देउवा–प्रचण्डलाई आफ्नै विद्यार्थीले दिए ‘तनाव’

दुवै पार्टीमा विद्यार्थी संगठन विभाजित, मिलाउनै सकस

नेपालभ्युज

देउवा–प्रचण्डलाई आफ्नै विद्यार्थीले दिए ‘तनाव’

काठमाडौं। आफ्नैं संगठनबाट पिटाइ खाएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई हस्पिटलमा भेट्न पुगेका कांग्रेस नेता शेखर कोइरालाले ‘अराजक र एकलौटी’ तवरले पार्टीका भ्रातृ संगठन चलाउन खोजेको भन्दै पार्टी संस्थापनको विरोध गरे।

आइतबार स्टार हस्पिटल सानेपामा उपचार गराइरहेका रिमालको स्वास्थ्य लाभको कामना गर्दै कोइरालाले भने–‘आफ्नै संगठनभित्र मारपिट हुनु दुःखद र अराजकता हो। मारपिटका दोषी जो भए पनि कारबाही हुनुपर्छ, गुन्डागर्दी गर्ने छुट कसैलाई छैन।’

कांग्रेसमा संस्थापन र संस्थापनइतर समूह भन्दै विद्यार्थीले समानान्तर गतिविधि चलाउँदै आएका छन्। जसले गर्दा आसन्न स्ववियु निर्वाचनलाई समेत असर पर्ने देखिन्छ। पार्टी सभापतिको एकल निर्णयले नेपाल विद्यार्थी संघको अध्यक्ष भएका दुजाङ शेर्पाकै निर्देशनमा आफूहरूमाथि आक्रमण भएको शेखर समूहका विद्यार्थी नेताहरूको भनाइ छ।

उता सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी पनि दुई गुटमा विभाजित छ । अध्यक्ष पञ्चासिंहलाई अस्वीकार गर्दै समानान्तर सांगठानिक गतिविधि गर्दै आएको पवन कार्की समूहले स्ववियु चुनावका लागि छुट्टै प्रतिनिधि खटाउने गरेको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थीका दुवै गुटका नेताहरूलाई बोलाएर छलफल गर्दै आएपनि निष्कर्ष निस्केको छैन। अखिल क्रान्तिकारीका पञ्चा सिंह र पवन कार्की समूह मिल्न नसक्दा स्ववियु चुनावमा समेत असर पर्ने स्पष्ट छ।

प्रधानमन्त्री प्रचण्डले सिंह र कार्की पक्षका नेताहरूलाई बोलाएर चुनावमा सङ्गठन एक बनाउन पहल गरेको तर, त्यसमा सबै एक हुने अवस्था नभएको समानान्तर कमिटी चलाउँदै आएका कार्की समूहका एक विद्यार्थीले बताए ।

‘स्ववियु चुनावसम्म मिलेर जाने र चुनावपछि समाधान खोज्ने अध्यक्ष प्रचण्डको भनाइ हो’ उनले भने–‘पार्टी अध्यक्षको सुझावपछि दुवै पक्ष एक भएर जाने विषयमा कुराकानी भए पनि सहमति भएको छैन।’

यसरी एउटै संगठनभित्र दुई धारमा रहेका विद्यार्थी नेताहरू स्ववियु निर्वाचनमा मिलेर जान नसक्दा अध्यक्ष प्रचण्डसमेत तनावमा छन्। एकातिर संगठन नै कमजोर रहेको अवस्था र अर्कोतिर आठदलीय गठबन्धनका विद्यार्थी मिलेर चुनावमा जानुपर्ने बेला आफ्नै संगठनमा दुई धार हुनु दुःखद् भएको माओवादी नेताको भनाइ छ।

कांग्रेसको विद्यार्थीभित्रको दुःख पनि उस्तै छ । सभापति शेरबहादुर देउवाले संस्थापन पक्षलाई मात्रै आठदलीय विद्यार्थीको मोर्चामा सहयोग गर्ने मनसाय देखाएको र अध्यक्ष शेर्पाले पार्टी सभापतिकै इसारामा संगठन चलाएको भन्दै कोइराला पक्षले असन्तुष्टि जनाएको छ ।

तर, आफूनिकट विद्यार्थी नेताहरूलाई रत्तिभर पनि निराश नहुन र उच्च मनोबलका साथ स्ववियुको तयारीमा लाग्न कोइरालाको निर्देशन छ। ‘म पार्तीमा सिरियस कुरा राख्छु, एकलौटी तवरले संगठनलाई चलाउन दिन्नौं’ कोइरालाले आफूनिकट विद्यार्थी नेतालाई भने–‘हेपिएर होइन, प्रतिरोध गरेर अगाडि बढ्नुहोस्।’

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचनका लागि दुवै पक्षले प्रतिनिधि खटाएपछिकोे विवाद मिलाउन बसेको छलफलमा कुटपिट नै भएको थियो । अध्यक्ष शेर्पाले त्रिवि कीर्तिपुरका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराई तोकेका थिए । नेता शेखर कोइराला पक्षधरले प्रवीण कैनीलाई प्रतिनिधि बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved