पशुपतिमा विवाह गरेका भारतीय र पाकिस्तानी जोडीको फिल्मी प्रेम कहानी

नेपालभ्युज

पशुपतिमा विवाह गरेका भारतीय र पाकिस्तानी जोडीको फिल्मी प्रेम कहानी

पाकिस्तानकी सीमा हैदर र भारतका सचिन मिणाको प्रेम कहानी अहिले भारत र पाकिस्तानका मिडियामा चर्चाको विषय बनेको छ। पक्राउ परेका उनीहरू शुक्रबार अदालतको आदेशमा धरौटीमा रिहा भएपछि यो फिल्मी प्रेम कहानीले तत्कालका लागि सुखद मोड लिएको छ।

चार सन्तानकी आमा हुन् सीमा हैदर। उनी पाकिस्तानको सिन्धको खैरपुर जिल्लाकी बासिन्दा हुन्। भारत उत्तर प्रदेशका हुन् सचिन। दुईबीच उमेर, धर्म केही पनि मिल्दैनथ्यो। तर उनीहरूको मन मिल्यो। दुवै जनाको मन मिलेपछि तीन वर्षपछि यो जोडी सँगै बस्न स्वतन्त्र भएको छ।

सन् २०२० मा पब्जी खेल्ने क्रममा उनीहरूबीच चिनजान भयो। चिनजान पछि मोबाइल नम्बर साटासाट भयो। कुराकानीसँगै उनीहरूबीच प्रेम भयो।
झाँगिएको प्रेमलाई विवाहमा परिणत गर्न सहज थिएन। एकातिर भारत र पाकिस्तानको राजनीतिक सम्बन्धले जनतालाई सहज थिएन। जनताहरू सहजै एक–अर्काको देशमा आउजाउ गर्न पाउँदैनन्।

अर्कातिर सीमाको विवाह भइसकेको थियो। उनका चार वटा बच्चा थिए। यता सचिन पनि गरिब थिए। उनको पाकिस्तानसम्म जाने पनि हैसियत थिएन।

लामो समय दुवै जनाले भिडिओ कलबाटै सुख दुख साटे। एकअर्कालाई भेट्न नपाउँदा पीडामा थिए। सीमाले हिम्मत गरिन्।

दुवै जनाले काठमाडौंमा भेट्ने योजना बनाए। सीमा नै भिसा लगाएर काठमाडौं आउने भइन्। नेपाल भारत खुला सीमाना भएकाले सचिन गाडीबाटै काठमाडौं आए।

सीमाले भने नेपाल आउन दुबई पुग्नुपर्याे। किनकि पाकिस्तानबाट सीधा उडान थिए। त्यसैले महँगो टिकट थियो। प्रेमी भेट्न नेपालको भिसा लगाइन्। जहाजको टिकट काटिन्। पहिलो पटक जहाज चढेर उनी दुबई पुगिन्।

प्रेमीसँग बिहे गर्न पाकिस्तानबाट भारत आउँदा पक्राउ परेकी सीमा हैदर धरौटीमा रिहा

‘जहाज चढ्नासाथ मेरा दुवै कान बेस्सरी दुखेका थिए। पहिला कहिल्यै जहाज नचढेकाले होला,’ बिबिसी हिन्दीसँगको अन्तर्वार्तामा सीमाले भनेकी छन्,‘दुबईमा ११ घण्टा कुर्नुपर्याे। मलाई धेरै डर लागेको थियो, निदाउन पनि सकिनँ।’

उनी मार्च १० तारिखको साँझ सीमा त्रिभुवन विमानस्थलमा झरिन्। सचिन त्यो दिन बिहानै काठमाडौं आइसकेका थिए। सचिन आफ्नी प्रेमिका सीमालाई दिन एअरर्पाेटमै गए।

भेट भएको ३ दिनपछि दुवैले बिहे गर्ने सोच बनाए। मार्च १३ गते यो जोडीले पशुपतिनाथमा हिन्दु परम्पराअनुसार विवाह गरे। सचिनले सीमाको सिउँदोमा सिन्दूर हालिदिए।

सचिनले भनेका छन्, ‘पशुपतिमा हिन्दु परम्पराअनुसार विवाह गरेपछि उनी हिन्दु भइन्। सात दिन सँगै बसेर उनी पाकिस्तान गइन्, म भारत फर्किएँ ।छुट्टिएपछि थाहा भयो, हामीलाई त एक–अर्काबिना बाँच्न निकै मुस्किल रैछ।’

त्यसपछि सीमा सचिनसँगै सधैँका लागि भारत जाने योजना बनाइन्। उनले पहिलो पति त्याग्ने भन्दै सचिनसँग बिहे गरेकी थिइन्। उनको पहिलो बिहे १० वर्षअघि १७ वर्षको उमेरमा भएको थियो। सीमाका पति साउदी अरबमा छन्।

सीमाका बुवा आमा बितिसकेका थिए। एक भाइ र बहिनी पनि आफ्नै काम गरेर पाकिस्तानमा बसिरहेका छन्। पतिलाई भेटेपछि उनी फेरि पाकिस्तान फर्किइन्, अर्काे पटक बच्चासहित आउने बाचा गरेर।

उनी पाकिस्तान गएर जायजेथा बेचिन् पतिको घर जाने खर्च जुटाउन। सीमाले आफ्नो नाममा रहेको सम्पत्ति बेचेर फेरि नेपाल आएको सुनाएकी छिन्। दोस्रो पटक आउँदा आफ्ना चार जना छोराछोरीको पनि उनले सँगै ल्याएकी छिन्।

उनी गत मेमा फेरि उनी नेपाल आइन्। बच्चासँगै नेपाल आएकी उनी यतैबाट दिल्ली गइन्।

‘नेपाल–भारत सीमामा के–के चेकिङ हुन्छ भनेर म नेपालका महिलालाई सोध्थें। उनीहरूले मलाई सबै बताइदिन्थे,’ सीमाले भनेकी छन्,‘मेरा बच्चाहरू पनि देखेर होला सीमामा सुरक्षाकर्मीले मलाई अलि दया देखाए। म भारत आउन पाएँ।’ उनी मे १३ मा भारत पुगिन्।

सचिनले नोयडानजिकैको आफ्नो ठाउँमा सीमालाई बस्ने सबै व्यवस्था बनाएका थिए। एक महिनासम्म उनीहरू लुकिछिपी बसे।

पशुपतिमा विवाह गरेका उनीहरूले छोराछोरीको जन्मदर्ता र पढाइ लेखाइका लागि भारतमा कानुनी विवाह गर्नुपर्ने ठाने। तर वकिललाई भनेको कुरा प्रहरीकहाँ पुग्यो । प्रहरीले दुवैलाई पक्राउ गर्याे।

सीमालाई भिसाबिना गैर कानुनी रूपमा भारत प्रवेश गरेको भन्दै पक्राउ गरियो। सचिनले उनलाई आवास दिएर राखेको अभियोगमा प्रहरीले हिरासतमा लियो।

सीमाले भनेकी छिन् ‘मलाई त अब केही महिना जेलमै बस्नुपर्छ होला भन्ने लागेको थियो तर अदालतले धरौटीमा रिहा गरिदियो। मलाई निकै खुसी लागेको छ। अब त म भारतीय भइसकेँ। कागजमा मात्र पाकिस्तानी छु।’

जस्तोसुकै परिस्थिति आए पनि सचिनलाई छोडेर पाकिस्तान फर्केर नजाने उनले बताएकी छन्। पहिलाका पतिसँग आफ्नो तलाक भइसकेको उल्लेख गर्दै सीमाले औपचारिकताका लागि कागज पठाइदिने बताइन्।

उनले भनेकी छिन्, ‘पाकिस्तान पनि एउटा देश हो। जहाँ म जन्मिएँ, हुर्किएँ ठुली भएँ तर अब भारतमै बस्छु,’ सीमाले भनिन्,‘कसैले पाकिस्तान जानुपर्छ भन्यो भने बरु म विष खाइदिन्छु तर उनलाई छोडेर पाकिस्तान जान्नँ।’

२२ वर्षका सचिनले पनि सीमाका बच्चालाई आफ्नै बच्चाजस्तो ठानेको बताएका छन्।

उता साउदी अरबमा बस्दै आएका सीमाका श्रीमान् गुलाम हैदर भने श्रीमती सीमा र सचिनलाई फिर्ता लिन चाहन्छन्। उनका पति गुलाम हैदरले भन्छन्, “म आफ्ना छोराछोरीलाई पाल्नको लागि साढे तीन वर्षदेखि यहाँ काम गरिरहेको छु। सीमाले मलाई छाड्न सक्दिनन्। सीमालाई उनको प्रेमीले ब्ल्याकमेल गरिरहेको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved