असफल ‘अविश्वास प्रस्ताव’पछि मोदी- भगवान् पक्षमा छन्, विपक्षीले कुभलो चिताउँदा पनि भलो हुन्छ

‘हाम्रा विपक्षी मित्रहरूलाई देशले पनि हेर्दैछ, उनीहरूका प्रत्येक शब्द सुन्दैछ । तर, प्रत्येकपटक उनीहरूले देशलाई निराशाबाहेक केही दिन सकेका छैनन् । जसको आफ्नै बहीखाता बिग्रिएको छ, उनीहरू हाम्रो हिसाब माग्दै हिँड्छन् ।’

नेपालभ्युज

असफल ‘अविश्वास प्रस्ताव’पछि मोदी- भगवान् पक्षमा छन्, विपक्षीले कुभलो चिताउँदा पनि भलो हुन्छ

नेपाल भ्युज । भारतीय संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको अविश्वास प्रस्ताव असफल भएको छ । तीन दिनको छलफलपछि बिहीबार अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो । ध्वनि मतद्वारा भएको मतदानमा लोकसभाको बहुमतले अविश्वासको प्रस्ताव अस्वीकार गरेको हो।

अविश्वासको प्रस्ताव पारित हुन लोकसभामा बहुमत चाहिन्छ । भाजपा र एनडिए गठबन्धनको प्रष्ट बहुमत हुँदाहुँदै विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव पारित हुने कुनै सम्भावना थिएन । तर, अविश्वास प्रस्तावमाथि संसदमा हुने बहसले राष्ट्रको ध्यानाकर्षण हुने र राष्ट्रिय समस्याको समाधान खोज्न सजिलो हुने विपक्षी दलहरूको अपेक्षा थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको ९ वर्षे शासनकालमा अविश्वासको प्रस्ताव दर्ज भएको यो दोस्रोपटक हो । सन् २०१८ मा पनि उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावको प्रतिउत्तरमा मोदीले करिब २ घन्टा २० मिनेट लामो भाषण गरे । उनको भाषणका बीच विपक्षी दलहरूले बारम्बार होहल्ला र नाराबाजी गरेका थिए । अन्त्यतिर विपक्षी दलका सांसदहरूले संसद बहिष्कार गरेका थिए । प्रस्तुत छ– अविश्वास प्रस्तावको प्रतिउत्तरमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्युत्तर भाषणको सारसंक्षेप ।

‘संसदमा वितेका तीन दिनदेखि अनेक वरिष्ठ महानुभाव सदस्यहरूले आफ्नो विचार व्यक्त गर्नुभएको छ । म स्वयंले केही भाषण सुने पनि । मलाई लाग्दछ- हाम्रो सरकारप्रति देशका जनताले बारम्बार विश्वास जताएका छन् । म त्यसका लागि देशका कोटीकोटी नागरिकलाई आभार व्यक्त गर्न उपस्थित छु ।

भनिन्छ, भगवान् धेरै दयालु हुन्छन । भगवानको यो मर्जी हुन्छ कि उनले कसै न कसैको माध्यमबाट इच्छाको पूर्ति गर्दछन् । अर्थात्, भगवानले आफ्नो इच्छा पूर्तिका लागि कसैलाई न कसैलाई माध्यम बनाउँछन् । म यो अविश्वासको प्रस्तावलाई भगवानको आर्शिवाद मान्दछु । ईश्वरले हाम्रा विपक्षलाई त्यस्तै सुझाए र उनीहरूले यो प्रस्ताव लिएर आए । सन् २०१८ मा पनि ईश्वरको त्यही आदेश थियो कि, मेरा विपक्षी मित्रहरू अविश्वासको प्रस्ताव लिएर आए । त्यतिखेर पनि मैले भनेको थिएँ- अविश्वासको प्रस्ताव हाम्रो सरकारको हैन, स्वयं उनीहरू कै फ्लोर टेस्ट हो ।

र, भएको पनि त्यही थियो । जब मतदान भएको थियो, विपक्षमा जति भोट त्यो पनि उनीहरूले पाएका थिएनन् । कुरा यति मात्रै हैन, जब हामी जनतामा गयौँ, जनताले पनि पूरै ताकतका साथ यिनीहरूका लागि अविश्वास घोषणा गर्दिए । सन् २०१९ को चुनावमा एनडिए र भाजपा दुवैको सिट बढ्यो । अर्थात् एक हिसाबले विपक्षको अविश्वास प्रस्ताव हाम्रा लागि शुभ हुन्छ । फेरि विपक्षबाट अविश्वासको प्रस्ताव आउनुले यो तय भएको छ कि, सन् २०२४ को चुनावमा एनडीए र भाजपा पुराना सबै अभिलेख तोडेर भव्य विजयको साथ जनताको आर्शिवादबाट फेरि सत्तामा आउनेछन् ।

यसबीच, संसदबाट थुप्रै राष्ट्रिय महत्त्वका विधेयक पारित भएका भए, त्यसप्रति विपक्षको कुनै ध्यान थिएन। जनताले उनीहरूलाई जे कामका लागि यहाँ पठाएका थिए, उनीहरूले त्यसको पनि विश्वासघात गरे । विपक्षका केही दलले व्यवहारबाट, आचारणबाट यो सिद्ध गरे कि उनका लागि देशभन्दा ठूलो दल हो । यिनलाई गरिबको भोकको कुनै चिन्ता छैन, सत्ताको भोक यिनको दिमागका सवार भएको छ । यिनलाई देशका युवाको भविष्यको कुनै चिन्ता छैन, आफ्नो राजनीतिक भविष्यको चिन्ता छ।

अविश्वासको प्रस्तावमा फिल्डिङ विपक्षले गरेको हो, तर यो खेलको मज्जा के कुरामा छ भने चौका-छक्का यताबाट भइरहेको छ । यताबाट हामी सेन्चुरी गरिरहेका छौं, उनीहरू ‘नो बल नो बल’ मा अल्झिएका छन् । मैले विपक्षलाई बारम्बार भन्ने गरेको छु– अलिक तयारी गरेर आउनुस् । मैले सन् २०१८ मा पनि यही भनेको थिए–ठीक छ आउनुस् तर अलिक तयारी गरेर आउनुस् । मैले ५ वर्षको मौका दिए, फेरि उनीहरूको तरिका उस्तै छ। कस्तो बेहाल, कस्तो दरिद्रता !

हाम्रा विपक्षी मित्रहरूलाई देशले पनि हेर्दैछ, उनीहरूका प्रत्येक शब्द सुन्दैछ । तर, प्रत्येकपटक उनीहरूले देशलाई निराशाबाहेक केही दिन सकेका छैनन् । जसको आफ्नै बहीखाता बिग्रिएको छ, उनीहरू हाम्रो हिसाब माग्दै हिँड्छन् । यो अविश्वासको प्रस्ताव आफैँमा विचित्रको, कहिल्यै न सुनेको, नदेखेको, कल्पना नगरेको खालको छ ।

यो अविश्वासको प्रस्ताव यस्तो छ कि, प्रमुख विपक्षी दलका प्रमुख नेता नै बहसमा छैनन् । सन् १९९९ मा अटलबिहारी बाजपेयी सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव आउँछ बहसको नेतृत्व शरद पावरले गरेका थिए । सन् २००३ मा सोनिया जी विपक्षको नेतृ थिइन्, उनले नेतृत्व लिइन् । सन् २०१८ मा खड्गेजी विपक्षका नेता थिए । तर, यसपाली के भयो यस्तो कि विपक्षी दलको नेतालाई उनको नेताले बोल्ने अवसर समेत दिएन ? विपक्षी दलको नेताप्रतिको अपमानप्रति म आफ्नो पूरा संवेदना व्यक्त गर्दछु ।

कुनै पनि देशको जीवनमा, इतिहासमा एउटा समय यस्तो आउँछ, जब त्यसले पुराना बाधालाई चुँडालेर नयाँ ऊर्जा, नयाँ उमंग, नयाँ सपना, नयाँ संकल्पका साथ अघि बढ्नका लागि कदम उठाउँछ। लोकतन्त्रको यो पवित्र मन्दिरमा, लामो अनुभवबाट म यो भन्छु कि एक्काइसौं शताब्दीको यो कालखण्ड भारतका लागि सबै तरिकाले आफ्ना सपना पूरा गर्ने अवसरको कालखण्ड हो । यो कालखण्ड हामी सबैका लागि अत्यन्तै अहं छ । मलाई के लाग्छ भने यो कालखण्डको प्रभाव यो देशमा आउने एक हजार वर्षसम्म पनि रहेनवाला छ ।

यसको अर्थ हो कि, यो कालखण्डमा हाम्रो ठूलो दायित्व छ। ठूलो जिम्मेवारी छ । हामी सबै त्यतातिर फोकस हुन जरुरी छ । त्यो हो– देशको विकास, जनताका सपना पूरा गर्ने संकल्प र संकल्प पूरा गर्न जिउज्यान दिएर लाग्नु । यो नै अहिलेको समयको माग हो । सपनालाई संकल्पमार्फत् सिद्धिमा पुर्‍याउने सामर्थ्य हामीमा हुनु पर्दछ ।

मेरो सरकारले गरेको वा गर्न खोजेको नै त्यही हो । मैले देशका युवालाई एक भ्रष्टाचारहित सरकार दिएको छु । देशमा पेशाकर्मीलाई विश्वभरिको आकाशका उडान भर्न हौसिल दिएको छु । विश्वमा बिग्रेको देशको खासलाई फिर्ता ल्याएको छु । विश्वको विकासमा भारतले योगदान गर्न सक्दछ भन्ने विश्वास विश्वमा बढिरहेको छ ।

यस्तो बेला हाम्रा विपक्षी साथीहरूचाहिँ के गर्दैछन् त ? चौतर्फी अवसरै अवसरको बेला छ यो । अवसरलाई समात्नुपर्ने बेला छ । तर, हाम्रा मित्रहरूले अविश्वासको प्रस्तावको नाममा जनताको आत्मविश्वासलाई तोड्ने असफल प्रयत्न गर्दैछन् ।

आज भारतमा विश्वकै अभिलेख तोड्ने लगानी आइरहेको छ । तर, हाम्रा विपक्षी मित्र देशको बारेमा कुनै राम्रो कुरा सुन्नै सक्दैनन् । आज देशमा गरिबी तीव्र ढंगले घट्दैछ । वितेका पाँच वर्षमा साढे १३ करोड जनता गरिबीबाट बाहिर आएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदनमा लेखिएको छ, भारतका निरपेक्ष गरिबी करिब-करिब समाप्त भएको छ ।

यस्ता थुप्रै उपलब्धि अरुले टाढै बसेर देख्दछन्, तर हाम्रा विपक्षी मित्रहरू यही बस्छन् तर पनि देख्दैनन् । एउटा भनाइ छ- ‘जब बच्चा सफासुग्घर भएर बाहिर निस्कन लाग्दछन्, कसैले कालो टिका लगाइदिएर अशुभबाट रक्षा गर्दछ । ठीक त्यस्तै हो । भारतको छवि विश्वमा चम्किँदैछ । विपक्षी मित्रहरू कालो टिका लगाइदिएर अशुभबाट रक्षा गर्दैछन्, यसका लागि धन्यवाद छ।’

यदाकदा मलाई लाग्छ, हाम्रा विपक्षीहरूले कुनै गोप्य वरदान पाएका छन् । उनीहरूले जसको कुभलो चिताउँछन, त्यसको भलो हुन्छ। त्यसको एउटा उदाहरण त मै हुँ । विगत २० वर्षदेखि मेरो बारेमा के-के भनिएन ? के-के अपशब्द प्रयोग गरिएन ? के-के अलोकतान्त्रिक भाषा प्रयोग भएन ? तर, खै मेरो के बिग्रको छ ? मेरो त भलो नै भएको छ ।

म देशबासीसँग तेस्रो कार्यकालमा देशलाई संसारको उच्च तीन अर्थतन्त्रमध्ये एक बनाउने प्रत्याभूति दिन्छु । यो सजिलै र आफैँ हुने कुरा हैन । यसका लागि रिफर्म, पर्फम र ट्रन्सफर्म चाहिन्छ । योजना र परिश्रम चाहिन्छ। म अहिले नै भन्दिऊँ, सन् २०२८ मा तपाईंहरूले फेरि अविश्वासको प्रस्ताव ल्याउनुहुनेछ, त्यतिखेर भारत संसारको तीन उच्च अर्थतन्त्रमध्ये एक भइसकेको हुनेछ ।

जहाँसम्म मणिपुरको हिंसाको कुरा छ, महिलामाथि अत्याचारको भएको छ, त्यो अक्षम्य छ। म मणिपुरका जनता, आमा, दिदीबहिनीलाई भन्न चाहन्छु– ‘देश तपाईंहरूको साथ छ। यो हिंसाको कुनैन कुनै समाधान खोजिनेछ । मणिपुर फेरि शान्तिको बाटोमा आउनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved