घटेका छैनन् सामुदायिक विद्यालयमा विद्यार्थी

नेपालभ्युज

घटेका छैनन् सामुदायिक विद्यालयमा विद्यार्थी
सांकेतिक तश्वीर

काठमाडौं। कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीहरूको अभाव र शिक्षाको गुणस्तरमा प्रश्न उठ्छ। निजी विद्यालयहरूसँगको प्रतिस्पर्धाका कारण सामुदायिक विद्यालयहरूलाई प्रश्न उठ्नु स्वाभाविक पनि हो।

तर, सबै सामुदायिक विद्यालय भने सोचे जस्तो कमजोर छैनन्। बरु निजी विद्यालयहरू भन्दा अब्बल र निजी विद्यालयहरूसँग प्रतिस्पर्धाका लागि निम्तो दिने पनि छन्। त्यसैमध्येको एक हो रुपन्देहीको बुटवलस्थित कान्ति माध्यमिक विद्यालय।

बुटवलका केही सामुदायिक विद्यालयहरूले निजी शिक्षण संस्थाहरूको दबाबलाई तोड्दै मुलुककै अब्बल विद्यालयको रूपमा आफूलाई स्थापित गरेका छन्।

बुटवल कालिका माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयले निजी शिक्षण संस्थाहरूको भन्दा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको स्थानीयहरू बताउँछन्।

त्यसैले पनि सो क्षेत्रका विद्यार्थीहरूको रोजाइमा कान्ति माध्यमिक विद्यालय पर्ने गरेको छ। विद्यालयमा विद्यार्थीहरूको चाप बढेसँगै विद्यालयको भौतिक संरचनाहरू व्यवस्थित बनाउने काम भइरहेको विद्यालय श्रोत बताउँछ।

कान्ति माध्यमिक विद्यालयमा अहिले पाँच हजारभन्दा बढी विद्यार्थीहरूले अध्ययन गर्छन्। विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यार्थीहरूका अभिभावकको चाहनाअनुसार कक्षा १० र १२ मा पढ्ने केही विद्यार्थीहरूको लागि होस्टेल सुरुवात गरेको समेत बताए। उनले विद्यालयको भौतिक संरचना पूरा हुने चरणमा रहेको बताए।

उनले विद्यालयमा रहेका संरचनालाई पूर्णरूपमा प्रयोगमा ल्याएको पनि बताए। नमुना विद्यालय छनोट कार्यक्रममा कान्ति माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयसमेत बनिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved