वैदेशिक रोजगारीमा जानेको संख्यामा नयाँ रेकर्ड, एकै वर्षमा पौने ८ लाख बाहिरिए 

सबैभन्दा धेरै कात्तिकमा ७८ हजार ३७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रमस्वीकृति लिए ।

नेपालभ्युज

वैदेशिक रोजगारीमा जानेको संख्यामा नयाँ रेकर्ड, एकै वर्षमा पौने ८ लाख बाहिरिए 
फाइल तस्वीर

काठमाडौं।  आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ ।

यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् ।

वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुई वर्षदेखि बढेको बताए । उनले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको सङ्ख्या बढेको दाबी गरे

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षमा श्रमस्वीकृति सबैभन्दा बढी कात्तिकमा लिएको पाइएको छ । कात्तिकमा ७८ हजार ३७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रमस्वीकृति लिए ।

गत भदौमा ७६ हजार ४०३ जनाले, असारमा ७१ हजार पाँच सयले, मङ्सिरमा ६८ हजार ५६४ जनाले, साउनमा ६५ हजार ४६२ जनाले, पुसमा ६४ हजार ४६४ जनाले र माघमा ६४ हजार २८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर विदेशिएका छन् । त्यसै गरी गत फागुनमा ६१ हजार ८४५ जनाले, चैतमा ६१ हजार ४७८ जनाले, जेठमा ५९ हजार ४२२ जनाले र असोजमा ५८ हजार १९२ जनाले श्रमस्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रमस्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो ।  गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved