सुवास नेम्वाङले भेटे सिके राउत, मतदानका लागि आग्रह

नेपालभ्युज

सुवास नेम्वाङले भेटे सिके राउत, मतदानका लागि आग्रह

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

शुक्रबार पार्टीका नेताहरुसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग भेटगरी राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गरेका हुन् ।

राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरुको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताएको भेटमा सहभागी एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंशा गरेका थिए। एमालेका नेताहरुले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।

एमाले उपमहासचिव गुरुङले भने, ‘हामीले जनमत पार्टीका अध्यक्षज्यूसँग हाम्रो पार्टीका तर्फबाट उम्मेदवार बनाइनु भएका पूर्व सभामुख, संविधानसभाका अध्यक्ष, हाम्रो पार्टीको पनि उपाध्यक्ष माननीय सुवास नेम्वाङको बारेमा उहाँलाई बतायौं ।’

‘हाम्रो पार्टीको उम्मेदवारलाई जिताउनका लागि उहाँहरुसँग पनि सहयोग माग्यौं, हाम्रो मागमा जनमत पार्टीको अध्यक्ष चन्द्रकान्त राउतजीले पनि हाम्रो उम्मेदवार सुवासचन्द्र नेम्वाङको महत्वपूर्ण भूमिका रहेको र उहाँलाई नेशनल युनिटीको उपयुक्त पात्र देखिनु भएको छ’, उनले भने, ‘त्यसमा चाँही उहाँले आफ्नो पार्टीको तर्फबाट अहिले नै निर्णय भईनसकेको तर उहाँप्रतिको उहाँहरुको सदभाव, उहाँप्रति उहाँको शुभकामना छ भन्नु भएको छ । उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं उहाँले भन्नु भएको छ ।’

यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरुले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरुलाई बताएका थिए । संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत मागेको र आफूले पार्टी भित्र छलफल गरेर जवाफ दिने कुरा गरेको उनले बताए ।

‘अव राष्ट्रपतिमा उहाँले उम्मेदवारी दिनु भएको छ, त्यही मत माग्नका लागि उहाँ आउनु भएको थियो । त्यस विषयमा आफ्नो योगदानको उल्लेख गर्दै संविधान जारी गर्दाको बेलाका योगदान उल्लेख गर्दै, संविधानको संरक्षणमा पनि राम्रो भूमिका निर्वाह गर्न सक्नु हुन्छ भनेर कुरा बताउँदै उहाँले मत माग्नु भएको हो’, अध्यक्ष राउतले भने, ‘हामीले पनि अव छलफल राख्छौं । अनि मात्रै जवाफ दिन्छौं भनेर अहिले भनेका छौं ।’

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका लागि काँग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी केन्द्रसहितका ८ राजनीतिक दलहरुको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved