी सम्पतिको उन्मूलन हुन सक्दछ, जो अन्य कुनै पनि राजनीतिक विचारधारा र दर्शनले विश्वास गर्दैनन् ।
कम्युनिष्ट विचारको अर्को महत्त्वपूर्ण पक्ष संसदीय लोकतन्त्रको विरोध र सोभियत प्रणालीको समर्थन गर्नु थियो । ती बहुदलीय लोकतन्त्रमा विश्वास गर्दैनथे । एकदलीय र एक पार्टी-राज्य प्रणालीको पैरवी गर्थे ।
आजका कम्युनिष्टहरूले यी प्रस्तावना बिर्सिसके कि सम्झना गर्दैछन, कसैलाई हेक्का छैन । अझ बिर्सेका मात्र हुन् कि मान्यता परित्याग गरिसकेका हुन् ? परित्याग गरेका हुन् भने ती कसरी कम्युनिष्ट हुन् ? विचारका मूल प्रस्तावना नै परित्याग गरिसके पछि कम्युनिष्ट किन भनिरहनु पर्यो ?
यथार्थमा आजका कम्युनिष्टहरूमा आफ्नै विचारधाराको इतिहास र असफताप्रति अस्पष्टता, भ्रम र हीनताबोध छ । तिनले समाजवादको कुरा गर्दा भ्रमको विस्तार हुने हो, राष्ट्रको मार्गचित्र प्रष्ट हुने हैन । आफैँ भ्रमको शिकार भएकाहरूले राष्ट्रलाई कस्तो मार्गदर्शन गर्लान् ?
‘प्रजातान्त्रिक समाजवाद’ मार्क्सवादीहरूकै एक धारा थियो, जसले कम्युनिष्ट समाजवादका आर्थिक उद्देश्यलाई समर्थन गर्दै बहुदलीय लोकतन्त्रको पक्षपोषण गर्दथ्यो । बीपी कोइाराला त्यही धारका एक नेता थिए । उनले फर्डिनान्द लासाल, एडबर्ड बर्नस्टिन, कार्ल काउत्स्की, फेवियन समाजवादी, डा. राममनोहर लोहिया र जयप्रकाश नारायणका विचारलाई समाजवादका मानक मानेका थिए ।
नेपाली कांग्रेसले बीपी विवचारधाराको परित्याग र नवउदारवादी आर्थिक नीतिको अवलम्बन गरेको दशकौं भयो । तर, यसले किन समाजवाद जप्छ, कसैले बुझ्दैन । व्यवहारमा खुला बजार अर्थतन्त्र, निजीकरण, उदारीकरण र भुमण्डलीकरणको नेतृत्व गर्ने दल सिद्धान्तमा चाहिँ कसरी समाजवादी हुन्छ ? के यसको उत्तर कसैले दिन पर्दैन ?
यसबाट के प्रष्ट हुन्छ भने नेपाली कांग्रेस समाजवादको खोलभित्र आफ्नो राजनीतिक मौलिकता लुकाएर भयमा बाँचेको छ । ‘समाजवाद’ शब्द परित्याग गर्दा कम्युनिष्टहरूले खेद्लान्/लेखेट्लान् भन्ने डरले मात्र कांग्रेस समाजवादी भइरहेको छ । अन्यथा कांग्रेसले खुलेआम आफूलाई ‘लिवरल डेमोक्र्याटिक पार्टी’ भन्न सक्नुपर्थ्यो, अनि पो ‘राजनीतिक इमान्दारिता’ हुन्थ्यो ।
हिजो ‘सोसलिष्ट इन्टरनेसनल’ को सदस्य भएको कारणले कांग्रेसले आफूलाई आजसम्म ‘समाजवादी’ भनिरहेको हो भने त्यो एक प्रकारको कायरता हो । हैन भने कांग्रेसको राजनीति, अर्थनीति र व्यवहारमा कहाँनेर, कुन र कस्तो समाजवाद छ ? देखाउन सक्नुपर्यो ?
जसरी कम्युनिष्टहरू अब कम्युनिष्ट हैनन्, त्यसैगरी कांग्रेस पनि अब प्रजातान्त्रिक समाजवादी दल हैन तर, यो सत्य स्वीकार गर्ने आँट छैन । ढाँटेर कति दिन राजनीति चल्ला ?
कम्युनिष्ट र लोकतन्त्रवादीहरूले मात्र हैन, फासिस्ट र सैनिक तानाशाहरूले पनि आफूलाई समाजवादी भन्न रुचाउँथे । इटालीको बेनिटो मुसोलिनी नेतृत्वको फासिष्ट पार्टी समाजवादी आन्दोलनकै एक हिस्सा थियो भने जर्मनीमा एडोल्फ हिटलरको नाजी दलको नाम र सिद्धान्तमै समाजवाद शब्द थियो । त्यसको सिद्धान्तलाई ‘राष्ट्रिय समाजवाद’ भनिन्थ्यो ।
समाजवाद जपेर मात्र केही हुँदैन भन्ने राम्रा उदाहरण त बीसौं शताब्दीका हिटलर र मुसोलिनी नै हुन् ।
संसारका केही चर्चित सैनिक तानशाह पनि आफूलाई समाजवादी भन्थे । जस्तो कि अफगानिस्तानका मोहम्मद नाजी वुल्लाह, बर्माका ने बिन र इथियोपियाका जर्नेल मङ्गेत्स्कु । त्यसो त इराकी तानाशाह सद्दाम हुसेन पनि ‘बाथ समाजवादी’ थिए । जसको अर्थ हुन्थ्यो, अरेबियन समाजवाद ।
हिटलरदेखि स्टालिनसम्म, मुसोलिनीदेखि सद्दाम हुसेनसम्म समाजवाद जप्नेहरूले मानिसलाई यति धेरै दु:ख दिएका छन् कि त्यस्तो चर्चा गरीसाध्य छैन । बीसौं शताब्दीको विश्व इतिहास यस्ता दर्जनौं नक्कली समाजवादी शासकका काला कर्तुतले भरिएको छ, जसले निरंकुशता, तानाशाही, हत्या, हिंसा र दमनको सहारामा लामो शासन मात्र गरेनन्, मानवता र सभ्यतालाई ठूलो हानि-नोक्सानी पुर्याए ।
आज कसैले जतिसुकै समाजवादको कुरा गरोस्, त्यो बजार अर्थतन्त्र र बहुदलीय लोकतन्त्रभन्दा बाहिर हुँदैन । बजारलाई कति नियमन गर्ने वा नगर्ने त्यो भिन्नै कुरा हो । बहुदलीय लोकतन्त्रलाई कति स्वच्छ र पारदर्शी राख्न सक्ने नसक्ने त्यो भिन्नै कुरा हो ।
त्यसोभए समाजवादका अनावश्यक र भ्रमपूर्ण बहसको औचित्य नै कति छ ? बीसौं शताब्दीको राजनीतिमा समाजवाद भन्नाले जे बुझिन्थ्यो, एक्काइशौं शताब्दीमा यसको अर्थ र परिभाषा नै परिवर्तन भइसकेको छ ।
बेलायती प्रधानमन्त्री विष्टन चर्चिलले एकपटक भनेका थिए, समाजवाद भनेको असफलताको दर्शन, अज्ञानताको आस्था, ईष्याको सु-समाचार हो । यसको अन्तर्निहित गुण दु:खको समान साझेदारी हो ।
भलै कि चर्चिल समाजवाद विरोधी थिए र यसो भने भन्न सकिएला तर, बीसौं शताब्दीमा समाजवादी अभ्यासको विश्व अनुभव यही नै हो ।
आज कोही समाजवादी हुनु वा नहुनले त्यति ठूलो अर्थ राख्दैन, जति इमान्दार राजनीतिले राख्दछ । ‘बेइमान समाजवादी’ ले भन्दा ‘इमान्दार पुँजीवादी’ हरूले संसारमा धेरै ठूलो प्रगति र योगदान गरेका छन् । नेपालमा आज बेइमान समाजवादीहरूको हैन, इमान्दार पुँजीवादीहरूको आवश्यकता छ ।
आज बिना हिच्किचाहट यो भन्न सक्नुपर्दछ कि नेपालका अधिकांश राजनीतिक दल बेइमान समाजवादी हुन् ।
समकालीन विश्वमा हाम्रा लागि अकल्पनीय लाग्ने उन्नति गरेका डेनमार्क, स्वीडेन, फिनल्याण्ड, स्वीट्जरल्याण्ड, सिंगापुर, जर्मनी वा अन्य अमेरिकी तथा युरोपेली देश, एशियाकै दक्षिण कोरिया, जापान, अफ्रिकाका उदाउँदा नक्षत्र दक्षिण अफ्रिका, युगान्डा, रुवान्डा, इथियोपिया कुनै पनि आजका मितिमा समाजवादी देश हैनन् ।
पहिले देशलाई त्यतिको सुशासन र आर्थिक विकासमा त पुर्याएर त देखाउ अनि समाजवादको गफ गर्न सुहाउला ।
Facebook Comment
Comment