प्राचीन ‘अखण्ड भारत’ कि आधुनिक ‘आर्थिक संघ’?

प्राचीन जम्बुदीप, भारत वर्ष वा अखण्ड भारतको आकांक्षा वा व्यापकतालाई समेट्न बिमस्टेक र बीबीआईएन त के सार्कसमेत पर्याप्त छैन । यस क्षेत्रमा युरोपेली संघजस्तै एक विशाल र बृहत् ‘आर्थिक संघ’ अत्यावश्यक भइसकेको छ । विश्लेषण ।

प्राचीन ‘अखण्ड भारत’ कि आधुनिक ‘आर्थिक संघ’?

काठमाडौं । भारतको नयाँ संसद् भवनमा मौर्य साम्राज्यकालीन भित्तेचित्र (म्युरल) राखिएपछि दक्षिण एसियाभरि तरंग पैदा भएको छ । मे २८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवन उद्घाटन गर्दै मौर्य साम्राज्यकालीन अखण्ड भारतको सांस्कृतिक भित्तेचित्र र चोल साम्राज्यकालीन राजदण्ड (संगोल) संसद् भवनमा राखेपछि यस्तो प्रतिक्रिया उत्पन्न भएको हो ।

के हो अखण्ड भारत ?

‘अखण्ड भारत’ बृहत भारत वर्षको अवधारणा हो । प्राचीनकालमा यसलाई जम्बुद्वीप वा भारत वर्ष भनिन्थ्यो । यस अवधारणा अनुरूप हिन्दू, बौद्ध, जैन, शिख, किरात, बोन धर्म साथै अन्य रैथाने धर्मसंस्कृतिको उद्गम तथा प्रभाव क्षेत्रलाई ‘एउटै राष्ट्र’ मानिन्छ । दक्षिण तथा पूर्वी एसियाली देशलाई एउटै राष्ट्रभित्रका ‘फरक राज्य’ मानिन्छ ।

‘अखण्ड भारत’ को अवधारणामा अफगानिस्तान, पाकिस्तान, तिब्बत, माल्दिभ्स, भारत, नेपाल, श्रीलंका, भुटान र म्यान्मार एउटै राष्ट्रभित्रका फरक-फरक राज्य हुन्। यसको क्षेत्रफल करिब ७२ लाख वर्ग किमी र जनसंख्या करिब २ अर्ब हुन्छ । महाभारतकालमा यिनलाई १६ जनपद भनिन्थ्यो । ती थिए– कुरु, पाञ्चाल, शुरसेन, वत्स, कोशल, मल्ल, काशी, अंग, मगध, बृज्जि, चेदी, मत्स्य, अश्मक, अवन्ति, गान्धार र कम्बोज । मध्यकालमा यी विभिन्न करिब ८ सय साना ठूला राज्यमा विभक्त भएका थिए।

यसका अतिरिक्त थाइल्यान्ड, लाओस, मलेसिया, भियतनाम, फिलिपिन्स र इन्डोनेसियामा समेत यी भूभागका विभिन्न अंश परेका छन्।

कहिले र कसरी बने कुन देश ?

प्राचीनकालमा जम्बुद्वीप, भारत वर्ष, अखण्ड भारत वा बृहत् हिन्दुस्तानजस्ता मान्यता थिए । तर, यस क्षेत्रमा एउटै राज्य भने कुनै पनि कालखण्डमा थिएन । सन् १८५७ को भारत विद्रोह अघि फरक-फरक राज्य कायमै थिए । दक्षिण एसियामा त्यस्ता राज्यलाई एउटै शासनमुनि ल्याउने काम भने मूलतः ब्रिटिस–इन्डियाले गरेको थियो । त्यही क्रममा अहिलेका आधुनिक राष्ट्रिय-राज्यको उदय भएको थियो । त्यसअघि यो क्षेत्र स-साना स्थानीय कविलाई राज्य जस्तो अवस्थामा थिए ।

दक्षिण एसियाको सबैभन्दा प्राचीन देश नेपाल हो । प्राचीनकालमा भारत वर्षको एक अंग मानिएता पनि नेपालको अस्तित्व स्वतन्त्र र निरन्तर छ । तर, त्यतिखेर अहिलेको नेपाललाई बुझिँदैनथ्यो । नेपाल काठमाडौं केन्द्रित स्थानीय राज्य थियो । यो राज्य बारम्बार एकीकृत र विभाजित हुने गर्दथ्यो । काठमाडौंभित्रै पनि कान्तिपुर, ललितपुर र भक्तपुर ३ राज्य थिए । यिनको सीमा फैलिने र खुम्चिने भइरहन्थ्यो ।

अहिलेको मेची-महाकालीबीचको नेपाल सन् १८१६ को सुनौली सन्धीबाट निर्धारित भएको हो । करिब दुई वर्ष लामो युद्धपछि नेपाल–ब्रिटिस इन्डिया सुगौली सन्धीमा पुगेका थिए । ठीक यसैगरी अहिलेको अफगानिस्तानको जन्म ब्रिटिस-अफगान युद्ध र सन् १८७६ को गन्डाकम सन्धिबाट भएको थियो ।

भुटानले सन् १९०६ मा ब्रिटिस शासनबाट ‘प्रिन्सली स्टेट’ को मान्यता पाएको थियो । श्रीलंका सन् १९३५ मा सिलोन क्षेत्रका रूपमा भिन्नै प्रदेश बन्यो । म्यान्मारलाई सन् १९३७ मा ब्रिटिस इन्डियाभित्रको एक भिन्नै राज्य बनाइएको थियो । भारत र पकिस्तान स्वतन्त्रतापछि १९४७ का बनेका हुन्। बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बनेको हो । त्यसअघि यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । माल्दिभ्स सन् १९६५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएपछि बन्यो ।

सांस्कृतिक मान्यताको राजनीतिकीकरण

भनिन्छ-आधुनिक राजनीतिमा ‘अखण्ड हिन्दूस्तान’ को नारा पहिलोपटक सन् १९३५ मा घनश्याम व्यास नामक एक गुजराती वकिलले लगाएका थिए । सन् १९३७ मा अखिल भारतीय हिन्दू महासभाका नेता विनायक दामोदर सावरकरले यो अवधारणालाई महासभाको १९औं वार्षिक बैठक, अहमदावाद सम्मेलनबाट ‘अखण्ड भारत’ नाममा प्रस्तुत र पारित गराएका थिए ।

भारतीय स्वतन्त्रता संग्रामको समयमा यो शब्दको अर्थ भारत विभाजित हुनु हुँदैन भन्ने लाग्दथ्यो । अंग्रेजले भारतलाई विभाजन गरी शासन गर्ने नीति ‘डिभाइड एन्ड रुल’ गरेको प्रतिवादमा यो नारा आएको थियो । यसमा महात्मा गान्धीको समेत सहमति थियो ।

तर, मोहम्मद अली जिन्ना नेतृत्वको मुस्लिम लिगले अवधारणालाई अस्वीकार गर्दथ्यो । फलतः व्यापक साम्प्रदायिक दंग भड्किएका थिए । यो जोखिमलाई दृष्टिगत गरी सन् १९४७ मा महात्मा गान्धीले भारत–पाक विभाजन स्वीकार गरेपछि ‘अखण्ड भारत’ पक्षधर दु:खी र क्रोधित भए । तिनैमध्ये एक नाथुराम गोड्सेले गोली हानी गान्धीको हत्या गरेका थिए । भारतीय जनता पार्टी भने अखिल भारतीय हिन्दू महासभा, राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जन संघको उत्तराधिकारी दल भएको हुँदा यसले ‘अखण्ड भारत’ अवधारणामा विश्वास गर्दछ ।

चीनमा पनि पर्दछ अखण्ड भारत 

जम्मुद्वीप, भारत वर्ष, वा अखण्ड भारतको अवधारणाभित्र हिमालयमा भएका वा हिमालय दक्षिणका राज्य र भूभाग मात्रै हैन, हिमालय र हिमालय उत्तरका क्षेत्र समेत पर्ने हुन्छन् । यस दृष्टिकोणले अखण्ड भारतको अवधारणाभित्र अहिले चीन अधिनस्थ तिब्बत र अक्साई चीन क्षेत्रसमेत पर्दछन् ।

तिब्बत बौद्धधर्मी दलाई लामा परम्पराबाट शासित एक धार्मिक तथा सांस्कृतिक राज्य थियो । सन् १९५१ मा कम्युनिस्ट चीनले तिब्बतमाथि आक्रमण गरी अधिनस्थ गरेको थियो । तिब्बतबाट पलायन भएका १४औं दलाई लामा अहिले पनि भारतमा छन् र उनी तिब्बतको निर्वासित सरकार चलाइरहेका छन् ।

अक्साई चीन क्षेत्र कश्मिर राज्यमा पर्दथ्यो । कश्मिरको विभाजनपछि यो भारत, चीन र पाकिस्तानमा विभक्त भयो ।

पछाडी फर्कने हैन अघि बढौं 

कुनै पनि राष्ट्र चाहेर पनि प्राचीनतामा जस्ताको त्यस्तै फर्किन सक्दैन । प्राचीनता वा इतिहास सभ्यता, संस्कृति र सम्पदाको विरासत हो । त्यसप्रति गौरव र सम्मानको भावना हुनु अन्यथा हैन । तर, राष्ट्रको आर्थिक तथा राजनीतिक भविष्य भने प्राचीनतामा पछाडि फर्किएर हैन, आधुनिकतामा अगाडि बढेर हासिल हुन सक्छ ।

प्राचीन जम्बुद्वीप, भारत वर्ष वा अखण्ड भारतको अवधारणभित्र समेटिने भौगोलिक क्षेत्रमा नि:सन्देह आज पनि भाषा, संस्कृति र जनस्तरको सघन सम्बन्ध छ । यस क्षेत्रका राज्यहरू कुनै न कुनै रूपमा एक-अर्कासँग जोडिएका वा अन्तर्निभर छन् । तर, त्यसको आवश्यकतालाई पूरा गर्न आधुनिक आर्थिक संघको आवश्यकता पर्दछ, प्राचीन सांस्कृतिक राष्ट्रवादको गीत मान्यतालाई बढावा दिएर आधुनिक राष्ट्रिय–राज्यको आवश्यकता पूरा हुँदैन।

शिथिल सार्क

आधुनिक राष्ट्रिय–राज्यको युगमा ‘नयाँ संघ’ को आवश्यकता महसुस भएर नै सन् १९८५ मा सार्क बनेको थियो । सार्कभित्र नभए पनि तिब्बत र म्यान्मारलाई विश्वले दक्षिण एसियाली राष्ट्रकै रूपमा बुझ्दछ । तिब्बत चीनमा गाभिएको छ भने म्यान्मार दक्षिणपूर्वी एसियाली देशको क्षेत्रीय संगठन आयिसानभित्र छ ।

सन्  १९९५ मा सार्क राष्ट्रबीच आर्थिक सहकार्य र साझेदारीको योजना साफ्टा अघि बढाउने प्रयत्न भए पनि त्यो खासै फलदायी भएन । मूलतः भारत–पाकिस्तान बीचको तनाव र असमझदारीले सार्क र साफ्टा दुवैलाई शिथिल र निस्क्रिय बनायो ।

सार्क क्षेत्रमा राजनीतिक जटिलता बढ्दै गए । अफगानिस्तानमा तालिवानको उदय र म्यान्मारमा सैनिक शासन यो क्षेत्रका मुख्य राजनीतिक समस्या बने । सन् २००८ सम्म सार्क जसोतसो अघि बढिरहेको थियो । पछिल्लो समय पूरै गतिरोधमा फसेको छ ।

गाह्रो छ एक्लाएक्लै उन्नति

आधुनिक भूमण्डलीकरणको युुगमा कुनै पनि राष्ट्रले एक्लाएक्लै उन्नति गर्न सजिलो छैन । कुनै पनि राज्य आफैंमा सम्पूर्णं हुँदैन । कुनै न कुनै कुरामा त्यसले अरुसँग निर्भर हुनै पर्दछ । मानव जातिको चरित्र र इतिहास ‘जम्ने’ प्रकृतिको नभएर ‘बग्ने’ प्रकारको छ । यो ‘बन्द समाज’ र ‘बन्द संसार’ को युग हैन । राज्यका सीमा र नीति जति लचिला र खुला भए उत्तिनै धेरै मानिसले संसार देख्ने, बुझ्ने अवसर हासिल गर्दछ । यो अवसरको संकुचन हैन, विस्तार गर्नुपर्ने युग हो । यही बुझेर युरोपेली संघ बनेको हो ।

दक्षिण एसियाको आर्थिक, राजनीतिक र सामाजिक स्थिति विश्वका अन्य क्षेत्रको तुलनामा दिनप्रतिदिन थप कमजोर र नाजुक हुँदै गएको देखिन्छ । अफगानिस्तानमा तालिवानजस्तो कट्टर इस्लामिक शासनको उदयपछि त्यहाँ आधुनिकता, आधारभूत स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्र नै संकटमा परेको छ ।

श्रीलंका र पाकिस्तान चरम आर्थिक संकटबाट गुज्रिरहेका छन् । नेपालको आर्थिक स्थिति झन्-झन् सुस्त, कमजोर, शिथिल हुँदै गएको छ । म्यान्मार बारम्बारको सैनिक शासनको मारले थङथिलो भएको छ । बंगलादेश र भुटान आर्थिक दृष्टिकोणले तुलनात्मक रूपमा राम्रो स्थितिमा देखिन्छन् तर सामाजिक तथा राजनीतिक अवस्था भने यी देशको पनि नाजुक नै छ ।

दक्षिण एसियाली राष्ट्रले अपेक्षित प्रगति गर्न नसक्नुका अरु धेरै कारण होलान्, तर ती मध्ये एक परस्पर सहकार्य र विश्वासको साटो अविश्वास र अवरोध पनि हो । कुनै न कुनै तरिकाले एक साझा संघ, सहकार्य र साझा भावनामा नआउन्जेलसम्म एक्लाएक्लै यी कुनै पनि राष्ट्रले प्रगति र स्थायित्व हासिल गर्न सक्ने सम्भावना कम छ ।

पर्याप्त छैनन् बिमस्टेक र बीबीआइएन

सार्कको असफलतापछि सन् १९७९ मा भारत, बंगलादेश, थाइल्यान्ड र श्रीलंका मिलेर बिमस्टेक बनाए । सन् १९९७ म्यान्मार यसमा थपियो । सन् २००४ मा नेपाल भुटान थपिए। तर, यसका आफ्नै सीमा छन् । बिमस्टेकले सार्कको आवश्यकतालाई पूरा गर्न सकेको छैन।

सार्कको उत्तरपूर्वी क्षेत्रमा भारत, भुटान, नेपाल र बंगलादेश मिलेर बीबीआईएन अवधारणा अघि बढाउने उपक्षेत्रीय प्रयास देखिन्छ । तथापि, यो मूर्त छैन । प्राचीन जम्बुदीप, भारत वर्ष वा अखण्ड भारतको आकांक्षा वा व्यापकतालाई समेट्न बिमस्टेक र बीबीआईएन त के सार्कसमेत पर्याप्त छैन । यस क्षेत्रमा युरोपेली संघजस्तै एक विशाल र बृहत् ‘आर्थिक संघ’ अत्यावश्यक भइसकेको छ ।

यसरी बन्न सक्दछ नयाँ आधुनिक आर्थिक संघ

प्राचीन अखण्ड भारतको अवधारणा आधुनिक राष्ट्रिय राज्यले स्वीकार गर्न सक्दैनन् । तर, हिमालय र हिन्द महासागरबीच भएका यी राष्ट्रको भौगोलिक, वातावरणीय, साँस्कृतिक, ऐतिहासिक तथा आर्थिक सम्बन्ध पनि उत्तिकै ठूलो जीवित सत्य हो ।

प्राचीन भारत वर्ष क्षेत्रमा अहिले जुन प्रकारका राज्यको उदय भएको छ, तिनीहरूबीच राजनीतिक संघको आवधारणा लागु हुन सम्भव छैन । त्यसो गर्नु परस्पर अविश्वास र शत्रुता बढाउनु हो, अस्थीरता निम्त्याउनु हो । तर, आधुनिक आर्थिक संघ वा महासंघको अवधारणामा जाने हो भने सबै राज्य तयार हुन सक्दछन् ।

तिब्बत चीन अधिनस्थ भएको हुँदा अहिले त्यसलाई भिन्नै व्यवहार गर्न सम्भव छैन । तर, म्यान्मारलाई त्यस्तो आर्थिक युनियनभित्र समेट्नु असम्भव छैन। त्यसका लागि यो क्षेत्रको सबैभन्दा ठूलो आर्थिक तथा सैन्य शक्ति भारतले आफ्ना केही नीति र दृष्टिकोणमा पुनरावलोकन गर्न सक्नुपर्दछ । साथै उसले यो नयाँ अवधारणाका लागि अग्रसरता लिनु पनि आवस्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved