धनुषामा अख्तियारको छापा, घुससहित दुईजना पक्राउ

धनुषामा अख्तियारको छापा, घुससहित दुईजना पक्राउ

जनकपुरधाम। धनुषामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सक्रियता बढाउँदै कतै छापामारी गरेको छ भने कतै रंगे हात घुसको रकमसहित मानिस पक्राउ गरेको छ।

सोहि क्रममा आज आइतबार धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियर सहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम र चेक सहित पक्राउ गरेको छ।

वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटेको टोलीले शहिदनगर नगरपालिकामा इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ र एक लाख ७५ हजारको चेक सहित पक्राउ गरेको छ।

आइतबार शहिदनगर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट दुबैजनालाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । त्यसैगरी, अख्तियारको टोलीले आज नै धनुषाको मिथिला बिहारी नगरपालिकामा छापा मारेको छ।

ज्येष्ठ नागरिकहरूको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियारको बर्दिवास कार्यालयबाट खटेको टोलीले छापा मारेको हो।

नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्द्येश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा गराइएको उजुरी दर्ताको आधारमा छापामारी गरिएको अख्तियारले जनाएको छ।

वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मानको कुनै कार्यक्रम नगरेको ज्येष्ठ नागरिकहरूले बताएको सो निवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरूको लागि सीपमुलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं.९ अन्तर्गत स्ट्रिट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय सञ्चालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको बिल भरपाइ पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै, वडा ९ मा २ इन्चको कृषि पम्पिङसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरूका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ।

यसैगरी,वडा नं. ९ अन्तर्गत खानेपानीका लागि ह्याण्डपाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाख मा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ।

पेस गरिएको सो निवेदनमा दुवै आधारभूत विद्यालयले यस विद्यालयमा कुनै पोशाक वितरण नभएको र सो वडाका ज्येष्ठ नागरिकहरूले सम्मान नपाएको सही छाप गरिएको आधार पेस गरिएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved