टेकनाथ रिजालको स्वास्थ्य सुरक्षाबारे चासो

नेपालभ्युज

टेकनाथ रिजालको स्वास्थ्य सुरक्षाबारे चासो
टेकनाथ रिजाल

काठमाडौं । भुटानको राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले भुटानी नेता टेकनाथ रिजालको स्वास्थ्य सुरक्षाबारे चासो राखेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल कारागारमा रहेका रिजालको स्वास्थ्य सुरक्षाबारे अभियानले चासो राखेको हो ।

“हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनुभएको छ र उहाँले बस्ने राम्रो ओड्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ, जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ,” नेदरल्याण्डको हेगबाट अभियानका संयोजक राम कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा रिजाललाई बयान फेर्न उच्च प्रोफाइलका बन्दीहरूले दबाब दिएकोसमेत खुलाइएको छ । रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अपराधीका रूपमा नाम लिएका इन्द्रजित राईसँगै राखिएका कारण रिजालमा निरन्तर मनोवैज्ञानिक तनाब र असुरक्षा बढेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“सन् १९८९ मा तत्कालीन नेपाल सरकारले भुटानलाई जबरजस्ती सुम्पिएपछि रिजाल १० वर्ष राजनीतिक बन्दी बन्नुभएको थियो । एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनअनुसार १० वर्ष राजनीतिक बन्दी हुँदा रिजाललाई भुटानको जेलमा अमानवीय यातना दिइयो । त्यसयता उहाँ मधुमेह, रक्तचाप र बुढेसकालसँग सम्बन्धित अन्य रोगजस्ता विभिन्न गम्भीर रोगबाट पीडित हुनुहुन्छ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा तथा चिसो नभएको बेग्लै कोठामा रिजाललाई राख्न मागसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved