नागरिकता विधेयकमा राष्ट्रपतिको आलोचना–‘लेण्डुप दोर्जे’देखि गालाको ‘थप्पड’सम्म चर्चा

नेपालभ्युज

नागरिकता विधेयकमा राष्ट्रपतिको आलोचना–‘लेण्डुप दोर्जे’देखि गालाको ‘थप्पड’सम्म चर्चा

काठमाडौं। आफ्नो जीवनको अधिकतम समय भारतीय चलचित्र उद्योगमा बिताएकी नायीका मनीषा कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक जारी गरेपछि सञ्जालमा आक्रोश पोखेकी छिन्।

नेपाली कांग्रेसका नेता स्व.बीपी कोइरालाकी नातिनी मनीषा पछिल्लो समय राजावादीहरूसँग ‘राजा फर्काउने अभियान’मा सक्रिय छिन्। उनका हजुरबुबा बीपी कोइराला र सानो हजुरबुबा स्व.गिरिजाप्रसाद कोइराला मात्रै होइन उनका बुबा प्रकाश कोइरालाका समेत निकट रहेका हालका राष्ट्रपति पौडेललाई मनीषाले भने ‘लेण्डुप दोर्जे’सँग दाँजेकी छिन्।

लेण्डुप दोर्जे तिनै व्यक्ति हुन् जसले आफू पदमा हुँदा मध्यरातमा सिक्किमलाई भारतमा विलय गराएका थिए। आज पनि लेण्डुपको कुरा नेपाली राजनीतिमा आइरहन्छ। तर, मनीषाले राष्ट्रपति रामचन्द्र पौडेललाई नयाँ लेन्डुप दोर्जेको संज्ञा दिनुको कारण बुधबार क्षणभरमै नागरिकता विधेयक प्रमाणीकरण गर्नु हो।

मनीषाले आफ्नो ट्विटरमा लेखेकीछिन्–‘उहाँ (रामचन्द्र पौडेल)लाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेण्डुप दोर्जेको याद आयो ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा निस्कनु केही घण्टा अगाडि विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बुधबार दिनभर सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना भएको छ । भ्रमणमा अरु केही नयाँ सहमति गर्न नसक्ने अवस्था देखेर भारतलाई रिझाउन प्रधानमन्त्रीले यसो गरेको आरोप छ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक सम्म फिर्ता पठाएको यो विधेयक हालका राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमोर्चाका नेताहरूले सामाजिक सञ्जालमा लेखेर विरोध गरेका छन् । रास्वपा सभापति एवं सांसद रवि लामिछानेले विधेयकबारे लेखेका छन्–,‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरा नै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमाविपरीत , लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको भारत भ्रमणको केही घण्टाअघि मात्र नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई दक्षिणको दबाब होइन भनेर कसरी भन्ने ? भनेर प्रश्न उठाएका छन्। त्यसैगरी, ओलीका सञ्चारटिममै रहेका रामशरण बजगाईंले लेखेका छन्–,‘प्रधानमन्त्रीको सिफारिसमा, प्रधानमन्त्रीको भारत भ्रमणको दिन बिहानै भारतलाई उपहार प्रदान । राष्ट्रपतिबाट प्रमाणिकरण । सञ्चार माध्यममा सरल समाचार छन् । व्यङ्ग्य कविहरूले खुसीमा पूराना राष्ट्रपतिलाई गाली गरेर वर्तमानलाई धन्यवाद कविता लेख्नै बाँकी छ । गठबन्धन विरादरीलाई अगाडि सारेर देश कसले चलाउँछ ? भारतले ? तिनका अनुचर आलोचनात्मक चेतवाला कविहरूले ? यस्तोमा कतै प्रतिगमन हुँदैन ? नयाँ चुनाव घोषणालाई प्रतिगमनको बिल्ला भिराएर तिमीले संविधानमाथि मनपरी गर्न पाउने ?’ भनेका छन्।

कतिपयले राष्ट्रपतिलाई २०५१ सालमा सभामुख हुँदा तत्कालीन एमाले सांसद गोल्छे सार्कीले गालामा थप्पड हानेको विषय समेत उठाएर व्यंग्य गरेका छन्। रमेश कँडेलले ट्विटरमा लेखेका छन्–‘गोल्छे सार्कीले किन थप्पड हान्याथे भन्ने बल्ल बुझ्नुभो होला नि ? नबुझ्नुभएको भए अब बुझ्नुस् ।’

त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापाको पनि यसको विरोध गर्दै लेखेका छन्–‘प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो । राष्ट्रहितविपरीत ठहर गरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो । राष्ट्रप्रति बेइमानी हो।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved