काठमाडौं महानगरले विद्यालयमा नर्सिङ सेवा दिने, मनोपरामर्स सेवा पनि उपलब्ध

नेपालभ्युज

काठमाडौं महानगरले विद्यालयमा नर्सिङ सेवा दिने, मनोपरामर्स सेवा पनि उपलब्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र त्यही केन्द्रमार्फत् आउँदो  वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत् सेवा प्रदान गर्ने तयारी छ ।

अहिले काठमाडौं महानगरलगायत देशको सबै पालिकाहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । काठमाडौं महानगरले आफ्नो नीति तथा कार्यक्रममा नै यो विषय समेटेर आउँदो आर्थिक वर्षदेखि  कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिए ।

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत् प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत् महानगरले खटाएका नर्सले सेवा दिनेछन् ।

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले यो  कार्यक्रम काठमाडौं महानगरको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर काठमाडौं महानगरले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।

यो कार्यक्रमसँगै काठमाडौ महानगरले आउँदो आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । त्यसैगरी प्रविधि र विशेष शिक्षामा गएको वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिइन् ।

शिक्षाको गुणस्तर बढाउने लक्ष्यसहित काठमाडौं महानगरले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रमलाई पनि थप विस्तार गर्ने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको यो कार्यक्रम तलका कक्षामा पनि लगिने छ ।

काठमाडौं महानगरमा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । ५९ माविमध्ये ५६ वटामा मात्र शिक्षामा सीप कार्यक्रम लागू भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved