सन्तोष चालिसेले सुनाए प्रस्ताव- गुह्येश्वरीदेखि तिलगङ्गासम्म सुरुङमार्ग बनाउन सकिन्छ

नेपालभ्युज

सन्तोष चालिसेले सुनाए प्रस्ताव- गुह्येश्वरीदेखि तिलगङ्गासम्म सुरुङमार्ग बनाउन सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले गुह्येश्वरीदेखि तिलगङ्गासम्म सुरुङमार्ग बनाउन सकिने प्रस्ताव सुनाएका छन् । मङ्गलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै चालिसेले यस्तो प्रस्ताव सुनाएका हुन् ।

“गुह्येश्वरीदेखि तिलगङ्गासम्म पहिले बाटो थियो, सहज थियो । अहिले विश्व सम्पदामा परेको भन्दै त्यसलाई रोकिएको छ । त्यसका कारण नागरिकले सास्ती भोग्नुपरेको छ । त्यहाँ धेरै विकल्पहरू छन्, त्यहाँ सुरुङमार्ग नै पनि बनाउन सकिन्छ,” चालिसेले भनेका छन् ।

त्यसअघि उनले भनेका छन्, ‘काठमाडौंको पूर्व भेगमा यातायातको चाप यत्तिसम्म बढेको छ कि, बिरामीदेखि विद्यार्थीलगायतको सवारी चाप बढेकै कारण कष्टप्रद यात्रा गरिरहनुपरेको छ । सिन्धुपाल्चोकदेखि साँखु, जोरपाटी, चाबहिल हुँदै यात्रा गर्नेहरूको यात्रा त्यो बाटो खुल्ला हुँदासम्म ठिकै थियो । त्यसले चाप हदसम्म घटाएको थियो । अब पुन: यसको सञ्चालन गर्नुपर्ने भएको छ । अब त्यसमा सुरुङमार्गको रूप दिन पनि सकिन्छ ।’

उनले सरकारले यतातर्फ ध्यान दिनुपर्ने बताए । “सरकारको ध्यान यतातिर छैन । त्यहाँ एयरपोर्टको पश्चिम कुनाबाट छोटैरूपमा सडक खोल्न पनि सकिन्छ । सडक सञ्चालन नहुँदा दैनिकरूपमा दु:ख पाउने भनेकोचाहिँ नागरिकहरू नै हुन्,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved