आफैँले राखेको नक्कली बम सेनाले डिस्पोज गरेको हेर्न जाँदा पक्राउ परे पासवान

पाँच लाख माग्दा नदिएपछि राखियो नक्कली बम

शंकास्पद बस्तु डिस्पोज गर्ने काम भइरहँदा नजिकैको होटल छेउबाट रौतहटका खजाञ्ची पासवान पक्राउ परे । उनी आफैँले राखेको नक्कली बम सेनाको रोबोटले डिस्पोज गर्न लागेको दृश्य हेरेर बसेका थिए।

आफैँले राखेको नक्कली बम सेनाले डिस्पोज गरेको हेर्न जाँदा पक्राउ परे पासवान

काठमाडौं। सिनामंगल तारा हल चोकमा सुन पसल गर्दै आएका मने विश्वकर्मा बुधबार बिहान मोबाइलको घण्टीसँगै ब्युँझिए। ‘खोटाङ हलेसी ज्वेलर्स’ नामको पसल धनी उनलाई अपरिचित एलसेलको नम्बरबाट फोन आएको थियो।

फोन उठाएर ‘हेलो’ मात्र भनेका थिए, उताबाट भनियो, ‘‘पाँच लाख रुपैयाँ दिनुस् नत्र सुन पसल बमले उडाइदिन्छु।’’मने छाँगाबाट खसेजस्तो भए। ‘को बोलेको ? केका लागि यति धेरै पैसा ?’ मनेले सोधे। उताबाट जवाफ आयो, ‘‘पार्टीको लागि सहयोग गर्नुस्। धनसम्पत्ति जोगाउने भए पाँच लाख रुपैयाँ दिनुस्। पुलिसलाई खबर गरेमा ज्यान नै तलमाथि हुनसक्छ।’’

यति भनेपछि फोन काटियो। मने आत्तिए । उनलाई के गर्ने के नगर्ने भयो। हातमुख धोए। नित्य कर्म गर्दै थिए। केही बेरपछि फेरि फोन आयो उही नम्बरमा । फोनमा भनियो ‘‘पाँच लाख रुपैयाँ तयार भयो ? नदिए पसलमा बम राख्छु र उडाइदिन्छु।’’

त्यसपछि पनि मनेलाई लगातार ७ पटक फोन आयो। फोन गर्नेले ‘कहिले कहाँ पैसा पठाइदेऊ, कहिले कहाँ पैसा लिन आउँछु’ भन्थ्यो। मनेले परिवारसँग पनि घटनाबारे सुनाए।

परिवारका अरू सदस्यको सुझावअनुसार मनेले ‘पैसा नदिने’ अडान लिए। बरु ‘जे सक्छस् गर्’ भने।

बिहानै अपरिचित व्यक्तिले रकम मागेकाले तनाव त थियो नै। अरू दिनभन्दा केही ढिला खाना खाए। खाना खाएलगतै ताराहल चोक (सिनामंगल पुलबाट केएमसी अस्पताल जानेबाटोको बिचमा पर्ने चोक) मा रहेको पसलमा आए।

सटरको ताला खोल्न लाग्दा केही लेखिएको चिट भेटे।

सिनामंगलमा पार्टीको पर्चासहित शंकास्पद वस्तु फेला (तस्वीरहरू)

‘‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला। संयोजक – सफल’’ लेखिएको रहेछ।

सटरमा अलीपर हेरे। बम जस्तै लाग्ने कालो बस्तु देखे। बिहान धम्काउँदै रकम माग्नेको काम भएको बुझ्न उनलाई सकस भएन। उनले आफ्नो सटरमाथी रहेको पार्लर पसल सञ्चालकलाई बोलाए। वरपरका छिमेकीलाई पनि जानकारी गराए। छिमेकीले घटनाबारे प्रहरीलाई खबर गरे। लगतै प्रहरी आयो। सेनाको बम डिस्पोजल टोली पनि आयो

सिनामंगलको सुन पसलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

टोलीले झन्डै एक घण्टा लगाएर विस्फोटक पदार्थ भए/नभएको पहिचान र डिस्पोज गर्‍यो। डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको छ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले तर्साउनलाई बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखेको पाइएको बताए। उनले भने, ‘‘शंकास्पद वस्तु डिस्पोज गरिएको  छ। त्यहाँभित्र विस्फोटक पदार्थ फेला परेन।’’

शंकास्पद वस्तु डिस्पोज गर्ने काम भइरहँदा नजिकैको होटल छेउबाट एकजनालाई प्रहरीले पक्राउ गर्यो । रौतहटका खजाञ्ची पासवान पक्राउ परेका हुन्।

उनी आफैँले राखेको नक्कली बम सेनाको रोबोटले डिस्पोज गर्न लागेको दृश्य हेरेरै बसेका थिए। मोबाइलको लोकेसनको आधारका उनलाई प्रहरीले पहिचान गर्न सफल भयो। पक्राउ परेका पासवान अहिले गौशाला प्रहरीको हिरासतमा छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए। उनले भने, ‘‘गौशाला वृत्तमा राखेर उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ।’’

५ वर्षअघिबाट पसल सञ्चालन गर्दै आएका विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जनाले पसलमा नै आएर पैसा मागेका थिए। पसल सञ्चालक मनेले प्रहरीलाई खबर गर्ने बताएपछि उनीहरू भागेका थिए।

भिडिओ –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved