‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

नेपालभ्युज

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

काठमाडौं। नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुबिधा सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सोमबार आयोजित कार्यक्रममा नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यससम्बन्धी सम्झौता पत्र आदान-प्रदान गरे ।

सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरिन् । उनले भनिन्, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरूमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्युआर प्रयोग गरेर बिल तिर्न सक्नुहुनेछ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानुपर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’

सो अवसरमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका निवर्तमान सीईओ कृष्ण प्रसाद भण्डारी, सूचना प्रणाली सहयोगी निर्देशनालयका प्रबन्धक शालिकराम सुवेदी र दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख दिनेश चन्द्र पन्थीले सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै सेवाका वारेमा आवश्यक जानकारी प्रदान गरेका थिए ।

हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ । यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गरिने जनाइएको छ ।

कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताहरूले क्युआर मार्फत भुक्तानी गरे वापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved