मन्त्रिपरिषद् विस्तार बिहीबार : कांग्रेसलाई अर्थ, माओवादीलाई गृह र समाजवादीलाई भौतिक

प्रधानमन्त्री प्रचण्डमाथि मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिनुपर्ने दबाबमा छन् । उनीमाथि माओवादी केन्द्रका मन्त्रीहरूले दबाब बढाएका छन् । 

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तार बिहीबार : कांग्रेसलाई अर्थ, माओवादीलाई गृह र समाजवादीलाई भौतिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद्को हेरफेर, आंशिक पुनर्गठन र विस्तार गर्ने भएका छन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्रीको जिम्मेवारी दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीलाई समेत मन्त्रिपरिषद्‌मा सहभागी गराउने भएका हुन् ।

गृह मन्त्रालय माओवादी आफैँले राख्ने र भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठको मन्त्रालय हेरफेर भएको हो । उनी उपप्रधानसहित गृहमन्त्री हुनेछन् ।

यसैगरी सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको समेत मन्त्रालय हेरफेर हुनसक्ने माओवादी स्रोतको भनाइ छ । सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किरातीको भने सोही मन्त्रालय यथावत् रहनेछ ।

एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएसँगै पार्टी उपाध्यक्ष डा. बेदुराम भूसाल मन्त्री हुने भएका छन् । एकीकृत समाजवादीले अझै कृषि वा वन मन्त्रालय र श्रम मन्त्रालयमध्ये दुईमा दाबी गरेको छ ।

उता कांग्रेसले पनि उपप्रधानसहित केही नेतालाई भोलि सरकारमा पठाउने भएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने र त्यसमा कांग्रेस सहभागी हुने बताएका छन् ।

स्रोतकाअनुसार कांग्रेसले पूर्णबहादुर खड्का, धनराज गुरुङ र सीता गुरुङलाई भोलि मन्त्रिपरिद्‌मा पठाउने छ । कांग्रेसले डा. प्रकाशशरण महत र एनपी साउतलाई पनि मन्त्री बनाउन सक्ने स्रोत बताउँछ ।

मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल चलिरहेका कारण साना दलको भने अझै टुङ्गो लाग्न बाँकी छ । यद्यपि आजै साँझ बस्ने गठबन्धनको बैठकमा थप छलफल र निर्णय हुन सक्ने नेताहरूको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डमाथि मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिनुपर्ने दबाबमा छन् । उनीमाथि माओवादी केन्द्रका मन्त्रीहरूले दबाब बढाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved