बुद्ध एअरले ७२ जना यात्रुलाई ४२ सिटे जहाजमा उडाउन खोजेपछि (भिडिओ)

७२ यात्रु बोक्न ४२ सिटे जहाज ल्याइएको यात्रुलाई थाहा नहुने कुनै भएन। ‘‘४२ जना यात्रुलाई त जहाजमा ठाउँ छ, बाँकी ३० जनालाई कहाँ राख्ने?’’ यात्रुहरू कराए।

नेपालभ्युज

बुद्ध एअरले ७२ जना यात्रुलाई ४२ सिटे जहाजमा उडाउन खोजेपछि (भिडिओ)

काठमाडौं। ‘‘ए सर ! यो त एटिआर ७२ को प्यासेन्जर स्लिप पो रहेछ। एटिआर ४२ मा कसरी लाने ?’’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ साँढे ५ बजे यात्रुलाई बोडिङ गर्दैगर्दा एअर होस्टेसले ग्राउन्ड इन्चार्जलाई भनिन्।

‘‘ए ला ! बर्बादै भएछ नि, काठमाडौंबाट ७२ वाला जहाज आउनुपर्ने, ४२ पो आएछ, अब के गर्ने होला?’’ ग्राउन्ड इन्चार्ज अलमलिए।

टिकट काटेका ७२ जना यात्रुलाई काठमाडौं उडानका लागि सुरक्षा जाँच सकेर बसमार्फत धावनमार्गमा ल्याइसकिएको थियो। उड्ने रन वे मै तयार रहेको ‘नाइन वान- एआइएन’ कल साइनको एटिआर ४२ जहाजभित्र छिराइँदै गरेका यात्रुलाई रोकियो। त्यतिबेलासम्म प्रवेश भइसकेका यात्रुहरूलाई भने जहाज भित्रै राखियो।

दिउँसो २ बजेर २० मिनेटको उडान तालिका रहेको उडान नम्बर यू ४६५४ का यात्रुहरू साढे तीन घण्टा कुरेर काठमाडौं उड्न पालो पर्खिरहेका थिए। तर, जहाजको भर्‍याङबाटै तल झारिएपछि यात्रुहरूले कारण माग गरे। तर, बुद्ध एयरका ग्राउन्डका कर्मचारीले ‘आकाशमा जहाज होल्ड भएको र विमान भित्र बस्न केही समय पर्खन’ भने।

तर, यात्रुले बुद्ध एअरका ती कर्मचारीका कुरा पत्याएनन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तुवाँलोले आकाश ढाकेर भिजिबिलिटी कम जहाज अवतरण हुन सहज छैन। भिजिबिलिटी बढेपछि बिहीबार दिउँसो ३ बजेपछि मात्रै विमानस्थल खुल्यो।

विमानस्थल खुलेपछि आफ्नो उडानको पालो कुर्दाकुर्दै वाक्क भएका यात्रुहरूले बुद्ध एअरका कर्मचारीको गडबडीले आफूहरूले थप समय पर्खनुपर्ने अवस्था आएपछि गाली समेत गरे।

सानो क्षमताको जहाज आएपछि अर्को जहाज नआउन्जेलसम्म पोखरा विमानस्थलको धावनमार्गमै आधा घण्टासम्म पर्खँदै यात्रुहरू

७२ यात्रु बोक्न त्रुटिबस ४२ सिटे जहाज ल्याइएको यात्रुलाई थाहा नहुने कुनै भएन। ‘‘४२ जना यात्रुलाई त जहाजमा ठाउँ छ, बाँकी ३० जनालाई कहाँ राख्ने?’’ यात्रुहरू कराए।

बुद्धका जहाजहरू दिनभर व्यस्त हुने भएकाले काठमाडौंबाट पोखरा लगेपछि मात्र यात्रु बोकेर ल्याउने गर्छ। तर, पोखरा स्टेसनमा काम गर्ने र काठमाडौंमा काम गर्ने कर्मचारीबीचको समन्वय अभावले सानो जहाज आएछ। बुद्धका कर्मचारीले बाँकी यात्रुलाई अर्को पछिल्लो फ्लाइटमा मर्ज गरेर लैजाने बताए।

तर, यात्रुहरूले सबैसँगै जान पाउनुपर्ने माग राखे। यात्रुहरूले हतार गर्नुमा कति बेला भिजिबिलिटी कम हुन्छ र जहाज उड्दैन की भन्ने डर थियो। किनकि धेरैजसो यात्रु दिनभर उडानको लागि कुरेका थिए। कतिपयले २ दिनदेखि टिकट सारिरहेका थिए।

यसरी यात्रु र बुद्धका कर्मचारीबीचको विवाद केही समय जारी रह्यो। आधा घण्टापछि बुद्ध एअरको अर्को जहाज पोखरा आइपुग्यो। त्यसपछि ४२ सिट नम्बर सम्मका यात्रुलाई सोही जहाजमा र त्यसपछि सिट नम्बरपछिका यात्रुलाई पछिल्लो फ्लाइटमा मर्ज गरेर काठमाडौं ल्याइयो।

यतिसम्मकी बुद्ध एयरका कर्मचारीले यात्रुलाई हवाई उड्डयन सुरक्षा नियमावली विपरीत धावनमार्गमै आधाघन्टा जति यात्रुलाई उभ्याएरै राख्यो। जहाँ कर्मचारीले परिचयपत्र र ज्याकेट लगाएर जान पाउँछन्। यात्रुहरू भने बसमा चढेर जाने र विमान चढिहाल्ने र झरेपछि बसमा आइहाल्ने नियम छ। २ महिनाअघि वायु सेवा निगमकै महाप्रबन्धक ज्याकेट नलगाई धावनमार्गमा गएको भन्दै नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved