ग्राउन्ड जिरो– तनहुँ १

घण्टी ध्वनिको इपिसेन्टर चितवन, परकम्प तनहुँ !

गोविन्दलाई स्वर्णिमको डर, खनाललाई जोशीको भर

रास्वपाबाट उम्मेदवार बनेका डा वाग्ले पनि निर्वाचन जितेर इतिहास लेख्ने दाउमा छन् । तर गत चुनावमा उनको पार्टीको निकै थोरै मत थियो। अरू दलका र स्वतन्त्र मतदाता तान्नु उनको प्रमुख चुनौती हो।

नेपालभ्युज

घण्टी ध्वनिको इपिसेन्टर चितवन, परकम्प तनहुँ !

तनहुँ। ‘‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई तनहुँवासीले किन मत हाल्ने ? टुरिस्ट उम्मेदवारलाई भोट हालेर के गर्ने ?’’ सोमबार दिउँसो तनहुँको सदरमुकाम ब्यासमा एमालेको सभामा एक नेताले भाषणमा भने।

उम्मेदवार सर्वेद्र खनाल प्रचारका लागि गाउँगाउँमा रहेकाले उनी त्यहाँ आउन भ्याएनन्। अरू नेताहरूले नै भोट माग्दै थिए। सम्बोधनमा रास्वपाका उम्मेदवार स्वर्णिमलाई मतदान नगर्न भन्दै एमालेका जिल्लास्तरका नेताले धूवाँधार भाषण गरे। यसबाट पनि थाहा हुन्छ, तनहुँ १ मा एमालेलाई स्वर्णिमको डर छ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँमा हुँने उपनिर्वाचनमा मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाबीच प्रतिस्पर्धा छ। कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

चुनावी प्रचारमा रहेका नेताहरु आफ्नो एजेन्डा राख्न भन्दा एक अर्कालाई गाली गर्न व्यस्त छन् । तनहुँ १ मा आँबुखैरेनी, देवघाट र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन्। यस क्षेत्रमा अहिले चुनावी माहोल तातेका छन्।

चितवनमा ‘रवि मोह’, तर अघिल्लो चुनावको मत जोगाउन चुनौती

कांग्रेसका भट्टराई मत संरक्षण गर्दै विरासत जोगाउने रणनीतिमा छन्। यसअघि रामचन्द्र पौडेलले २५ हजार बढी मतान्तरले जितेका थिए। रास्वपाका डा. वाग्ले र एमालेका खनाल विरासत भत्काएर जित निकाल्ने दाउमा देखिन्छन्।

कांग्रेसलाई पार्टी छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले भोट काट्ने डर छ । अर्कातिर असन्तुष्ट गोविन्दराज जोशी पक्षलाई रिझाउन हरसम्भव प्रयत्न गरिरहेको छ। तर, कांग्रेस फर्कन लचक देखिएका छैनन् । जोशीले ७ हजार मत आफूसँग रहेको दाबी गर्दै आएका छन्।

मङ्सिरको निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए। एमाले नेता हरि प्रसाद सिग्देल भन्छन्, ‘‘एमाले आफ्नो मत जोगाएर चुनाव जित्ने दाउमा देखिन्छ। कांग्रेसको मत स्वर्णिमले काट्छन्। यसकारण एमालेले आफ्नो मत जोगाएमात्रै विजयी हुने आत्मविश्वास नेताहरूमा छ।’’

अर्कोतर्फ जोशी समूहलाई कांग्रेससँग मिल्न नदिने एमालेको रणनीति छ। एमालेले आफ्नो मत सुरक्षित राखी जोशी समूहको मत तान्ने जोडबल गरिरहेको कार्यकर्ताहरू बताउँछन्। किनकि मंसिरकै चुनावमा जोशी र एमाले उम्मेदवारले ल्याएको मत नै विजेता रामचन्द्र पौडेलको भन्दा बढी थियो।

तसर्थ पनि एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई जोशीको भर चाहिएको नेताहरु बताउँछन्। ‘‘कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले कांग्रेसकै भोट काट्दा आफूहरूलाई फाइदा हुने एमालेको आकलन छ।’’

एमाले उम्मेदवार खनालले भानु,व्यास र बन्दिपुरको पुरै मत पाउने अधिकारीले दाबी गरे। आँबुखैरेनीको पनि भोट पाउने एमालेको विश्वास छ। आँबुखैरेनीमा माओवादीको धेरै भोट रहेको र उक्त भोट यस पटक एमालेलाई आउने एमाले उम्मेदवार खनालको विश्वास छ। रामचन्द्र पौडेलका बागी तथा मंसिर ४ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको मत पनि एमालेले पाउने उसको दाबी छ।

रास्वपाबाट उम्मेदवार बनेका डा वाग्ले पनि निर्वाचन जितेर इतिहास लेख्ने दाउमा छन्। तर गत चुनावमा उनको पार्टीको निकै थोरै मत थियो। प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए। रास्वपाका एक नेताले भन्छन्, ‘‘देशभर हाम्रो लहर छ। यसपाला घण्टी बजाउनुपर्छ, ’’ रास्वपाका एक नेताले भने।

घण्टीको ध्वनिसँग झस्किरहेका दुई ठूला दलका जिल्ला अध्यक्ष, मत फर्काउन रस्साकस्सी

वाग्लेले प्रमुख दलका उम्मेदवारको भोट तान्ने प्रयास गरेका छन्। मंसिर चारको निर्वाचनमा पनि कांग्रेस र एमालेका उमेदवारबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। गठबन्धनको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय १८ मत ल्याएर चुनाव जितेका थिए।

एमालेका एकबहादुर रानाले झन्डै २० हजार मत प्राप्त गरेका थिए। रास्वपाका विकास सिग्देलले ६ हजार भन्दा धेरै मत ल्याएका थिए भने स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए।

तर, अहिले माहोल फेरिएकाले चितवन २ का उम्मेदवार रवि लामिछानेको प्रभाव तनहुँ १ मा परेको कतिपयको भनाइ छ। डुम्रे २ तुरतरेका सूर्य श्रेष्ठ रास्वपाको लहर भएकाले वाग्लेले जित्ने दाबी गर्छन्।

विष्णुमाया अधिकारी थप्छिन्, ‘‘एमाले उम्मेदवार सर्वेन्द्र खनाल पहिले काठमाडौंमा उठ्नुभयो। हारेर अहिले यता आउनुभयो। कांग्रेसका पनि उस्तै छन्। अब नयाँ र अर्थबारे राम्रो जानकार भएका स्वर्णिम वाग्लेले जित्नुपर्छ।’’

जसप्रति किन उघ्रिएन जनप्रतिनिधिको दृष्टि ? के चाहन्छन् चितवन- २ का मतदाता ? (भिडिओ)

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा प्रमुख बालेन शाह, धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङ, धनगढी उपमहागरपालिकाका प्रमुख गोपी हमालदेखि मंसिर चारको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारको जित्ने माहोल पनि अन्तिम समयमा आएर बनेको थियो।

यसर्थ तनहुँ १ मा रास्वपाका स्वतन्त्र उम्मेदवार वाग्लेको जित हुने कतिपयको आकलन छ। तर, अर्कोतिर उपचुनावमा नेता कार्यकर्ता हौसिए पनि मतदातामा भने उत्साह देखिएको छैन।

मंसिर ४ को निर्वाचनबाट चुनिएका प्रतिनिधि (रामचन्द्र पौडेल) मुलुकको राष्ट्रपति बनेपछि सो ठाउँमा पुन चुनाव हुन लागेको हो। मंसिर ४ मा तनहुँ–१ मा ६८ हजार १ सय ५८ मत खसेको थियो। तनहुँ जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरि ढकालका अनुसार आगामी वैशाख १० गतेको उपचुनावमा लागि १ लाख २३ हजार ३ सय ५ मतदाता छन्। ६९ मतदानस्थल तथा १५२ मतदान केन्द्र तोकिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved