आज कहाँकहाँ कति गर्मी हुँदैछ ? कहाँ–कहाँ होला ‘रेकर्ड ब्रेक’ ?

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङकमा आज शनिबार पनि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।

नेपालभ्युज

आज कहाँकहाँ कति गर्मी हुँदैछ ? कहाँ–कहाँ होला ‘रेकर्ड ब्रेक’ ?

काठमाडौं। पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ।

नवलपुरको दम्कौली, धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम हालसम्मकै उच्च पुगेको छ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङकमा आज शनिबार पनि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।

विभागले शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ। दुम्कौलीको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको हो। यसअघि, उच्चतम तापक्रम ४३ दशमलव ८ डिग्री थियो।

यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो। यो नेपालकै सबैभन्दा बढी मापन हो। यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ।

नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थाले पनि पछिल्ला तीन दिनदेखि यो क्रम ह्वात्तै बढेको छ। तराईका जिल्लामा अहिले अधिकांश स्थानमा तापक्रम ४० डिग्रीभन्दा माथि नै छ।

तातो हावाको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलो पटक विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो । त्यसपछि २४ गते अर्को बुलेटिन जारी गरेर सचेत गराएको थियो। यस्तै शुक्रबार चितवनलगायत धेरै ठाउँमा लु चलेको थियो।

मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेषण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताइन्। नवलपुरको दुम्क्यौलीमा ४४ डिग्री तापक्रम पुगेको र यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो।

ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३० दशमलव ९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ ३१ दशमलव नौ डिग्री पुगेको छ।

धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८ दशमलव आठ डिग्री तापक्रम मापन गरिएकामा शुक्रबार (हिजो बुधबार) ३९ दशमलव तीन डिग्री पुगेको थियो।

यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भएको कँडेलले बताइन्। यसपालि मुलुकका सबैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान यसअघि नै सार्वजनिक गरिएको थियो।

मनसुन १३ जुनमा प्रवेश गर्ने औसत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ। मनसुन अहिले भारतको केरला आइपुगेको छ। यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को भनाइ थियो।

मौसमविद् विनु महर्जनले नेपालको पूर्वी भेगमा आज मौसममा केही बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको बताइन्। कपिलवस्तुको तौलिहवामा दिउँसो ४२ डिग्री तापक्रम पुग्ने अनुमान छ ।

काठमाडौँमा दिउँसो तापक्रम ३२ डिग्री हारहारीमा छ । विगतमा काठमाडौँमा ३६ दशमलव छ डिग्रीसम्म तापक्रम रेकर्ड भएको अभिलेख छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको उल्लेख गरेको छ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved