प्रधानमन्त्रीले प्रीतम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयोः कांग्रेस सांसद राणा

नेपालभ्युज

प्रधानमन्त्रीले प्रीतम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयोः कांग्रेस सांसद राणा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन् ।  प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटकपटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उनले प्रतिक्रिया दिएका हुन् ।

बुधबार प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर एमाले सहितका विपक्ष दलहरुले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए । सोही सन्दर्भमा संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्री दाहालले सो विषयबारे संसदमा चाँडोभन्दा चाँडो स्पष्टिकरण दिनुपर्ने माग समेत गरे ।

एमालेसहितका विपक्ष दलहरुले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री दाहालले संसदमा उभिएर त्यसबारे स्पष्ट पार्नुपर्ने उनको भनाई थियो । ‘हाम्रो यस सन्दर्भमा अफिसियल धारणा  छैन । अव विपक्ष दल विशेष गरेर एमालेले प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेलामा केही कुरा बोल्नु भएको थियो । त्यसको बारेमा उहाँहरुले आपत्ति जनाउनु भयो’ उनले भने, सायद भोली प्रधानमन्त्रीले त्यसको जवाफ दिएर हाउसलाई हामी अगाडि बढाउँछौं । एमालेले राजीनामा खोज्यो । अव राजीनामाको माग उहाँहरुको हो । हाम्रो भनाई  प्रधानमन्त्रीले हाउसमा आएर विपक्ष दलले बोलेपछि हामीलाई पनि स्पष्ट बनाई दिनु पर्छ ।’

‘हामी बजेट सेसनमा छौं । निर्वाचन सकिएको ८ महिना भयो । ८ वर्षमा हुने घटना ८ महिनामै भएर सरकारले राम्रोसँग काम गर्न पाएको छैन । नेपाली कांग्रेसले सत्ताभन्दा पनि स्थिरतातिर हामी केन्द्रित छौं । कुनै पनि राजनीतिक दल सत्तातिर पनि केन्द्रित हुन्छ । तर, अहिलेको परिस्थितिमा हामी स्थिरतातिर केन्द्रित हुन्छौं भन्ने छ’ उनले अगाडी थपे ।

उनले भने, ‘उहाँले त्यो बोल्न नहुने हो । के सोचमा उहाँले बोल्नु भयो । अथवा के ब्याक ग्राउन्डमा उहाँले त्यो बोल्नु भयो ।   उहाँले हाउसमा गएर यसको बारेमा चाँडो सकेसम्म स्पष्ट पारिदिनु पर्छ ।’

सांसद राणाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तन गर्ने पक्षमा भने नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved