प्रधानमन्त्रीले इपीजी प्रतिवेदन कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्छः शंकर पोखरेल

नेपालभ्युज

प्रधानमन्त्रीले इपीजी प्रतिवेदन कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्छः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरी त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

इपीजी प्रतिवेदन नेपाल–भारत सम्बन्धको नयाँ आधार–पत्र भएको उल्लेख गर्दै उनले सो प्रतिवेदनलाई बुझ्ने र कार्यान्वयनमा लैजाने कुरालाई प्रधानमन्त्री दाहालले भारतसँग विशेष जोड दिएर छलफल गर्नुपर्ने बताए । महासचिव पोखरेलले भारतले सो प्रतिवेदन नबुझेकै कारण दुई मुलुकबीचको समस्या कायमै रहेको तर्क समेत गरे। उनले भारतलाई नै सो प्रतिवेदन बुझ्न लगाउनु नेपालको राष्ट्रिय हितमा हुनेतर्फ पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।

‘सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्नेलगायतका विषयमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला कुरा उठाइयो । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली रहेका बखत संयुक्त कार्यदल नै बन्यो’, उनले भने, ‘त्यसले नेपाल–भारत सम्बन्धका बारेमा अध्ययन गरिकन रिर्पोट बनाउने काम भएको छ ।  त्यो चिज ग्रहण गर्न जति विलम्ब गर्छौ, सम्बन्धमा समस्या रहिरहन्छ । त्यसअर्थमा इपिजीको प्रतिवेदन बुझने र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको तर्फबाट चाँही विशेष जोड हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।’

उनले चुरे क्षेत्रबाट निर्माण सामग्री भारत निर्यात गर्ने काम नगर्न तथा भूकम्पपछि भारतसँग सम्झौंता गरिएका पुनर्निर्माणका कामहरु सम्पन्न गराउने विषयमा पनि भारतसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै सिमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको भूमि डुबान हुने, ठूलो धनजनको क्षति हुने भएकाले सीमा क्षेत्रमा बाँध नबाध्नका लागि आग्रह गर्नुपर्ने बताए । भारतले बाँध बाँधेकै कारण नेपालमा ठूलो जनधनको क्षति हुने, डुबान हुने भएकाले त्यसलाई रोक्नका लागि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग अनौपचारिक भएपनि कुरा राख्नुपर्ने उनको भनाई थियो ।

सिमाविद् श्रेष्ठले नेपालको सिमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री दाहालले कुरा गर्छन भनेर आफूले विश्वास नगरेको पनि बताए ।  ‘अनौपचारिक रुपमा भएपनि सिमा क्षेत्रमा भारतले बनाएको बाँधले नेपाली भूभाग डुबानमा परेको छ । मान्छे मरेका छन’ उनले भने, ‘अब बाँधहरु निर्माण नगर्न भनेर नेपाली जनताको सन्देशको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न सक्नु पर्दछ ।’

सिमाविद् श्रेष्ठले भारतको हेपाहा प्रवृत्ति अझै पनि पुरानै शैलीको रहेको र त्यसमा परिवर्तन ल्याउनका लागि नेपालले राष्ट्रिय सहमतीका साथ अघि बढनुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved