ग्राउन्ड जिरो– चितवन २ :

चितवनमा ‘रवि मोह’, तर अघिल्लो चुनावको मत जोगाउन चुनौती

३५ डिग्री सेल्सियस तापक्रम रहेको भरतपुरमा उपनिर्वाचनको माहोल त्योभन्दा कम तापक्रमको छैन । रवि लामिछानेले विगतमा पाएको मत यसपटक जोगाउन सक्लान ? कांग्रेस र एमालेको अवस्था कस्तो छ ? चितवन-२ मा उपनिर्वाचनको माहोलबारे स्थलगत रिपोर्ट ।

चितवनमा ‘रवि मोह’, तर अघिल्लो चुनावको मत जोगाउन चुनौती

भरतपुर । शनिवार साँझ ६ बजे चितवनको भरतपुर ७ स्थित ‘गौतम चोक’ पुग्दा राजनीतिक बहस गरमागरम ढङ्गले चलिरहेको थियो। ३५ डिग्री सेल्सियस तापक्रम रहेको भरतपुरमा उपनिर्वाचनको माहोल त्योभन्दा कम तापक्रमको थिएन।

स्थानीयकाअनुसार भरतपुर ७ र २ को सीमामा रहेको सो ठाउँमा हाटबजार लाग्ने गर्छ । शनिवार भएकाले होला, भीड बाक्लै थियो। हाटबजारमा स्थानीयले विभिन्न सामग्री बेच्न राखेका थिए। सरसामान किन्न आउने थलो र चिया पिउने ‘जक्सन’ भएका कारण त्यहाँ बिहानदेखि बेलुकासम्मै राजनीतिक कुराकानी चल्ने रहेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ टेप काण्डबारेको चर्चा पनि सेलाएको रहेनछ। सोही पार्टीका सभापति रवि लामिछाने उम्मेदवार भएकाले पनि होला त्यसको चर्चा जारी रहनु अस्वाभाविक थिएन।

हुन पनि उपनिर्वाचनमा चुनावी दौडका बलिया उम्मेदवार मानिएका छन्, रवि लामिछाने। केहीले भने टेलिभिजनको पर्दामा देखेकै भरमा मूल्याङ्कन गर्दै राजनीतिमा रविको आगमनले भ्रष्टाचारी, भष्मासुरको सर्वनाश गरिदिने भनी अर्थ्याए।

भरतपुर ७ स्थित गौतम चोक

केहीले भने २ करोड काण्डमा रवि आफैँले पैसा माग्न लगाएको समेत लख काटे। झमक्कै साँझ पर्नै लागेको थियो। हाटबजार चोकका किनमेल गर्न आउनेको भीड, चिया पसल, खुद्रा किराना पसलभरि मान्छे आ-आफ्ना गफ र किनमेलमा व्यस्त थिए।

हाटबजार लागेको ठाउँ पारीपट्टी मानिसहरू भेला हुँदै थिए। एकछिनमा मेनरोडतर्फबाट चर्को ध्वनिमा गीत बजाउँदै तीन चारवटा गाडी लस्करै आयो। चुनावी सभा गर्नको उनै रवि आएका रहेछन्। रविको आगमनसँगै दर्शकको एउटा नयाँ भीडको अर्को हाटबजार सिर्जना हुन गयो। हाटबजारकै सामुन्ने चुनावलक्षित रास्वपाको कोणसभा सुरू भयो। भीडको बीचमा रहेको माइक्रोको छतमा चढेर भाषण गरिरहेका वक्ताले मन्तव्यको लागि रविलाई बोलाए।

गौतम चोकमा चुनावी चर्चा गर्दै स्थानीय

रवि दर्शकलाई सम्बोधन गर्न स्टेजमा जान लाग्दा बाटोमै छेकेर सेल्फी खिच्न चाहने, अनि टिकटक बनाउनेका लागि निर्विकल्प छनोट देखिए रवि। उनीहरूले रोकिहाले। त्यो भीड छिचोल्दै अघि बढ्दा बूढापाका उनलाई अङ्कमाल गर्न आइहाल्थे। ज्येष्ठ नागरिक भेट हुँदा आफ्नो शिर झुकाउँदै उनीहरूको हातमाथि राखेर आशीर्वाद माग्थे। त्यो दृश्यले प्रष्ट देखाउँथ्यो चितवनका वासिन्दाको रवि मोह।

जब रवि माइक्रोको छतमाथि चढेर माइक समाते, तब तलका दर्शकहरूले आफ्नो मोबाइल ठड्याएर भाषण रेकर्ड गर्न थाले। ‘‘नमस्ते चितवन, एकको बदला तीन’’ भासिएको स्वरमा उनले अभिवादन गरे। शनिवार मात्रै चार/पाँच ठाउँको कार्यक्रम थियो। सबै ठाउँमा भाषण गर्दा उनको घाँटी नै बसेछ क्यार।

भरतपुर-७ स्थित गौतम चोकमा रास्वापाको चुनावी कोणसभा

रविको शैली अरू दलका उम्मेदवारको जस्तो थिएन। भाषण एकदमै छरितो, छोटो। उनको कार्यक्रममा न लम्बेतान भाषण, न धेरै वक्ता। केवल उनी मात्रै बोल्छन्। उनले बोलीमा, शारीरिक हाउभाउमा अनि समग्र प्रस्तुतिमा आफूलाई सक्दो राजनीतिक, अनि व्यवहारिक देखाउन खोज्छन्। त्यसैमाथि, सेन्टिमेन्ट बटुल्दै भाषण गर्ने शैलीले मतदातालाई मजैले छोएको देखियो।

‘‘तपाईं र मेरो नाता टेलिभिजनमा कार्यक्रम चलाउने प्रस्तोता र दर्शकको थियो। म आज तपाईंकै क्षेत्रमा चुनाव लड्न आइपुगेको छु। मलाई के ले यहीँ तान्यो होला ? जब म हिरासत परेको भोलिपल्ट प्रहरी कार्यालयबाहिर ठूलो नाराबाजी भएको सुनेँ। लाग्यो मेरोविरुद्ध ठूलो आन्दोलन हुँदैछ।

मेरो नजिक एकजना प्रहरी भाइ आएर भन्यो— ‘दाइ तपाईंको समर्थनमा ठूलो जुलुस आएर प्रहरी कार्यालय घेराउ गरिसक्यो। त्यो सुनेर म हिरासतमै रोएँ। म तपाईंहरूको सहानुभूतिको ऋणी त्यतिबेलाबाटै भएको थिएँ ।’ मतदाताको साइकोलोजी ह्याक गर्न रविले ट्रिक लगाए।

रास्वापाको चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार रवि लामिछाने

भदौ २०७६ मा शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासत पर्दाको प्रसङ्ग जोड्दै रविले भाषण गरे। आफ्नो उपस्थितिलाई रविले अझै ओजिलो बनाउन सम्पूर्ण मिहिनेत लगाए। उनले भने, ‘‘त्यो बेलामा तपाईंले मलाई बचाएको होइन, देशको भविष्य बचाएको हो ।’’

परर ताली र चर्को हुटिङ आइरह्यो । सत्तामा हुँदा भएका विवाद ढाकछोपदेखि अनेक आलोचित विषयलाई उनले एकैछिनको मीठो बोलीमा विषयान्तर गरिदिए । ‘म भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारमा गएको थिएँ तर, सरकार गएपछि प्रधानमन्त्रीले मानेनन् । त्यसपछि हामी सरकारबाट बाहिरियौँ। अब हामी आफैँ सरकार बनाउँछौँ र भ्रष्टाचारको फाइल खोल्छौँ ।’

अब त तालीको कुनै सीमारेखा नै थिएन। रविलाई नै बोल्न रोक्ने गरी दर्शक दीर्घाबाट ताली परर बज्यो। रवि बोल्दै गए, ‘बालबच्चा बढाउन गुणस्तरीय शिक्षा छैन, उपचार गर्न घरबारी बेच्नुपर्छ। पुराना दलका नेताहरू बिचौलियाको साथमा छन्। उनीहरू आफैँ बिचौलिया बनेका छन्। हामीले चुनाव जितेमा जनताले धेरै राहत पाउनेछन्। सबै कुरा निःशुल्क पाउनेछन् ।’ यसमा पनि ताली नै ताली।

रास्वापाको चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार रवि लामिछाने

झन्डै २० मिनेट लामो समय बोलिसकेपछि रविले टुङ्ग्याउने सुर कसे, ‘मैले अदालतबाट मुद्दा हारेको हुँ। जनताको अदालतबाट होइन। तपाईंको आशीर्वाद रहेसम्म यो शिर कसैको सामु झुक्न दिनेछैन। फेरि तपाईंहरूको जनअदालतले भारी मतान्तरले जिताउनुहुनेछ भन्ने विश्वास छ ।’

र, यो पनि भन्न छुटाएनन्, ‘वैशाख १० को दिन ।’ दर्शकदीर्घाले उनको वाक्य पूरा गरिदिए — एकको बदला तीन। रविको दोहोरो पासपोर्ट काण्डमा उनको पद गएको थियो। यसकारण अहिले अरू कारणले रिक्त ठाउँमा समेत आफ्ना दलका नेतालाई जिताउन भन्दै रास्वपा यो नारा खुब चर्चित बनाएको पाइयो।

चितवनमा रवि मोह

काठमाडौं बसेर सामाजिक सञ्जालको आँखाबाट चितवन हेर्नेहरू भन्थे– “रविलाई यसपाला चुनाव जित्न गाह्रो छ।” उपचुनाव घोषणा भएलगतै धेरैले सञ्जालमा भित्ताहरू यसरी रंग्याइरहँदा रास्वपाकै केही नेताहरूले चितवन रविका लागि चुनौतीपूर्ण हुने आकलन गरेका थिए । ४ मंसिरको चुनावमा अत्याधिकमतान्तरले जिते पनि चुनावपछि रास्वपा सरकारमा गएको र त्यसपछिका अनेक घटनाक्रमले क्रेज घटेको अनुमान थियो।

हुन त, ४ मंसिरको चुनावमा पनि रविका लागि चितवन-२ धेरैले चुनौतीपूर्ण देखेका थिए । तर, स्वयम् रवि आफू भारी तले निर्वाचित हुनेमा पूर्णतः विश्वस्त थिए। चितवन २ बाट रविको उम्मेदवारी त्यसैको परिणाम थियो। अन्तत उनी ३४ हजार मतान्तरसहित निर्वाचित भए। कांग्रेस र एमालेका उम्मेदवारले १४/१४ हजार मतमा चित्त बुझाउँदा रविले ४९ हजार मत ल्याएर विजयको झण्डा फहराएका थिए।


रास्वापाको चुनावी प्रचार गर्दै कार्यकर्ताहरू

अहिले भने उनीहरू रविसँग प्रतिस्पर्धा गर्न आएनन्। कांग्रेस एमालेले फरक नेतालाई उठाएका छन्। रविको प्रतिस्पर्धीका रूपमा कांग्रेसका जीतनारायण श्रेष्ठ भिडिरहेका छन्। चितवन कांग्रेसका पूर्वसभापति रहेका श्रेष्ठ १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। एमालेले यसअघि उठाएका उम्मेदवार कृष्णभक्त पोखरेलको ठाउँमा अर्को उम्मेदवार रामप्रसाद न्यौपानेलाई उठाएको छ।

अरू दलका उम्मेदवार र जिल्लाको परिस्थिति हेर्दा रविले चुनाव जितिसकेका छन्। जनताहरू रविप्रति निकै आशातीत नजरले हेरिरहेको देखिन्छन्। बालकदेखि बृद्धासम्म, किसानदेखि बुद्धिजीवीसम्म, सबै जाति, पेसा र समुदायका मानिसले उनलाई आशाकै नजरले हेरेको देखिन्छ।

सेन्टिमेन्ट क्याच गर्ने कुशल रणनीतिकार

रविले जेसुकै गरे पनि ३२ दिन गृहमन्त्री हुँदा त्यो समय चितवनका जनताले सुशासनको मानक ठानेको देखिन्छ। अरू पुराना दलमा लागेका समर्थकहरूमा समेत मोह भङ्ग भएको देखिन्छ। उनीहरूको आकर्षण रास्वपामा अनपेक्षितरूपमा बढेको देखियो।

चितवन-२ बाटै यसअघि निर्वाचित रविको सांसद पद नागरिकता प्रमाणपत्रका कारण खारेज भएको थियो। अब उपचुनावमा चुनिएरै उनी संसदमा फर्किने धेरैजसो ठाउँका मतदाताको विश्वास छ।

रविप्रतिको आकर्षण केटाकेटीदेखि ज्येष्ठ नागरिकसम्म देखियो। भित्रीरूपमा उनी र अरू दलका नेतामा भिन्नता नभए पनि रविको कुशल रणनीतिको कारण उनीप्रति जनताको आकर्षण बढेको कांग्रेसका एक नेताले बताए ।

उनी भन्छन्, ‘‘हामीले बाहिर भन्न पो भा छैन। रविको क्रेज देखेर हामीलाई ज्यादै लोभ लागेको छ। उनले चाहे सकारात्मक काम गरेका होस्, या भित्र गलत भए पनि बाहरि भ्रम छरेर जनतालाई आफूतिर क्याच गर्न सफल भएका छन्।’’

भरतपुर-७ स्थित गौतम चोकका ज्येष्ठ नागरिक कृष्णराज कँडेल

२०१५ सालमा भएको पहिलो संसदीय चुनावमा समेत मतदान गरेमा ८६ वर्षीय कृष्णराज कँडेलले भने यसपटक मत बदल्ने सुरमा रहेको बताए । शनिबार साँझ भरतपुर ७ गौतमचोकमा भेटिएका कँडेलले आफूले आठैवटा संसदीय चुनावमा भाग लिएको सुनाउँदै भने, पहिलो चुनाव देखिनै कांग्रेसलाई भोट दिँदै आएको थिएँ। कहिले भो घाममा पनि बसियो। अब बुढेसकालमा मन्दिरमा घण्टी बजाउनुपर्ला भन्ने सोचेको छु। रास्वापाको चुनाव चिन्ह घण्टी भएकाले उनले घुमाउरो पारामा उसैको चुनाव चिन्हमा भोट हाल्ने बताए।

भरतपुर १० का ४० वर्षीय विजय परियार पनि देशलाई नयाँ दिशामा लैजानसक्ने क्षमता युवामा मात्रै रहेको बताउँछन्। यही कारण चितवनमा रविको क्रेज बढेको र यसअघि ३४ हजार फराकिलो मतान्तरले जितेको उनको तर्क छ। यसपालि पनि रविकै पक्षमा माहोल रहेको सुनाउँदै विजय भन्छन्, ‘‘उहाँ हाम्रो हुनेवाला सांसद मात्र होइन। देशलाई नै नयाँ दिशामा लैजानसक्ने क्षमता छ। उहाँप्रति धेरै आशा छ। कोही प्रतिस्पर्धी देखिँदैन। पहिलेकोबाट दश/दश हजारको दरले कांग्रेस एमालेलाई गए पनि १४ हजार मतान्तरले भए पनि जित निश्चित छ।’’

भरतपुरका अर्का ज्येष्ठ नागरिक कृष्णलाल सापकोटा पनि यसपटक अवसर पाएकालाई भन्दा नपाएकालाई दिनुपर्ने बताउँछन् । उनको भनाइको आशय भनेको रवि नै देखिन्छन्। किनकि यसभन्दा अघि अरू दलहरू परीक्षण भइसकेका छन्।

गौतम चोकमा लागेको हाटबजारमा सामान बेच्दै

अघिल्लो चुनावको मत जोगाउन चुनौती

अहिले चितवन २ मा मतदाता बढेका छन्। उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४७० थप भई १ लाख २४ हजार ६९५ पुगेका छन्। तर यसपाला रविको सोचे जति बाहिरी हल्ला र आकलन जति भोट नआउने कतिपयको तर्क छ।

रविको पक्षमा माहोल हुँदाहुँदै पनि यसपाला उनले आफ्नो मत भने जोगाउन नसक्ने कतिपयको आकलन छ। पुराना दलको आलोचना गरेर आफू फरक हुने भन्दै जनमत लिए पनि त्यो पुरा नभएको केहीले बताए। रविले पनि सत्तालिप्सा र अवसरवादको संकेत देखाएको भन्दै केही मतदाताले असन्तुष्टि जाहेर गरे।

गौतम चोकमा चुनावी चर्चा गर्दै गरेक दुई युवतीले सुनाए,‘‘अरूको आलोचना गरेर उनीहरूभन्दा फरक हुने भन्दै भोट मागे। तर, उही व्यवहार देखाए। चुनाव जित्न फन्डा गरेको जस्तो भयो। यसकारण रविको धेरै भोट काटिन्छ जस्तो लाग्छ।’’

ती दुई युवतीमध्ये एक थिइन्, सुरक्षा कुमाल, जो चितवन पारी नवलपुरकी हुन्। घर पारी भए पनि चितवन २ मै अस्थायी रूपमा बस्दै आएकी उनले लामो समयदेखि चितवनको राजनीतिलाई नियालेको बताइन्। उनी भन्छिन् , ‘‘हामीले सरसर्ती हेर्दा रविका केही गल्तीले भोट घट्नेवाला छ। ४ मंसिरको चुनावलगतै सरकारमा जान हतारिनु र गृहमन्त्री नभए सरकारमा नजाने अडान राख्नु र त्यसैको लागि सरकार छाड्नुले सत्तालिप्सा देखिएको भन्दै केही मतदाता असन्तुष्ट छन्।’’

भरतपुर-७ मा गौतम चोकमा सुरक्षा कुमाल र सोनी परियार

अघिल्लो चुनावभन्दा धैरै भोट घटे पनि जित्ने सम्भावना भने उनको बलियो रहेको अर्की युवती सोनी परियार बताउँछिन्। उनले भनिन्, ‘‘दोहोरो नागरिकता पासपोर्ट प्रकरणमा दण्डित भएपछि उनको पद गयो। तैपनि, सांसद नभए फेरि गृहमन्त्री खाने मोह त्यागेनन्। मन्त्री बन्न लबिङ गरिरहे। तर, सफल भएनन्। त्यसपछि उनको पार्टीले सरकार नै छोड्नुपर्ने अवस्था आयो। उनको यस्तो चरित्रले र मन्त्री बनाउन उनैको टिमले व्यापारीसँग २ करोड रुपैयाँ पैसा माग्न लगाएको आशंकालाई बल दिएको छ। यी समग्र कारणले उनको भोट पहिलाभन्दा धेरै घट्ने सम्भावना छ।’’

गौतमचोककै ध्रुव श्रेष्ठ भने मंसिरको चुनावमा मतदाताले रास्वपाका उम्मेदवारलाई मत दिएपछि कांग्रेस-एमाले गुमेको मतको अङ्क गणित मिलाउन हदैसम्म प्रयासरत देखिएको बताउँछन्। उनी भन्छन्, ‘‘कसलाई भोट दिन्छु त्यो त भन्दिनँ। तर, मंसिरको चुनावपछि एमाले र कांग्रेस दुवै पार्टीले रविलाई गएको भोट आफ्नोतिर तान्न प्रयासमा छन्। उनीहरू पनि राम्रो माहोल बनाउन लागिपरेका छन्।’’

गौतम चोकमा लागेको हाटबजारमा सामान बेच्दै

त्यहीँका धर्मराज थापा भन्छन्, ‘‘वर्षौंदेखि हामी एमालेका मतदाता हौँ। मंसिरमा भएको चुनावमा भोट घण्टीमा दिएका थियौँ। अब कसलाई दिने भन्ने घरसल्लाह गर्छौं।’’

जे होस्, उपचुनावपछि रवि आफ्ना निर्णय पुनर्विचार गर्ने, अनि आत्म समीक्षाका लागि ठाउँसमेत खोल्न सक्ने कतिपयको आकलन छ। ‘‘मंसिरको चुनावपछि रवि सत्तामा जान हतारिए। काम गर्नको लागि जुन मन्त्रालय गएपछि हुन्थ्यो। तर, उनले आफ्नो मुद्दा प्रभावित पार्न र मालदार मन्त्रालयको रुपमा गृहमै अडान लिए। सत्तालिप्सा, स्वार्थलगायतका अरू धेरै गतिविधि पुरानै दलको भन्दा फरक देखिएन। यसकारण मतदाताले यो विचार गरेर भोट हाल्नेछन्। त्यसपछि रविलाई आत्म समीक्षाको बाटो खोल्नेछ’’ भरतपुर १५ का जीवन गुरुङ भन्छन्।

गौतम चोकमा लागेको हाटबजारमा सामान बेच्दै

-फोटो : सरोज बस्नेत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved