सबै खेलाडी आ-आफ्नो कथा लेख्न दृढ छन् : मोन्टी देशाईं

नेपालभ्युज

सबै खेलाडी आ-आफ्नो कथा लेख्न दृढ छन् : मोन्टी देशाईं

काठमाडौं। नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंले सबै खेलाडी आफ्नो र टोलीको लागि कथा लेख्न तयार भएको बताएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेपछिको पत्रकारसँगको कुराकानीमा प्रशिक्षक देशाईंले खेलाडीहरूको दृढताको प्रशंसा गरेका हुन्।

प्रशिक्षक मोन्टी देशाईंले भने, ‘अहिलेको अवस्थामा सबै खेलाडी एक-आपसको सहयोयमा आफ्नो र टोलीको कथा लेख्न दृढरूपमा अगाडि बढिरहेका छन्।’

३ नम्बरमा ब्याटिङको जिम्मेवारी सम्हालेर नेपाललाई जित दिलाएका गुल्सन झाको क्षमताको पनि देशाईंले प्रशंसा गरे। ‘गुल्सनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। उसको तीव्र गतिको बलिङ बारे सबै अवगत छन्। निकै राम्रो रिफ्लेक्ट गर्छन्। सधैँ आफ्नो कम्जोर पाटोलाई पनि सुधार्न अग्रसर छन्।’

उनले गुल्सनले अझै धेरै अवसर पाएर क्षमता वृद्धि गर्ने सोचाइ पनि प्रकट गरे। यस्तै, फाइनल खेलको जितमा उनले टेस्ट खेलको अनुभूति दिउको पनि बताए। उनले भने, ‘हिजो र आज गरी २ दिन खेलिएको फाइनल खेलले टेस्ट म्याचको अनुभूति दियो। हामी अन्तिम विकेट लिने र जति लक्ष्य पाए पनि त्यसलाई पूरा गर्ने योजनामा रहेका थियौँ।’

टोलीसँगै अज्ञात यात्रामा हिँडेको र सो यात्रामा रमाउन खोजी रहेको ‘ह्यापी ड्रेसिङ रुम’को सिद्धान्त आत्मसाथ गर्ने प्रशिक्षक देशाईंले बताए।

नेपाली क्रिकेट टोलीको छविलाई दर्शकको दृष्टिकोणबाट बुझ्न आवश्यक भएको देशाईंको भनाइ रह्यो। उनले भने, ‘जसरी छाता ओडेर १०–१५ मिनेट मात्र नभईं घन्टौंसम्म समर्थकहरू उभिएर बसे, यसले नेपाली क्रिकेट टोलीको छविलाई सरलरूपमा प्रस्तुत गर्दछ। यसले टोलीलाई अपेक्षामा खरो उत्रन थप वातावरण सिर्जना गर्छ।’

यस्तै, उनले सफलता ठूलो हो कि सानोभन्दा पनि टोलीलाई खेल्न, जित्न र रमाउन दिनु नै ठीक भएको बताए। उनले विगत डेढ महिनामा नेपाली खेलाडीले सिकेको पाठको पनि समीक्षा गरे।

देशाईंले भने, ‘विगतको डेढ महिनामा खेलाडीले दबाबमा खेल्ने अनुभव मात्र बटुलेका छैनन्, तर आफ्नो मात्र नभईं राष्ट्रको नै अपेक्षामा कसरी खरो उत्रने भन्ने शिक्षा पनि पाएका छन्।’

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसरलाई टोलीले कसरी सदुपयोग गर्छ भन्नेमा आफू कौतहुल भएको पनि देशाईंले बताए।

उनले भने,‘ भारत र पाकिस्तानजस्ता टेस्ट मान्यता प्राप्त राष्ट्रहरूसँग मैदानमा प्रतिस्पर्धा गर्दा नेपाली टोलीले एक समयमा एक युद्धवाला रणनीतिमा कति अडिग रहन्छ भन्ने पनि पक्ष छ। नेपालले राम्रो खेल प्रदर्शन गरेमा हामीले प्रतिस्पर्धीबाट सम्मानको अपेक्षा गर्न सक्छौँ। यी राष्ट्रसँग बाइल्याटरल सरिज खेल्न पनि ढोका खुल्न सक्छ।’

अन्ततः एसिया कपमा पुगेको नेपालको सफलताले सरोकारवाला, कर्पोरेट हाउस, तथा टेस्ट मान्यताप्राप्त राष्ट्रले पनि नेपालमा क्रिकेट विकासको लागि अग्रसर हुन्छन् भन्ने विश्वास उनले व्यक्त गरे ।

साथै, सो सफलताले खेलाडीको क्षमता अभिवृद्धिको लागि खेलाडी तथा टोलीले विभिन्न अवसर पाउनेमा प्रशिक्षक देशाईंले सकारात्मक भावना व्यक्त गरे। उनले नेपाली क्रिकेटको विकासको लागि ‘ए टोली’ तथा विभिन्न विकास क्याम्पको निर्माण गर्ने पनि योजना रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved