सिंहदरबारको फोहोर नउठाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा रिट

नेपालभ्युज

सिंहदरबारको फोहोर नउठाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ ।

वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै रिट दर्ता गरेका हुन्।

उनले फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार नै प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालत स्रोतको भनाइ छ।

महानगरपालिकाका मेयर बालेन साह र सरकारबीच द्वन्द्व बढ्दै जाँदा फोहोर नउठाउनेदेखि सिंहदरबारलाई अन्यत्र सार्ने सम्मको चुनौती सामाजिक सञ्जालमार्फत बालेनले दिएका थिए। मेयर साहले संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै आक्रोश पोखेका छन्।

उनले संघीय सरकारलाई भारत र चीनले बनाइदिएको सरकार भन्दै उसका निर्देशन नमान्नेसमेत बताउँदै आएका छन्। विवाद बढ्दै गएपछि मेयर साहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका थिए। मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर उठेको छैन।

खासगरी,  काठमाडौंको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालय र स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै मेयर साहले संघीय सरकारबिरुद्ध फोहोर नउठाउने घोषणा गरेका हुन्। सरकारले पनि बालेनको अभिव्यक्तिलाई अराजक भन्दै टिप्पणी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved