दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’

नेपालभ्युज

दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’

नवलपरासी। लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ ।

देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् । जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन् ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागिएको बताए । इन्द्रको पूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै जना भेला भएर इन्द्र पूजा गरिएको उनले बताए ।

जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षको सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेका बताए ।

इन्द्र खुसी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्रह्मणद्वारा पाठ पारायणसहित हवन गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved