कित्ता क्लियर गर्न नसक्दा राप्रपा र रास्वपालाई संकट

अब राष्ट्रपतिमा कसलाई मत दिने भन्न नपाइने

नेपालभ्युज

कित्ता क्लियर गर्न नसक्दा राप्रपा र रास्वपालाई संकट

काठमाडौं। राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय समयमै गर्न नसक्दा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले अब राष्ट्रपति निर्वाचनको मतबारे बोल्न नपाउने भएका छन्।

हिजोदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेका कारण यी दुई दलसहित पाँच दलले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने भएका हुन्। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरूले औपचारिक निर्णय गर्न पाउँदैनन्।

राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दल पौडेलको पक्षमा छन्।

त्यसैगरी, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पक्षमा अहिलेसम्म एमाले एक्लै छ। राष्ट्रपतिका दुई उम्मेदवार पौडेल र नेम्वाङमध्ये कतै नखुलेका राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी छन्।

रवि लामिछाने नेतृत्वको रास्वपाले २५ गते बिहान मात्रै निर्णय लिने बुझिएको छ । यसैगरी, राप्रपाले बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय लिने भनेको छ।

उता निर्वाचन आयोगले भने अब कसैले कित्ता क्लियर गर्न खोजेमा नपाइने र गरेमा कारबाही हुने जनाएको छ।

‘अहिलेसम्म नखुलेका कुनै दलले पक्षधरता देखाएर निर्णय लिएमा आयोगले प्रष्टीकरण सोध्नेछ’ आयोग स्रोतले भन्यो–‘अटेर गरेमा आयोगले प्रस्टीकरण सोध्छ, कारबाही हुन्छ । पार्टीका फलाना उम्मेदवारलाई भोट दिन्छौँ भनेर निर्णय गरिए भने ती कारबाहीको दायरामा आउँछन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved