ग्राउन्ड जिरो– तनहुँ १

नेता घुमीफिरी आइपुगे, जनताका दुःख उस्तै

‘चुनावका बेला नेता आउँछन्, त्यसपछि कोही फर्केर आउँदैनन्। अनि किन भोट हाल्ने ? फेरि मल बिउ र पानी पनि पाएका छैनौँ।’

नेता घुमीफिरी आइपुगे, जनताका दुःख उस्तै

ब्यास। तनहुँको डुम्रेबाट १२ किलोमिटर माथि गएपछि पुगिन्छ तुरतुरे बजार । विस्तार हुँदै गरेको गल्ठ्याङमल्ठ्याङ  बाटोबाट लमजुङ  जानेबाटोतर्फ उकालो आधाघन्टा चढेपछि सानो बजार भेटिन्छ। त्यहाँ पारी गोरखा पालुङटारदेखिका मानिसहरू किनमेल गर्न आउँछन्।

हामी त्यहाँ ठाउँमा पुग्दा घरदैलो सुरु गरेका नेताहरूका गाडी हुइँकिँदै थिए, उम्मेदवारहरू घर-घरमा पुगेर भोट माग्न व्यस्त।

त्यहाँ सामान किन्न आएकी शकुन्तला अधिकारीलाई हामीले प्रश्न सोध्यौ, उम्मेदवारबाट के चाहनुहुन्छ ?
उनले उल्टै हामीसँग सोधिन् ‘‘यसपटक के मागौँ, के हामीले चाहेको कुरा उनीहरूले दिन्छन् जस्तो लाग्छ तपाईंलाई ? चुनावका बेला नेता आउँछन्, त्यसपछि कोही फर्केर आउँदैनन्।’’


अहिलेसम्म आफूले जिताएर पठाएका नेताहरूले आफ्ना लागि काम नगरेकाले उनलाई आफ्नो रोजाइ नै गलत पर्‍यो कि भन्ने लागेको रहेछ। त्यसैले भोट हाल्नुपर्छ भन्नेमा दृढ रहे पनि उनी कसलाई भोट हालौँ भन्नेमा चाहिँ द्विविधामा रहिछिन्।

चुनावका बेला मात्रै झुल्किने नेताहरूलाई भोट नै दिएर पनि केही अर्थ छैन भन्ने उनलाई लागेको छ। त्यसैले, उनी यसपालि जनताप्रति प्रतिबद्ध नेता छान्ने सोचमा छिन्। तर, उठेका उम्मेदवार कुनै त्यस्ता छैनन्, जो शकुन्तलाको नजरमा साँच्चिकै जनताका लागि काम गरेका होउन्।

घण्टी ध्वनिको इपिसेन्टर चितवन, परकम्प तनहुँ-१ गोविन्दलाई स्वर्णिमको डर, खनाललाई जोशीको भर

उनको जस्तै द्विविधा त्यही पसलमा सामान किन्न आएकी शकुन्तला दवाडीको पनि पाइयो। आफूहरूले जिताएर पठाएका नेताहरू काठमाडौंमा ऐस–आराममा अलमलिएको भन्दै उनी पनि आक्रोशित देखिइन्। ‘‘भोट किन दिने ? जो आउँछन् जितेर जान्छन् ।

हाम्रो अवस्था के हो बुझ्न आउँदैनन्। खाने पानी छैन। मल बिउ पाएका छैनौँ’’ उनले भनिन्, ‘‘यहाँ को नेता आउनु, सहरमै बस्छन् । हाम्रो दुःख कसले देख्छ ? बाटोको हालत यस्तो छ, खेत पानी नभएर बाँझै छन्, वर्षामा जिनतिन बाली लगाइन्छ, त्यसपछि बाँझै।’’

उनको गुनासो त्यतिमै सीमित रहेन। बाटोघाटो नबनेकोप्रति आक्रोश साँधिन्।

तुरतुरेका सुरेश श्रेष्ठले जितेर गएपछि वास्तै नगर्ने नेताहरूबारे केही भन्न नचाहने बताउँछन्। पसल गरेर बसिरहेका उनको भोट माग्न नेताहरूका गाडी यताउता दौडिरहँदा रिसको पारो तात्छ। उनले भने, ‘‘फेरि नेताहरू आउन थालेका छन्। अहिले मात्र हो आउने। चुनाव जितेपछि कहाँ भेटिन्छन्।’’

तुरतुरे पुगेर केही नेताहरू भोट मागिरहेका थिए। जुन बाटो हिँडेर भोट मागिरहेका थिए, त्यही बाटोले उनीहरूलाई गिज्याइरहेको थियो। किनकि, लामो समयदेखि दमौलीदेखि तुरतुरे हुँदै जाने बाटो लामो समयदेखि बनेको छैन।

चितवनमा ‘रवि मोह’, तर अघिल्लो चुनावको मत जोगाउन चुनौती

उम्मेदवारबिना भोट माग्न आएका कांग्रेसमा केही नेतालाई तुरतुरकेका रमजन मियाले भने, ‘‘बाटो यस्तो छ, नेताज्यू फेरि भोट माग्न आउनुभएको छ।’’

यसपालि सबै दलका नेताहरू फर्किएर आउँछन् फेरि भन्नेमा तुरतरेबासीहरू ढुक्क छन्। भोट मागेपछि फेरि अर्को चुनाव नभएसम्म उनीहरू नआउने पनि उनीहरूलाई थाहा छ। रञ्जन श्रेष्ठले भने, ‘‘अब हामीलाई उनीहरूको आश्वासनमा विश्वास छैन। तर, जे भने पनि सुन्दिनै पर्‍यो ।’’

वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ मा ९ जनाले उम्मेदवारी दर्ता गराए पनि कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका भट्टराई मत संरक्षण गर्दै विरासत जोगाउने रणनीतिमा छन् । रास्वपाका डा. वाग्ले र एमालेका खनाल विरासत भत्काएर जित निकाल्न दाउमा देखिन्छन् ।

तनहुँ १ मा आँबुखैरेनी, देवघाट र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन्। यस क्षेत्रमा अहिले चुनावी माहौल तातेका छन्।

मंसिर ४ को निर्वाचनबाट चुनिएका प्रतिनिधि (रामचन्द्र पौडेल) मुलुकको राष्ट्रपति बनेपछि सो ठाउँमा पुन चुनाव हुन लागेको हो। मंसिर ४ मा तनहुँ–१ मा ६८ हजार १ सय ५८ मत खसेको थियो।

तनहुँ जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरि ढकालका अनुसार आगामी वैशाख १० गतेको उपचुनावमा लागि १ लाख २३ हजार ३ सय ५ मतदाता छन्। ६९ मतदानस्थल तथा १५२ मतदान केन्द्र तोकिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved