तालिवानमा महिला दमनको अर्को निर्णय: हजारौं ब्यूटी पार्लर बन्द, ६० हजारको रोजगारी गुम्यो

नेपालभ्युज

तालिवानमा महिला दमनको अर्को निर्णय: हजारौं ब्यूटी पार्लर बन्द, ६० हजारको रोजगारी गुम्यो
फाइल फोटो

काबुल । तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मंगलबारदेखि स्थायी रूपमा बन्द भएका छन् ।

सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ ।

उनीहरूलाई पार्क, फनफेयर र जिममा प्रतिबन्ध लगाएको छ र सार्वजनिक स्थानमा बुर्का लगाई अनुहार ढाकछोप गर्न आदेश दिएको छ ।

तर गत महिना जारी गरिएको एक आदेशले प्रायः घरपरिवारको लागि आयको एक मात्र स्रोत र उनीहरूका लागि घरबाट टाढा भेला हुने केही बाँकी स्थानहरू मध्ये एक सैलुनमाथिको प्रतिवन्धले महिलाहरूले देशव्यापी रूपमा सञ्चालन गरेका हजारौं सैलुनहरू बन्द गर्न बाध्य पारेको छ ।

‘हामी यहाँ सँगै हाम्रो भविष्यको बारेमा कुरा गर्न र समय बिताउन आउँथ्यौं । अहिले यो अधिकार पनि हामीबाट खोसिएको छ,’ बहरा थर बताउने राजधानी काबुलका एक सैलुन ग्राहकले भनिन्।

‘महिलाहरूलाई मनोरञ्जन स्थलहरूमा प्रवेश गर्न अनुमति छैन, त्यसैले अब हामी के गर्न सक्छौं ? आनन्द लिन हामी कहाँ जान सक्छौं ? हामी एकअर्कालाई भेट्न कहाँ भेला हुन सक्छौं ?’

गत साता सुरक्षा अधिकारीहरूले उक्त आदेशको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं महिलालाई तितरबितर पार्न हवाई फायरको प्रयोग गरेका थिए ।
मङ्गलबार समाचार तयार पार्दासम्म काबुलका धेरै सैलुन बन्द भइसकेका थिए भने प्रतिवन्धको समय आउनुभन्दा केही अघिको अन्तिम क्षणसम्म खुला रहेका थिए ।

एक जना सैलुन मालिकले आफू स्वेच्छाले बन्द भएको र पसल सञ्चालनको अनुमतिपत्र दिने भन्दै पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बताएकी छन् । नाम नबताउने शर्तमा उनले (सैलुन मालिक)ले भनिन, ‘दृश्य भयानक थियो । उनीहरू सैन्य गाडी र बन्दुक लिएर आएका थिए ।’

उनले भनिन, ‘यति धेरै जिद्दी र दबाबका बाबजुद एउटी महिलाले के गर्न सक्छ ?’

तालिवान सरकारको नेतृत्वमा रहेको सरकार (मन्त्रालय)ले मेकओभरका लागि खर्च गरिएको अचाक्ली रकमले गरिब परिवारलाई कठिनाइ भएको र सैलुनमा गरिने केही उपचार गैरइस्लामिक भएको दाबी गरेको छ । धेरै मेकअपले महिलाहरूलाई प्रार्थनाका लागि उचित स्नान गर्नबाट रोक्छ भने आँखाको मेकअप र जथाभावी कपाल बाट्न पनि निषेध गरिएको छ ।

एएफपीलाई प्राप्त आदेशको प्रतिलिपिमा भनिएको छ, ‘यो प्रतिबन्ध तालिवान सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको मौखिक निर्देशनमा आधारित छ ।’

अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तान कब्जा गरेको २० वर्षमा काबुल र अफगानिस्तानका अन्य सहरमा ब्यूटी पार्लरहरू फस्टाएका थिए ।

तिनीहरूलाई महिलाहरूलाई पुरुषहरूबाट टाढा रहन र विवाह जस्ता उत्सवहरूको लागि तयारी गर्न सुरक्षित स्थानको रूपमा हेरिन्थ्यो ।

तालिवान सरकारले सत्ता सम्हाल्दा हजारौं महिला सरकारी कर्मचारीले या त जागिर गुमाएका छन् वा घरमै बसेर तलब खान बाध्य भइरहेका छन् ।

अफगानिस्तान वुमन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अनुसार ब्यूटी पार्लरमा प्रतिबन्ध लगाएपछि देशभरका करिब १२ हजार सैलुनमा काम गर्ने ६० हजार महिलाले आफ्नो आम्दानी गुमाउनेछन् ।

अफगानिस्तानका लागि विशेष दूत रिचार्ड बेनेटले गत महिना संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्लाई बुझाएको प्रतिवेदनमा अफगानिस्तानमा महिला र बालिकाको अवस्था ‘विश्वकै सबैभन्दा खराब मध्येको एक’ रहेको उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved