राष्ट्रपति भण्डारीमाथि उपाध्यक्ष अर्यालको गम्भीर आरोप

कार्यकारी अधिकार प्रयोग गर्न खोजेको देखियो

नेपालभ्युज

राष्ट्रपति भण्डारीमाथि उपाध्यक्ष अर्यालको गम्भीर आरोप

काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी अझै पनि देशको राष्ट्रपति बन्न नसकेको र नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको गम्भीर आरोप लगाएकी छिन्।

बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष अर्यालले एमालेले जुनसुकै विधेयक लैजाँदा पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गतिविधिले राष्ट्रपति देशको नभई पार्टीको जस्तो भएको बताइन्।

नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुईपटक फर्काएको प्रसंग उठाउँदै अर्यालले राष्ट्रपतिको त्यो कदम गलत दाबी गरिन्। ‘सरकारले दुईपटक लैजाँदासमेत विधेयक पास नगर्नु पीडादायी अवस्था हो’ उनले भनिन्–‘राष्ट्रपतिले अरुको इसारामा नागकिरता विधेयक रोकेको स्पष्टै देखियो।’

राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसाबले हेर्नुपर्नेमा राष्ट्रपति भण्डारीले त्यसो नगरी नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले अघि बढेको उपाध्यक्ष अर्यालको आरोप थियो ।

नागरिकताको समस्याले गाउँ-घरमा युवायुवतीहरू आत्महत्या गरेर मर्छौं समेत भनिरहेको भन्दै उनले संवैधानिक पदमा रहेको मान्छेले सधैं एमालेको मात्रै राष्ट्रपति जस्तो भइराख्नु दु:खद् पक्ष रहेको टिप्पणी गरिन्।

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेकोसमेत बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved