मोखा चक्रवातको असरले आज र भोलि पानी पर्ने सम्भावना

 आगामी जुन ११ मा नेपालमा मनसुन भित्रिने समयअगावै हुने यस्ता मौमसी प्रणालीले वायुमण्डलमा परिवर्तन ल्याउन सहायक भूमिका निर्वाह गर्छ । बङ्गालको खाडीको जलवाष्पयुक्त वायुले नेपालमा मनसुनी प्रणाली सबल बनाउने गर्छ ।

नेपालभ्युज

मोखा चक्रवातको असरले आज र भोलि पानी पर्ने सम्भावना

काठमाडौं। बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि कतिपय स्थानमा वर्षा सुरु भएको छ भने यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मोखा अति शक्तिशाली चक्रवात का रूपमा परिणत हुँदै उत्तर र उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको छ । जसको सोझो असर बङ्गलादेश र म्यान्मारको तटीय क्षेत्रमा अत्यधिक परेको छ । भारतको पूर्वी क्षेत्र नेपालमा भन्दा अधिक असर परेको छ । बङ्गलादेशमा झन्डै पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

चक्रवातका कारण वायुको बहाव सात माइल प्रतिघण्टाका दरले उत्तरपूर्व सरिरहेको छ । १७० माइल प्रतिघण्टाको उच्च वेगमा यो जमिनतर्फ सोझिएको थियो । जसको प्रभावले १२ फिटमाथिसम्मको आँधी र हावाहुरीको सिर्जना भएको छ । मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “त्यहाँको जस्तो कडा प्रभाव नेपालमा पर्दैन तर बदलीसहित छिटपुटदेखि हल्का वर्षा केही दिन रहने छ ।”

उनका अनुसार उच्च हावाहुरी र जलवाष्पसहित घुमिरहेको ‘मोखा’ चक्रवात  आइतबार जमिनमा झर्न अग्रसर रहेकाले यस क्रममा यसको जलवाष्पको शक्ति नेपालसम्म आइपुगेको हो । नेपालमा पश्चिमी र स्थानीय वायुको चाप पहिल्यै रहेकाले पनि उत्तरपूर्वबाट आइरहेको चक्रवातको वायु कमजोर बनेको हो ।  तीनदेखि चार दिनसम्म हल्का बदली र वर्षा भएपछि नेपालमा चक्रवातको असर साम्य हुनेछ । बुधबारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

चक्रवातले समुद्रको तातो पानीलाई आफ्नो फेरामा बढी लिएको छ । चक्रवात  वैज्ञानिक जेफ मास्टर्सले यसको असरस्वरूप यो विकास भएको र अवसान हुने आसपासका क्षेत्रमा पनि एक सातायता तापक्रम वृद्धि उच्च रहेको छ ।

असामान्य रूपमा यसले ग्रहण गरिरहेको ३१ डिग्री सेल्सियस हाराहारीको तातो पानीको वाफका कारण यसको असर पनि दक्षिणपूर्वी एसियामा अत्यधिक तातो मात्रा बढाउनमै केन्द्रित रहेको अनुमान गरिएको छ । जसको असर नेपालमा थोरै जोडिन्छ ।

चक्रवातको थप असरका विषयमा जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा र मौसम पूर्वानुमान महाशाखा दुवैले अध्ययन गरिरहेको छ । यसले नेपालमा मनसुन भित्र्याउन थप वातावरण बनाउने सम्भावना देखिएको छ ।

आगामी जुन ११ मा नेपालमा मनसुन भित्रिने समयअगावै हुने यस्ता मौमसी प्रणालीले वायुमण्डलमा परिवर्तन ल्याउन सहायक भूमिका निर्वाह गर्छ । बङ्गालको खाडीको जलवाष्पयुक्त वायुले नेपालमा मनसुनी प्रणाली सबल बनाउने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved