विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन्।

नेपालभ्युज

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन्।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू तथा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा कोषका योजनाहरूमा आबद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले भने ‘‘अब दुख दिने। दुख पाउने दिन गए। अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ। यहाँहरूको योगदानको कदर हुनेछ। ज्ञान, सीप, पुँजी र प्रविधिको यहाँहरूकै हित र देश हितमा प्रयोग हुनेछ। यो सरकारको प्राथमिकता र प्रतिबद्धता यही हो।’’

उनले वैदेशिक रोजगारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यहरूको खोजी गर्ने मन्त्रालयको तयारीलाई समेत प्रोत्साहित गर्न चाहेको उल्लेख गरे। श्रम सम्झौता हुन बाँकी देशहरूसँग सम्झौता गर्ने, भइसकेका सम्झौताहरूलाई समय सापेक्ष बनाउने कार्यलाई अगाडि बढाई लागि विदेशमा रहेका नेपालीहरूको हक, हित, सुविधा बढोत्तरी गर्ने र त्यसबाट हुने लाभलाई गुणात्मक रूपमा बढाउने कुरा यो सरकारको प्राथमिकतामै रहेको जानकारी दिए।

प्रधानमन्त्रीले अध्यागमनमा हुने रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने युवाहरूप्रति हुने फरक व्यवहार गरिने व्यवस्था अन्त्य भएको बताए। सरकारको प्राथमिकता भनेको जनतामुखी सेवा प्रवाह नै हो भन्ने विश्वास दिलाउन चाहेको उनले स्पष्ट गरे।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू तथा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा कोषका योजनाहरूमा आबद्ध गराउने सम्बन्धी समुद्घाटन समारोहलाई गरिएको सम्बोधन–

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू तथा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा कोषका योजनाहरूमा आबद्ध गराउने सम्बन्धी समुद्घाटनको यो विशिष्ट एवं ऐतिहासिक समारोहमा मलाई निमन्त्रण गरी यस समारोहमा केही शब्द राख्ने अवसर दिनुभएकोमा म आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु।

यस सामाजिक सुरक्षा योजनालाई सार्थक बनाउने कार्यमा अहोरात्र खटिनुहुने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक लगायतको पुरै टिम एवं कोषका अध्यक्ष साथै मन्त्रालयका सचिव लगायत कर्मचारीको पुरै टिमलाई समेत म धन्यवाद दिन चाहन्छु। यहाँहरूकै मेहनत, प्रयास, अध्ययनका कारण आज हामी यो बिन्दुसम्म आइपुगेका हौँ। म यहाँहरूलाई नै यसको पुरै श्रेय दिन, र यहाँहरूको प्रयासको प्रशंसा गर्न चाहन्छु। अब आगामी दिनमा यही Spirit का साथ यो योजनाको प्रभावकारी कार्यान्वयनमा लैजानका लागि म व्यक्तिगत रूपमा र प्रधानमन्त्रीको रूपमा यहाँहरूलाई सधैँ साथ दिइरहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।

यसअघिका वक्ता साथीहरूले आजको कार्यक्रमको सान्दर्भिकता, यसको दूरगामी महत्त्व एवं प्रभावको सम्बन्धमा धेरै सान्दर्भिक र महत्त्वपूर्ण कुराहरू यहाँ बताइसक्नुभएको छ। यी विषयहरूलाई म दोहोर्‍याइरहन चाहन्न।
आज हामीले राजनीतिक लडाइँमा एउटा हदसम्म सफलता प्राप्त गरेका छौँ। हामीसँग आज समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छ। अबको बाटो भनेको हाम्रो त्याग, बलिदानले बनाएको यो संविधानको सफल कार्यान्वयन गर्दै शहीदहरूको सपना साकार पार्दै, जनताले प्राप्त गरेका अधिकारहरूलाई जोगाउँदै हामी सबैको समान आकाङ्क्षा आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्नु नै हो। यसका लागि सबैको रचनात्मक, सकारात्मक सहयोगको खाँचो छ।

उपस्थित सम्पूर्ण महानुभावहरू,
हजारौँ युवा, देशको उत्पादनशील जनशक्ति विश्वका विभिन्न देशमा रोजगारीकै लागि जानु परिरहेको अवस्था छ। दैनिक सयौँ को सङ्ख्यामा युवाहरू विदेशिइरहनुभएको यो अवस्थामा देशमै आन्तरिक रोजगारी सिर्जना गरी यो उत्पादनशील, संर्घषशील र जुझारु जनशक्तिलाई देशको विकास र समृद्धिका लागि लगाउनुपर्ने चुनौती हाम्रो सामु छ।

अहिले परिस्थिति बस, बाध्यतावश बिदेसिनु परे पनि विदेशमा रहेका सबै नेपालीहरू प्रति हाम्रो उत्तिकै माया र सद्भाव छ। ती युवाहरूले जहाँ रहे पनि जसरी पनि देशको अर्थतन्त्रलाई, योगदान पुर्याईरहनुभएको छ। देशको विकासमा योगदान पुर्याईरहनुभएको छ। हामीहरूलाई विभिन्न माध्यमबाट झकझकाइरहनुभएको छ, खबरदारी गरिरहनुभएको छ। यो अमूल्य छ। हामीले अब यहाँहरूको भावना अनुसार काम गर्दै रोजगारीकै लागि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास हाम्रो अबको बाटो हो।

आज यस कार्यक्रममार्फत विदेशमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन र यहाँहरूलाई कहीँ न कहीँ देशसँग जोडिरहन र राज्य यहाँहरूसँगै भएको भावना यहाँहरूलाई दिलाउने प्रयास गर्न पाएकोमा म अत्यन्तै हर्षित छु। अब सबै युवाहरू यो दूरगामी महत्त्वको कार्यक्रममा सहभागी भई लाभान्वित हुन र सुरक्षित महसुस गर्न आह्वानसमेत गर्न चाहन्छु। यो योजनाले यहाँहरूको भविष्य सुरक्षित गरेको छ।

जीवनको उत्तरार्धमा सबैको पेन्सन सुनिश्चित गरेको छ। साथै, आगामी वैशाख महिनादेखि शुरु हुने सबै अनौपचारिक, स्वरोजगार क्षेत्रका श्रमिकहरूसम्म समेत यो योजना पुग्ने निश्चित भएको हुँदा राज्यले दिने सामाजिक सुरक्षाको दायरा फराकिलो हुँदै गएको छ। यसबाट सामाजिक सुरक्षाको दायरामा आउने जनसङ्ख्या ह्यात्तै बढ्ने विश्वास मैले लिएको छु। हाम्रो १५औँ योजनाले लिएको ६० प्रतिशत जनसङ्ख्यालाई कुनै न कुनै रूपमा सामाजिक सुरक्षाको दायरामा ल्याउने लक्ष्यको प्राप्तिमा यसले धेरै ठूलो योगदान गर्नेछ भन्ने विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved