वामदेव भन्छन्- ‘७० वर्षे उमेरहद हट्यो र मलाई बोलाइयो भने फेरि एमाले फर्किन्छु’

नेपालभ्युज

वामदेव भन्छन्- ‘७० वर्षे उमेरहद हट्यो र मलाई बोलाइयो भने फेरि एमाले फर्किन्छु’

काठमाडौं । नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमले पुन: एमाले फर्किने सङ्केत गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै गौतमले भनेका छन्, “७० वर्षे उमेरहद पूरै हट्यो र मलाई बोलाए भने म पुन: एमाले फर्किन्छु ।”

उनले उमेरहद नेपालको संविधानविपरीत भएको अर्थ्याए । “उमेरहद पूरै हट्नुपर्छ । त्यो मानवताविरोधी छ, नेपालको संविधानविरोधी छ । उमेर भनेको एउटा शारीरिक अवस्था हो । र, शारीरिक अवस्थाको आधारमा तँ पार्टीमा रहन पाउँछन् र तँ पाउँदैन् भन्नू विभेद हो र विभेद गर्नुहुँदैन भन्छ संविधान । त्यसैले यो पूरै हट्नुपर्छ, संविधानविरोधी प्रावधान राखिनुहुन्,” उनले भने ।

आफूलाई रोक्नकै लागि ७० वर्षे उमेर हद ल्याइएको उनले बताएका छन् । उनले त्यतिबेला ‘तपाईंहरू सबै एकदिन ७० वर्ष पुग्नुहुन्छ’ भनेर हिँडेको उनले स्मरण गरे । “मैले त्यतिबेला नराखौँ भनेर भनेँ । साथीहरू मान्नुभएन, त्यसपछि मैले ममात्रै होइन, तपाईंहरू पनि एकदिन ७० वर्ष पुग्नुहुन्छ भनेर भनेको थिएँ । अहिले त्यो अवस्था आइपुग्यो,” उनले भनेका छन् ।

उनी हटाउनेभन्दा पनि केही नेताका लागि निलम्बन मात्रै गरेको र फेरि ब्युँताइने आशङ्का गर्छन् । “यो अहिले हटेको होइन, निलम्बनमात्रै गरिएको हो । यो फेरि ब्युँताइन्छ । केही भर छैन । मैले कमरेड ओलीजीलाई धेरैपटक हटाउँ भनेर भनेको थिएँ । तर मान्नुभएन । यो हट्दैन, अहिलेलाई निलम्बन मात्रै गरिएको हो,” उनी भनेछन् ।

नेता गौतमले आफूलाई एमालेको असाध्यै माया रहेको बताएका छन् । “कमरेड ओलीजीहरू जेलमा रहँदा मैले नै बनाएको पार्टी हो यो । अहिले पनि मलाई यसको माया छ । मेरो सदस्यता त्यहीँ छ,” उनले भनेका छन्, “एमाले मेरै पार्टीजस्तो लाग्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved