माओवादी र उच्च अदालत बारबीच विज्ञप्ति वार

नेपालभ्युज

माओवादी र उच्च अदालत बारबीच विज्ञप्ति वार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीन वर्ष अघिको अभिव्यक्तिलाई लिएर सर्बोच्चले निवेदन दर्ताको आदेश दिएपछि नेपाली राजनीतिमा गर्मी बढेको छ।

यही विषयमा माओवादी पार्टीका पूर्व नेताहरूले आईतवार एउटै मञ्चबाट संयुक्त प्रतिवाद गरे भने माओवादी केन्द्रले विज्ञप्ति निकालेर विरोध गर्‍यो।

सोही विज्ञप्तिको जवाफमा उच्च अदालत बार एशोसियसन पाटनले आपत्ति जनाएको छ। उच्च बारका सचिव रवीन्द्रकुमार ढुंगानाले विज्ञप्ति जारी गर्दै न्यायाधीशहरूको नामसमेत उल्लेख गरी न्यायपालिकाप्रति हस्तक्षेप गर्ने अभिप्रायले सर्वोच्च अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेकोमा त्यसको भर्त्सना गरेका छन्।

बारको विज्ञप्तिमा भनिएको छ, ‘राज्य सञ्चालनको जिम्मेवार भूमिकामा रहेको राजनीतिक दलको तर्फबाट स्वतन्त्र न्यायपालिका एवं शक्ति पृथकीकरण सिद्धान्तविपरीत गैरजिम्मेवारीपूर्ण विज्ञप्ति प्रकाशन गर्नु तथा अभिव्यक्ति प्रकट गर्नु निन्दनीय विषय भएकाले घोर भर्त्सना गर्दछौं ।’

यसअघि, माओवादी महासचिव देव गुरुङले विज्ञप्ति जारी गर्दै अदालतको आदेश संविधान र शान्ति सम्झौताको मर्मविपरीत रहेको भन्दै आपत्ति जनाएका थिए । त्यसलगत्तै बसेको ९ दलीय सत्ता गठबन्धनको बैठकले पनि विज्ञप्ति जारी गरेको थियो ।

माओवादी केन्द्रका महासचिव गुरुङले न्यायाधिशको नाम किटान गरी न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डमाथि ५ हजार जनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै तीन वर्ष अगाडि लगिएको रिट सर्वोच्चले दर्ता गरेको थिएन।

अहिले प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध माओवादी पार्टीका महासचिव देव गुरुङले जारी गरेको विज्ञप्तिप्रति उच्च अदालत बार एशोसियसन पाटनले आपत्ति जनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved