गृह मन्त्रालय र सबै सुरक्षा निकायहरुमा योग शिविर संचालनमा ल्याउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालभ्युज

गृह मन्त्रालय र सबै सुरक्षा निकायहरुमा योग शिविर संचालनमा ल्याउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग शिविर संचालनमा ल्याउने घोषणा गरेका छन् ।

योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै उनले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा त्यसलाई संचालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताएका हुन् ।

श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार काठमाडौंंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यान र योगले फाईदा गर्ने भएकाले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललगातका नेताहरुलाई पनि केही समय यसलाई दिन भन्ने गरेको बताए ।

आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई पटक त्यसका लागि आफू २० दिन ध्यानमा बसेको उनले स्मरण गराए । उपप्रधानमन्त्री श्रेष्ठले यस अघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा त्यहाँ पनि योग तथा ध्यान शिविर संचालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको समेत बताए ।

‘सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले ध्यान गर्नु अनिवार्य छ भन्छु म । मैले पार्टीको बैठकमा हाम्रो अहिलेको प्रधानमन्त्री, श्रद्धेय अध्यक्षलाई, एउटै पार्टीमा हुँदा बाबुरामजीलगायत सबैलाई भन्ने गर्थेँ–कमसेकम थोरै समय ध्यानलाई दिऊ’, उनले भने, ‘सही ढंगले काम अघि बढाउनका लागि यसले मद्दत नै गर्छ । म आफैं ध्यानमा बसेको छु दुई पटक । अहिले पनि ध्यानका कुनै केन्द्रहरुमा मेरो आशक्ति छ ।’

उनले यस भन्दा अगाडि झण्डै ३ महिना मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा  योग र ध्यानको शिविरहरु मन्त्रालय भित्रै चलाउने भनेर प्लान बनाएको तर त्यो लागू गर्न नपाएको स्मरण गराए  । उनले भने, ‘अहिले म गृह मन्त्रालयमा छु । गृह मन्त्रालयमा, नेपाल प्रहरीमा, सशष्त्र प्रहरी बलमा र अन्य प्रशासनिक संयन्त्रमा योग र ध्यानको शिविर संचालन गरेर यसलाई नियमित गर्ने पहलकदमी लिनेछु । ’

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकालाई सिंहदरवार, शीतल निवास र बालुवाटारको फोहोर उठाउदिन भन्न नमिल्ने बताए । कुनै एउटा सन्दर्भलाई लिएर काठमाडौं महानगरपालिका मेयर बालेन साहले भनेको प्रसंगलाई उधृत गर्दै उनले त्यसो भन्न मिल्छ कि मिल्दैन ? भनेर सोची दिन पनि आग्रह गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved