कसरी हुँदैछ राष्ट्रपति निर्वाचन ?

'विजयी हुन २६ हजार ३ सय ९४ मत चाहिन्छ'

समग्रमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा रहेका दलहरुको मतभारका दृष्टिमा कांग्रेस र एमाले हाराहारीमा देखिन्छन् ।

नेपालभ्युज

कसरी हुँदैछ राष्ट्रपति निर्वाचन ?

काठमाडौं। लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसका लागि शनिवार (आज) राष्ट्रपति उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ ।

संघीय संसद्‌् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा अहिले बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता र अपराह्न ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ । सोही स्थानमा फागुन २५ गते १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । त्यसलगत्तै मतगणना प्रारम्भ हुने र साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । राष्ट्रपतिको निर्वाचनमा सघीय संसद र प्रदेश सभाका सदस्य मतदाता रहनेछन् । संघीय संसद्‌का ३ सय ३१ र सातै प्रदेशका प्रदेश सभा सदस्य पाँच सय ५० गरी कूल ८ सय ८१ कायम छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको उम्मेदवार बन्न पाँचजना प्रस्तावक र पाँचजना समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । तत्काल कायम रहेको कूल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् ।

नेपालमा राष्ट्रपतिको पहिलो निर्वाचन विसं २०६५ साउन ४ गते भएको थियो । उक्त निर्वाचनमा पाँच सय ७८ सदस्यले मतदान गरेका थिए । तर, पहिलो चरणमा ५० प्रतिशत कसैको नआएपछि साउन ६ गते दोस्रो चरणको निर्वाचन भयो । दोस्रो चरणको निर्वाचनमा डा. रामवरण यादवले तीन सय आठ र सिंहले दुई सय ८२ मत प्राप्त गरेका थिए । यसरी यादव बहुमत प्राप्त गरी नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।

संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको एक भोटको ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ सांसद छन् । राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८/८ जना र मनोनीत तीनजना गरी ५९ सदस्य छन् । यसरी संघीय संसद्‌का ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्छन् । जसको मतभार २६ हजार ३ सय ८६ हुन आउँछ । सातवटै प्रदेश सभामा ५५० सदस्य छन् । उनीहरूको कुल मतभार २६ हजार चार सय हुन आउँछ ।

राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ । यद्यपि, निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीमा २ सांसदको मतदाता सूचीमा नाम छैन ।

दलहरूको मतभार हेर्दा नेपाली कांग्रेसको संघीय संसद्‌मा ७ हजार आठ सय २१, प्रदेश सभामा ८ हजार चार सय गरी जम्मा १६ हजार दुई सय २१ छ । दलहरूमा यो सबैभन्दा धेरै हो ।

यसैगरी, नेकपा एमालेको संघीय संसद्‌मा ७ हजार पाँच सय पाँच र प्रदेशमा सात हजार सात सय ७६ गरी जम्मा १५ हजार दुई सय ८१ छ । यता नेकपा माओवादी केन्द्रको संघीयमा तीन हजार सात सय९९ र प्रदेशमा तीन हजार नौ सय ३६ गरी सात हजार सात सय २८ मत छ । आजको दिनमा यो निर्णायक मत हो ।

यसैगरी, नेकपा एकीकृत समाजवादीको दुई हजार चार सय ७८ मत छ । राप्रपाको दुई हजार दुई सय १० मत, जसपाको दुई हजार ९७ मत, रास्वपाको एक हजार पाँच सय ८० र जनमत पार्टीको एक हजार दुई सय ४२ मत छ।

राष्ट्रपति निर्वाचनमा लोसपाको आठ सय २७ मत, नागरिक उन्मसक्तिको सात सय ६५ मत र नेमकिपाको दुई सय २३, राष्ट्रिय जनमोर्चा एक सय ५८ मत, हाम्रो नेपाली पार्टी ९६ मत र स्वतन्त्रको एक हजार दुई सय ९७ मत छ ।

समग्रमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा रहेका दलहरुको मतभारका दृष्टिमा कांग्रेस र एमाले हाराहारीमा देखिन्छन् । माओवादी केन्द्र तेस्रोमा छ । संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५० प्रतिशत अर्थात्, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ ।

अब हेरौं मतभार अनुसार अवस्थाः

कांग्रेस १६,२२१

एमाले १५,२८१

माओवादी केन्द्र ७,७२८

एकीकृत समाजवादी २,४७८

लोसपा ८२७

राजमो १५८

राप्रपा २,२१०

जसपा २०९७

रास्वपा १५८०

नाउपा १२४२

नेमकिपा २२३

राष्ट्रिय जनमोर्चा १५८

हाम्रो नेपाली पार्टी ९६

स्वतन्त्र १२९७


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved