शासकीय स्वरुप र निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गरौं : नेसपा

भारतको संसदमा राखिएको नक्साबारे ध्यानाकर्षण गराउन सरकारसँग माग

नेसपाले समृद्धि, जनआकांक्षाको परिपूर्ती र राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टी भएको भन्दै त्यसका लागि संविधान संशोधनको माग गरेको हो ।

नेपालभ्युज

शासकीय स्वरुप र निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गरौं : नेसपा

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थाका लागि संविधान संशोधन गर्न माग गरेको छ ।

उक्त पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले समृद्धि, जनआकांक्षाको परिपूर्ती र राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टी भएको भन्दै त्यसका लागि संविधान संशोधनको माग गरेको हो ।

अध्यक्ष डा. बाबुराम भट्टराईले आज जारी गरेको विज्ञप्तिमा पार्टीका निर्णय सार्वजनिक गरिएको छ । ‘प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीबाट गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै सम्पूर्ण प्रगतिशील लोकतान्त्रिक समाजवादी शक्तिलाई एकजुट हुन आह्वान गर्दछौं ।’ निर्णयमा भनिएको छ ।

नेसपाले द्वन्द्वकालिन मुद्दा उठाएर शान्ति प्रक्रिया भाँड्न प्रतिगामी हर्कत भइरहेको भन्दै भत्सर्ना गरेको छ । उसले रेशम चौधरीलाई राष्ट्रपतिबाट माफी मिनाहा भएकोमा स्वागत गर्दै बाँकी राजनीतिक बन्दीको शिघ्र रिहाइको माग पनि गरेको छ ।

नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेपछि पनि विफल तुल्याउन विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेसपाले सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै बैठकले नेपाल–भारत बीच उत्पन्न सिमा विवाद यथाशिघ्र वार्ता गरेर कूटनीतिक तवरबाट हल गर्न सरकारसमक्ष अपिल पनि गरेको छ ।

भारतीय संसदमा अखण्ड भारतको आपत्तिजनक नक्शा राखेको सन्दर्भमा सरकारले भारत सरकारको ध्यानाकर्षण गराओस् भन्ने माग गर्दै नेसपाले कुटनीतिक पहलबाट समस्याको हल खोज्न आग्रह गरेको छ ।

राज्यका सबै अङ्गमा भ्रष्ट्राचार र कमिसनतन्त्र मौलाएको भन्दै उसले ठूला काण्डको छानबिन र कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । भ्रष्ट्राचार विरोधी अभियानमा पार्टी दृढ भएर उभिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

उसले कोशी प्रदेशमा जारी पहिचानको आन्दोलनको समर्थन गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश १ को नामाकरण सम्बन्धमा पुराना दलहरुले गरेको गलत निर्णयका विरुद्ध आन्दोलनरत पहिचान पक्षधर जनसमुदाय, दल एवं संगठनहरु प्रति हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता छ । साथै यो बैठक प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्छ भन्ने मान्यतामा दृढता व्यक्त गर्दछ ।’

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको धरातलीय यथार्थता एवं संरचनागत समस्यालाई नजरअन्दाज गरेको नेसपाको ठहर छ । पुँजीगत खर्चको अंश भन्दा वित्तिय व्यवस्थापनमा बढी रकम खर्च हुनुले हाम्रो कमजोर अर्थतन्त्र ऋणपासोमा परिसकेको प्रष्ट संकेत गरेको भन्दै नेसपाले सचेत गराएको छ ।

नेसपाले भ्रष्टीकृत पुराना शक्तिको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरुको वृहद ध्रुवीकरण सहित नयाँं समाजवादी शक्ति निर्माण गर्नका लागि एकताबद्ध हुन अपिल पनि गरेको छ ।

उसले नेपाली युवालाई स्वदेशमै सम्मानजनक रोजगारीको व्यवस्था गर्न र रोजगारीको शिलसिलामा विदेशमा रहेका नेपालीको निम्ति मतदानको व्यवस्था गर्न माग समेत गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved