संसद्‌मा फेरि जलहरी प्रसङ्ग, रामहरिले भने- ‘हराएको १० किलो सुनबारे छलफल हुनैपर्छ’

'सांसद दाहालको प्रश्न रेकर्डबाट हटाइयो'

नेपालभ्युज

संसद्‌मा फेरि जलहरी प्रसङ्ग, रामहरिले भने- ‘हराएको १० किलो सुनबारे छलफल हुनैपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथमा जलहरी लगाउँदा हराएको सुनबारे संसद्‌मा छलफल हुनैपर्ने अडान राखेका छन् ।

शुक्रबार बसेको संसद् बैठकको शून्य समयमा बोल्दै खतिवडाले भनेका छन्, “महालेखाको प्रतिवेदन ५१६ मा सुनको जलहरी निर्माण प्रक्रियामा १०६/७ केजी ९२४ ग्राम सुन प्रयोग गर्ने उल्लख गरिएको हुन्छ, त्यसमा ९६ किलो ८२२ ग्राममात्रै प्रयोग गरिएको र १० किलो ९७६ ग्राम बेपत्ता भएको भन्ने कुरा उल्लेख छ । यसबारे संसद्‌मा छलफल हुनैपर्छ,” उनले भनेका छन् ।

यसअघि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पनि यसबारे प्रश्न उठाएका थिए । तर, सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सिंहदरबारमा भेट भएपछि त्यसलाई संसद्‌को रेकर्डबाट हटाइएको थियो । त्यसप्रति लक्षित गर्दै खतिवडाले आफू संसद्‌बाट रेकर्ड हटाउने कुराको विपक्षमा रहेको बताए । “म रेकर्डबाट हटाउने कुराको विपक्षमा छु । यी कुरा उठाउँदा ३/४ पटक डिलेट होला संसद्‌को रेकर्डबाट । तर, जनताको मनबाट डिलेट हुँदैन,” उनले भने, “म संसद्‌बा रेकर्ड हटाउने कुराको विरुद्धमा छु ।”

उनले संसद्‌लाई हल्कारूपमा प्रस्तुत गर्ने काम भइरहेको पनि बताए । “हामीले संसद्लाई हल्कारूपमा प्रस्तुत गर्दैछौँ । कसैले सत्ता पाउने वा नपाउने भन्ने कुराको आवेगको केन्द्र संसद् नबनोस् । संसद्‌मा छलफल भएका विषयवस्तुलाई रेकर्डबाट हटाउने कुराको अन्त होस् । हामी संसद्लाई सार्वभौम संसद् बनाउन चाहन्छौँ ।”

सदनमा अवरोधपछि सांसद दाहाल भन्छन् – जलहरीबारे मैले होइन ओलीले जवाफ दिनुपर्छ

यसअघि हालको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा पशुपतिनाथमा सुनको जलहरी लगाउने काम भएको थियो । त्यसमा झन्डै ११ किलो सुन गायब भएको महालेखाको प्रतिवेदनले देखाउँछ । दाहाल र खतिवडाले यसका बारेमा छलफलको माग गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved