काठमाडौं । विश्वप्रसिद्ध टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिबलको ४८ औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’को नयाँ गीत सार्वजनिक भएको छ । निर्देशक नवीन सुब्बाको निर्देशनमा तयार यो फिल्मको ‘राई माइला’बोलको गीत सार्वजनिक भएको हो ।
श्रवण मुकारुङको शब्द रचना, कालीप्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर रहेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई देखिन्छन् ।
गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । बुसान, टोरोन्टोलगायत २० भन्दा बढी फिल्म फेस्टिभल पुगेको यो फिल्म जेठ २५ देखि प्रदर्शनमा आउँदैछ । फिल्ममा गाउँमा आएको बाटोले एउटा परिवारमा ल्याउने परिवर्तन देखाएको छ । मेन्छ्यायेम फिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा निर्मित यो फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।
फिल्ममा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बा बताउँछन् ।
‘गाउँ आएको बाटो’मा अभिनेता राईले माइलाको भूमिका निर्वाह गरेका छन् । यो एउटै चरित्रका लागि अहिलेका व्यस्त अभिनेता राईले ४ महिना छुट्याएका थिए ।
चोयाको काम गर्ने माइलाको जीवन, उसको परिवारमा बाटो आएसँगै के कस्ता परिवर्तन आउँछन् भन्ने कथा फिल्ममा समावेश छ । बुवा–छोराको सम्बन्धमा आधारित यो फिल्ममा माइलीको भूमिकामा पशुपति राई र बिन्द्रे चरित्रमा बाल कलाकार प्रसन राईको अभिनय छ ।
Facebook Comment
Comment