प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खदिलो ढंगले उत्तर दिनुभयोः सांसद सापकोटा

नेपालभ्युज

प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खदिलो ढंगले उत्तर दिनुभयोः सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर जीवन्त भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्रीले सांसदहरुसँग गरेको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गरेका हुन्।

उनले प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रमहरुलाई समेटेर खदिलो ढंगले प्रश्नको उत्तर दिएको बताए । प्रश्नोत्तरलाई नियमित र प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।

‘जीवन्त जस्तो नै लाग्यो । प्रधानमन्त्रीले पूर्वतयारी र लेखेर ल्याएको कुरालाई मात्रै राख्नुभएको थिएन । आएका र आज बिहानसम्मका घटनाक्रमलाई समेत समेटेर अधिकतम खदिलो ढंगले प्रश्नको उत्तर दिनुभएको थियो’ उनले भने, ‘त्यसरी हेर्दा  मलाई लाग्छ यो जीवन्त जस्तो र यसलाई नियमित र प्रभावकारी बनाउनु नै उत्तम हुन्छ जस्तो लाग्छ । पहिले प्रश्न दिनुपर्ने मोडेल नै ठिक लाग्यो । तथ्य तथ्यांकमा पूर्व तयारी गरेर आउनेहुन्छ ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफुले पहिलो नम्बरमा प्रश्न दर्ता गराएको भएपनि पछाडी पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको बताए । उनले काँग्रेस र एमालेका धेरै सांसदहरुले बोल्नु आवश्यक नभएको बताए।

उनले भने, ‘एक नम्बरमा प्रश्न दर्ता गरेपनि तर ठूला पार्टी जहिलेपनि हेप्ने । स्वतन्त्रलाई बोल्न नदिने । साना पार्टीलाई बोल्न नदिने । आफूलाई नै संसद भवन ठान्ने । संसदमा विचारको प्रतिनिधित्व हुने हो । काँग्रेसको चार जना किन बोल्नुपर्‍यो ? एमालेको तीन जना किन बोल्नुपर्‍यो ? एकजना बोलेपनि विचारको प्रतिनिधित्व हुन्छ नि ।’ उनले प्रश्नोत्तर कार्यक्रम अभ्यासको पहिलो चरणमा भएकाले जति हुनुपर्ने त्यति सन्तोषजनक नभएको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved