ढकमक्क फूलले मनमोहक बन्यो अलकापुरी नगरी (तस्वीरहरू)

नेपालभ्युज

ढकमक्क फूलले मनमोहक बन्यो अलकापुरी नगरी (तस्वीरहरू)

काठमाडौं। आदिकवि भानुभक्त आचार्यले ‘अलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौँप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रूप देखाएको छ ।

वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ । तुवाँलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनसँगै रङ्गीचङ्गी फूल र हरियालीले सङ्घीय राजधानी काठमाडौँलाई मनमोहक बनाएको छ । काठमाडौँ उपत्यकाका सडक किनारमा फुलेका फूलहरूले जो कोहीलाई पनि मोहित पार्छ ।

डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले ।
बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली ।
गोठालाले वन वन डुली हाल्न थाल्यो सुसेली ।।

राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौँको वैशाखको फूल फूलको सहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूल फूलले ढाकेको छ ।

वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौँका सडक र किनारमा सवारी र पैदल यात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् ।

अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ । वसन्त ऋतुको सुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ ।

राजधानी काठमाडौँका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महसुस हुँदैन । सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरूसँग रमाइरहेका हुन्छन् । काठमाडौँका सडकहरूमा यति बेला विभिन्न प्रजातिका फूलहरू फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी मनमोहक तस्बिरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved