माओवादी : पहिले रोल्पा-रुकुमवाद, अहिले परिवार-स्वार्थ समूहवाद !
त्योबेलाको रोल्पा-रुकुमवाद अहिले परिवार-स्वार्थ समूहवादतिर सोझिएको छ । माओवादीभित्र प्राय: लाभको पद नेताका परिवार र स्वार्थ समूहले प्राप्त गरिरहेका छन् । यसबारे भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा दोस्रो तथा तेस्रो तहका नेताले मज्जैसँग कुरा उठाए । तर, जवाफ भने कसैले पनि पाएनन् ।
काठमाडौं । २०७२ मंसिर १५ गतेबाट सुरू भएको माओवादीको बैठक २२ दिनसम्म चल्यो । बैठकको प्रमुख निष्कर्ष थियो—पार्टीलाई पुन: पहिलो नम्बरको पार्टी बनाउने ।
त्यसो त २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेको थियो । तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा तेस्रो नम्बरमा सीमित हुन पुग्यो । यसले खासगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दोस्रो तहका नेतामाथि ठूलो राजनीतिक दबाब पैदा गर्यो ।
पहिलो नम्बरको पार्टी बनाउने घोषणापछि स्वाभाविकरूपमा पार्टीसँगै मातहतका सङ्गठन/कमिटी सक्रिय भए । मजदुरदेखि विद्यार्थी सङ्गठनहरूले प्रशिक्षणसँगै विभिन्न कार्यक्रमको आयोजना गरे । पार्टी स्कूल स्थापना गरेर नेता/कार्यकर्तालाई वैचारिक तथा सैद्धान्तिक प्रशिक्षण चलाइयो ।
पार्टी सक्रिय त भयो तर, उपलब्धिमूलक भएन । पार्टीमा आन्तरिक राजनीतिक समस्या थियो । जुन अहिले पनि ज्यूँका त्यूँ छँदैछ । माओवादी राष्ट्रिय राजनीतिमा ‘ओभरग्राउन्डेट’ भएसँगै पार्टी रोल्पा-रुकुमकेन्द्रित भयो भन्ने आलोचना तथा बहस सुरू भएको थियो । त्यो बहसलाई मुख्यरूपमा नेता गोपाल किरातीले ‘क्यारी’ गरेका थिए ।
त्यसबेला उनले रोल्पा-रुकुमवादबारे लेख नै लेखेका थिए । किरातीले लेखमार्फत पहिलो नम्बरको पार्टी बनाउने उद्देश्यमा रोल्पा-रुकुमवादले गम्भीर क्षति पार्ने उल्लेख गरेका थिए । हुन पनि किरातीको बहस र तर्कमा दम थियो, भलै त्यसबेला उनको बहसलाई मन पराइएको थिएन । पार्टी पहिलो नम्बरको बनाउन सबै नेता, क्षेत्र तथा पक्षलाई समेटेर लानुपर्नेमा प्राप्त हुने सबै अवसर रोल्पा-रुकुमकेन्द्रित हुन्थ्यो ।
रोल्पाकै नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपति बने । त्यहीँकी ओनसरी घर्ती सभामुख बनिन् । कृष्णबहादुर महरा गृहमन्त्री बने । माओवादी सम्मिलित सरकारमा रोल्पा-रुकुमकै मन्त्रीले मालदार मन्त्रालय हात पार्थे । यो कुरालाई किरातीले राम्रोसँग नियालिरहेका थिए ।
त्यसबेला किरातीको तर्क हुन्थ्यो— सामन्तवादविरुद्धको संघर्षमा रोल्पा-रुकुमले महान् भूमिका खेलेको हो । त्यसलाई नेपाल र संसारले सम्मान गर्छ । कुनै समय हामीले रोल्पालाई, खासगरी थबाङलाई येनान पनि भनेका थियौं । अहिले शंका लाग्न थालेको छ । क्रान्ति गर्नु र डकैती गर्नुमा अन्तर के हुन्छ ? पछिल्लो चरणमा पार्टीका नेताहरूसँग मेरो प्रश्न रहने गरेको छ । डकैती र क्रान्तिको कारबाहीमा फरक हुँदैन । फरक केवल उद्देश्यमा हुन्छ । डकैती गर्नेले सबै कारबाही निजी लाभ र प्रतिष्ठाका लागि गर्छन् । क्रान्ति गर्ने कम्युनिष्टले मुख्यतः सर्वहारा वर्ग र जनताको हितका लागि गर्छन् ।
त्यसपछि २०७३ वैशाख १६ र १७ मा माओवादी स्थायी कमिटी बैठक बस्यो । बैठकमा पार्टीलाई पहिलो नम्बरको बनाउने प्रस्तावमा किरातीले गम्भीर प्रश्न उठाएका थिए । उनले रोल्पा-रुकुमवादले पहिलो नम्बरको पार्टी बन्छ ? भन्दै नेतृत्वलाई प्रश्न गरेका थिए ।
त्योबेलाको रोल्पा-रुकुमवाद अहिले परिवार-स्वार्थ समूहवादतिर सोझिएको छ । माओवादीभित्र प्राय: लाभको पद नेताका परिवार र स्वार्थ समूहले प्राप्त गरिरहेका छन् । यसबारे भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा दोस्रो तथा तेस्रो तहका नेताले मज्जैसँग कुरा उठाए । तर, जवाफ भने कसैले पनि पाएनन् ।
बैठक सुरू भएकै दिन साउन १७ गते पार्टी अध्यक्ष प्रचण्डका ज्वाइँसमेत रहेका कोशी प्रदेशसभा सांसद जीवन आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको दाबी गरे, त्यसपछि मुख्यमन्त्री तथा मन्त्रीको शपथ नै स्थगन गर्नुपर्यो । नेताहरूले बैठकमा यसबारे बोलेका थिए । जीवनपत्नीसमेत रहेकी प्रचण्डकी कान्छी छोरी गङ्गा दाहाललाई नै किन प्रधानमन्त्रीको स्वकीय सचिव बनाइयो ? बैठकमा यो सवालले समेत प्रवेश पायो । धेरैजसो केन्द्रीय सदस्यले नेतृत्वमाथि प्रश्नै-प्रश्न ठड्याए, खासगरी परिवार मोह र स्वार्थ समूह हाबी भएको विषयलाई लिएर ।
अझ प्रचण्डले परिवारभित्रैबाट पो आफ्नो उत्तराधिकारी खोजिरहेका छन् कि ? यसले पहिलेको रोल्पा-रुकुमवाद परिवार-स्वार्थ समूहवादतिर सोझिएको सङ्केत गर्छ । यसबारे नेपालभ्यूजले लेखेको लेख पढ्न सक्नुहुन्छ ।
उसो त प्रचण्डले यसपटक पनि पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने घोषणा गरेका छन् । त्यसका लागि तीनमहिने ‘जनतासँग माओवादी‘ अभियान सञ्चालन गर्ने; त्यसक्रममा नेपाल राज्यभित्रका एउटा पनि घर नछाड्ने उद्घोष प्रचण्डको छ ।
तर, त्यही घोषणा गरेकै दिन यता माओवादी नेतृत्वकै सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित छवि भएका ल्हारक्याल लामालाई नियुक्ति दिएको छ । यसले ‘जनतासँग माओवादी’ अभियानलाई ठेस पुगेको माओवादीकै नेताहरू बताइरहेका छन् । माओवादी नेता लेखनाथ न्यौपानेले लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएर माओवादीको सुशासन र सामाजिक न्यायको सुरुवात गरेको भन्दै व्याङ्ग्यात्मक टिप्पणी नै गरे ।
न्यौपानेले बैठकमा विचार र व्यवहारबीच भिन्नता हुँदा माओवादी पार्टी जस्तो नभएको भन्दै जोडदार आवाज उठाएका थिए । वास्तवमा न्यौपानले भनेको विचार र व्यवहारबीचको भिन्नता नै हिजोको रोल्पा-रुकुमवाद र आजको परिवार-स्वार्थ समूहवाद हो ।
माओवादीभित्र यो समस्या चाँडै समाधान नहुने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ । माओवादीभित्र त्यही किसिमको ‘संरचना’ खडा हुँदै आएको र त्यो तत्कालै नटर्ने बताउँछन् विश्लेषक हरि रोका । विचार-सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर हुँदा माओवादी पतनको दिशातिर गइरहको उनी बताउँछन् ।
अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य त माओवादीलाई भारतका मुलायम सिंह यादवको पार्टीसँग तुलना गर्छन् । आफू, आफूपछि छोरा-छोरी वा बुहारीलगायतलाई अघि बढाउनु ‘मुलायम सिंह यादव प्रवृत्ति’ भएको औंल्याउँछन् उनी । त्यसले पार्टीलाई पहिलो नम्बरको भन्दा पनि अन्तिमको पार्टी बनाउन मात्रै मद्दत गर्ने उनको विश्लेषण छ । “आउँदो संसदीय निर्वाचनमा माओवादीलाई राष्ट्रिय पार्टी बन्न गाह्रो हुन्छ, हेर्नुहोला,” आचार्यले भने ।
Facebook Comment
Comment