काठमाडौं। एक तोला सिक्रीका लागि कसैले व्यस्त शहरमा दिनदहाडै कसैको हत्या गर्न सक्छ होला ? झट्ट सोच्दा सहज आउने उत्तर हो, ‘अहँ…सक्दैन।’
तपाईंको निष्कर्ष पनि यही हो त ? पख्नुस् एक ‘क्रुर किलर’को इतिवृत्ति पढ्नुस्। झन्डै एक तोला पनि पुगनपुग (एक लाख रुपैयाँ) जति पर्ने सुनको लोभमा मध्य शहरमा दिनदहाडै हत्या भएको छ।
ती क्रुर हत्याका अभियुक्त हुन् झापाका विनोद विक। उनले चावहिल सरस्वती नगरस्थित भाँडा पसल सञ्चालक नीरा पाण्डे आचार्यको हत्या गरेको प्रहरीको निष्कर्ष छ।
सिङ्गो देश मातातीर्थ औंशीको उत्सवमा झुमिरहेको थियो। त्यसमा राजधानी काठमाडौं त अछुतो रहने कुरै भएन। तर, सरस्वतीनगरमा नीरुको हत्याले सन्नाटा छायो। यो घटना ७ वैशाखको हो। देशैभर सनसनी मच्चिरहेको यो घटनाको १० दिनपछि अभियुक्त झापाबाट पक्राउ परे।
लुटपाटकै उद्देश्यले हत्या गरेको उनले अभियुक्त विनोद विकले स्वीकार गरेका छन्। उनले नीराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११–१२ हजार रुपैयाँ लुटपाट गरेको बताएको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ।
विकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ। निराको हत्याअघि विकले उक्त पसल हेरेर फर्किएको र दोस्रोपटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ।
नीरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्त
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए।
उनले भाँडा पसलमा भाँडा किन्ने बहानामा सिक्री लुट्न खोजेका थिए। नीरुले प्रतिकार गरेपछि मुख थुनेर लडाएको र पसलकै चक्कुले हानेर मारेको प्रहरीको दाबी छ।
‘‘झापामा हुँदा उनको क्यासिनो खेल्ने लत रहेछ। ऋण लिएर क्यासिनो खोल्दा हारेछन्। तीन लाख रुपैयाँ जति ऋण रहेछ। त्यो तिर्नको लागि आयस्रोत भएनछ। काठमाडौंमा बाउन्सर काम गरेर पनि पैसा नपुगेपछि सुन लुटेर पैसा कमाउने सोच बनाएछन्’’ एसएसपी दिनेश आचार्यले भने। आरोपीको घरमा श्रीमती भएर पनि बाहिर अफेयर चलेको र लुटपाट कार्यमा समेत संलग्न हुँदै आएको प्रहरीको अनुमान छ ।
एसएसपी आचार्यले थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्ने बताए। नीराको परिवारसँग र अभियुक्तबीच यसअघि सम्पर्क नभएको पाइएको पनि प्रहरीले बताएको छ।
सीआईवीको पत्रकार सम्मेलनमा एआईजी किरण बज्राचार्य र पछाडि स्क्रिनमा अभियुक्तको सीसीटीभी फुटेज
७ गते दिउँसो साढे २ बजे हत्या गरेर विनोद विक ट्याम्पो चढेर एसी कम्प्लेक्स चावहिल गए। त्यहाँबाट भाडाको मोटरसाइकलमा जडीबुटी पुगे। फेरि फर्केर माछापोखरी पर हिलेटोलमा रहेको पाथीभरा सुनचाँदी पसलमा सुनको सिक्री धितो राखेर ५५ हजार रुपैयाँ नगद लिए।
विनोद रसाइलीको नाममा धरौटी राखेका थिए। त्यसको केही दिनमा १३ वैशाखमा उनी भागेर उनी झापा पुगे। उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरी अनुसन्धानका लागि म्याद लिएको छ।
पक्राउ परेका विक यसअघि काठमाडौंमा एक रेस्टुरेन्टमा बाउन्सरका रूपमा कार्यरत व्यक्ति हुन्। एक सातासम्म पनि घटनाबारे कुनै पत्ता नलागेपछि हत्या अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो। नीराको शव हाल त्रिवि अस्पतालमै राखिएको छ। हत्यारा सार्वजनिक नभएसम्म दाहसंस्कार नगर्ने भन्दै नीराका आफन्त आन्दोलनरत छन्।
Facebook Comment
Comment