कांग्रेस संस्थापनइतरको ‘ओली-मोह’: संयोग कि नियोजित ?

शर्मा मात्रै होइनन्, नेपाली कांग्रेसका धेरै नेता अहिले ‘ओली-मैत्री’ छन् । अझ भनौं, कांग्रेस संस्थापनइतरका अधिकांश नेताले ओलीको बोलीमा लोली मिलाउन थालेका छन् ।

नेपालभ्युज

कांग्रेस संस्थापनइतरको ‘ओली-मोह’: संयोग कि नियोजित ?

काठमाडौं । नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेर अदालतको आदेशपछि फकुवा भएका कांग्रेस सांसद सुनिल शर्माले मुक्तकण्ठसाथ एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरिरहेका छन् ।

थुनामुक्त हुँदै गर्दा उनले भने– केपी बाः जिन्दावाद !

त्यसपछि शर्मा ओलीलाई भेट्न बालकोट नै पुगेर क्यामेराअघि भने– केपी बा नेतामात्रै होइनन्, राजनेता हुन् । अब उहाँलाई प्रधानमन्त्री बनाउनु पर्छ ।

शर्मा त्यतिमै अडिएनन् । पार्टीको संसदीय दल बैठकमा गएर चेतावनी दिँदै भने– गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनैपर्छ । मलाई संसदमा बोल्न दिइएन भने विद्रोह गर्छु ।

उनले विद्रोहको धम्की दिनु भनेको ‘कांग्रेस छाडेर एमालेमा जान्छु’ भनेको हुनुपर्छ । सोझो कुरो यही नै हो ।

शर्मा मात्रै होइनन्, नेपाली कांग्रेसका धेरै नेता अहिले ‘ओली-मैत्री’ छन् । अझ भनौं, कांग्रेस संस्थापनइतरका अधिकांश नेताले ओलीको बोलीमा लोली मिलाउन थालेका छन् ।

सुरुमा, सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नेमा एमाले एक्लै थियो । पछि एमालेलाई रास्वपा र राप्रपाले संसद् अवरुद्ध गर्नसमेत साथ दियो । पछि रास्वपा र राप्रपा सेलाए । अहिले राजीनामा माग्नेमा एमाले र सत्तासाझेदार कांग्रेसकै नेताहरु धेरै छन् ।

सुनिल शर्माले त ‘राजीनामा माग्दै संसदमै अनशन बस्छु’समेत भनेका छन् ।

अनि सिधै राजीनामा नमागेर ‘सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनु पर्छ’ भन्ने एमालेको मागप्रति धेरै कांग्रेस नेताको समर्थन छ । कांग्रेसको संसदीय दल बैठकमै संस्थापनइतरका नेताले भने– छानबिन समिति नबनाउने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ ।

त्यस्तै नक्कली प्रमाणपत्र प्रकरणमा सुनिल शर्मा पक्राउ पर्दा उनको पक्षमा बोल्ने पनि एमालेसँगै कांग्रेसको संस्थापनइतरकै नेताहरु धेरै भए । संसद चलिरहेका बेला पुरानो केसमा अनायासै आफ्नो पार्टीका सांसद पक्राउ गर्नुलाई उनीहरुले सुनियोजित भएको शंका गरे । ‘पार्टीले सरकारलाई भरथेग गर्ने तर सरकारले आफ्ना नेतालाई भने छानी–छानी डाम्ने’ काम गरिरहेको उनीहरुको बुझाइ भयो ।

महामन्त्री गगन थापा, नेता शेखर कोइराला, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, श्याम घिमिरेसँगै प्रदीप पौडेलले सरकारको नियतमाथि शंका मात्रै गरेनन्, सुन तस्करी छानबिन गर्न समिति बनाउनुपर्ने एमालेको मागमा समर्थन जनाए ।

तितरबितर भएको कांग्रेसको संस्थापनइतर पक्षबीच एउटा कुरामा भने मन मिलेको छ– सुन तस्करीमा सरकारले नै गडबडी गरेको छ, छानबिन गर्न समिति बनाउनु पर्छ । यस विषयमा संस्थापन पक्षले भने खासै चासो दिएको छैन । त्यसैले त बहुमत रहेको कांग्रेस संस्थापन पक्षले निर्णय नै गरायो– सुन तस्करीको छानबिन सीआईबीले नै गर्नुपर्छ ।

सङ्ख्या कम भएकाले सहनुको विकल्प नभएको संस्थापनइतर पक्षको मन भने एमालेसँगै मिलेको छ ।

यसरी कांग्रेसभित्र सरकारको पक्ष र प्रतिपक्षको पक्ष गरी प्रष्ट दुई धार देखिएको छ । यो संयोग मात्रै होइन ।

नयाँ सत्ता समीकरणको चर्चा

अहिले नयाँ सत्ता समीकरणको चर्चा पनि सुरु भएको छ । खासगरी एमालेले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरिरहेको छ । कांग्रेसले नेतृत्व गर्ने हो भने आफूहरुले साथ दिने एमालेको भनाइ छ ।

एमालेले अनौपचारिकरुपमा यो प्रस्ताव राखिसकेको छ । तर, कांग्रेसको संस्थापन पक्षले नै यसमा ‘इन्जोए’ गरेको छैन ।

अहिले एमालेलाई जसरी पनि प्रचण्ड नेतृत्वको सरकार ढाल्नु छ । अझ भनौं, अहिलेको सत्तागठबन्धन फुटाउनु छ । प्रधानमन्त्री दाहाललाई पनि गठबन्धन टिकाउन धौधौ परिरहेको छ । सात महिनामा १२ पटक मन्त्रिपरिषद् हेरफेर गरेर भए पनि टिकिरहेका प्रधानमन्त्री प्रचण्डलाई नौ महिनाको ‘खड्गो’ टार्न मुस्किल पर्ने देखिएको छ ।

दृश्यमा सुन काण्ड भए पनि भित्रभित्रै अनेक राजनीतिक खिचडी पाकिरहेको संकेत छ ।

कांग्रेसभित्रै बढ्दो शंका र अविश्वासले पनि प्रचण्ड नेतृत्व सरकारको दर्बिलो टेको खुस्किने त होइन ? भन्ने स्वभाविक शंका उत्पन्न गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved