प्रचण्ड प्रधानमन्त्री भएको थाहै नपाइ बितिन् सीता 

प्रचण्ड प्रधानमन्त्री भएको थाहै नपाइ बितिन् सीता 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सल्लाहकारसमेत रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भयो । लामो समयदेखि पार्किन्सनजस्तो दुर्लभ रोगको सामना गरिरहेको सीताको अन्तत: निधन भयो ।

विगत ६ वर्षदेखि अचेत अवस्थामै रहेकी सीताको पति प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको थाहै नभइ निधन भयो । पछिल्लोपटक प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसअघि नै सीता अचेत अवस्थामा थिइन् । त्यसैले सीता प्रचण्ड प्रधानमन्त्री बनेको थाहै नपाइ बितिन् ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा सांसद दुर्गा राई भन्छिन्, “उहाँ (सीता दाहाल) ०७५ सालबाट साह्रो हुनुभएको हो । त्यसैले कमरेड प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको थाहै नपाइकन उहाँ बित्नुभयो ।”

त्यसो त प्रचण्ड यसअघि २०६५ साउन ३१-२०६६ जेठ ११ मा पहिलोपटक र २०७३ साउन २०-२०७४ जेठ २४ मा दोस्रोपटक देशका प्रधानमन्त्री रहिसकेका थिए । त्यसबेला भने सीता दह्रै थिइन्, उनी प्रचण्डकै साथमा थिइन् ।

तर, प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको भने सीतालाई थाहै भएन ।

को हुन् सीता ?

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताले २०२६ सालमा प्रचण्डसँग विवाह गरेकी थिइन् । त्यसलगत्तै उनी कम्युनिष्ट राजनीतिमा सक्रिय भएको थिइन् ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङकाअनुसार सीता २०२८ सालदेखि राजनीतिमा सक्रिय भइन् भने त्यसपछि पार्टीका विभिन्न तहका सङ्गठनहरूमा बसेर काम गरिन् ।

“आन्दोलनमा आबद्ध भएपछि उहाँले जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल पार्टीको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो,” महासचिव गुरुङले भने ।

उनले थपे, “सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।”

प्रचण्डले सीताकै कारण आफू कम्युनिष्ट आन्दोलनमा सफल भएको बताउने गरेका छन् । हुन पनि प्रचण्ड भूमिगतरूपमा सक्रिय हुँदा सीता उनकै साथमा थिइन् ।

तेस्रो पारिवारिक ‘बज्रपात’

प्रचण्डले यसअघि नै छोरी ज्ञानु दाहाल र छोरा प्रकाश दाहाल गुमाइसकेका छन् । ज्ञानुको क्यान्सरका कारण २०७० साल चैत्र १३ भारतको दिल्लीमा निधन भएको थियो ।

पीएसपीः जसले सीता दाहाललाई मृत्युसम्म पुर्‍यायो

त्यसको ४ वर्षपछि छोरा प्रकाशको २०७४ साल मंसिर ३ गते नर्भिकमै निधन भएको थियो । उनको हृदयघातका कारण निधन भएको थियो ।

सीताको निधनसँगै प्रचण्डले परिवारका ३ सदस्य गुमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved