रामचन्द्रले ८८२ जनालाई पत्र पठाउँदै भने, ‘सत्तामा हुँदा गल्ती गरेको छैन, राष्ट्रपतिमा जिताइदिनू’

नेपालभ्युज

रामचन्द्रले ८८२ जनालाई पत्र पठाउँदै भने, ‘सत्तामा हुँदा गल्ती गरेको छैन, राष्ट्रपतिमा जिताइदिनू’

काठमाडौं। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा आफूलाई मत दिएर जिताउन आग्रह गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ८८२ जनालाई पत्र पठाएका छन्।

राष्ट्रपति निर्वाचनका लागि मत माग्दै पौडेलले राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई पत्र पठाएका हुन्। पत्रमा रामचन्द्रले ‘भावुक’ बनाउने शब्द समेत राखेका छन्।

‘निर्दलीय निरङ्कुश सत्तासँग म झुकिनँ र पञ्चायतको तीसवर्षे कार्यकालमा आधा समय त मैले जेलमै बिताएको हुँ’ उनले लेखेका छन्–‘सानैदेखि संघर्ष थालेको र सत्तामा हुँदा आफू कहीँ कतै नचुकेकोले राष्ट्रपतिमा जिताइदिनुहोला।’

पौडेलले पत्रमा शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको समेत बताएका छन्।

बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनहरूमा पनि कहीँ कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधीनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दूर कोशिस गर्दै आएको समेत पत्रमा उल्लेख गरेका छन्।

उनले पत्रमा भनेका छन्–‘राजनीतिक विचारधाराको इन्द्रमा अल्मलिन नपरोस् भनेर समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछु’ पौडेलले नेपाली जनतामा खुसियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र शासन हो भन्नेमा आफ्नो विश्वास छ रहेको बताएका छन्।

उनले अन्त्यमा भनेका छन्,–‘नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved