डिजिटल स्कुल कार्यक्रम : प्रविधि आयो, छैन जनशक्ति

डिजिटल स्कुल कार्यक्रम : प्रविधि आयो, छैन जनशक्ति

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५-०७६ मा कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रका २४ वटा विद्यालयलाई ‘डिजिटल स्कुल कार्यक्रम’ सञ्चालन गरेको छ । डिजिटल स्कुल कार्यक्रमअन्तर्गत डिजिटल विद्यालय सञ्चालनमा ल्याएको भए पनि ती विद्यालयहरूमा प्रविधि पुगेको भए पनि त्यो चलाउने दक्ष जनशक्ति नहुँदा कार्यान्वयनमा आउन समस्या भएको हो ।

सोलार-बिजुलीको पहुँच, माध्यमिक तहमा कम्प्युटर विषयमा अध्ययन-अध्यापन, कम्प्युटरसम्बन्धी ज्ञान भएको जनशक्तिको उपलब्धता, विद्यालयको भौतिक तथा सुरक्षा अवस्था, लाभान्वित विद्यार्थीको अभिरुचि, इन्टरनेट सेवाको उपलब्धता र विद्यालयको माग, तत्परता, अपनत्व, दिगोपनलगाएतका मापदण्डलाई आधार मानेर कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका २४ विद्यालयलाई डिजिटल स्कुल कार्यक्रम सञ्चालन गरेको थियो ।

मापदण्डअनुसार छनोट हुने विद्यालयका लागि प्रारम्भिक चरणमा सरकारले प्रति विद्यालय १२ लाख ५० हजारका दरले कर्णाली प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालय कुल तीन करोड बजेट विद्यालयलाई हस्तान्तरण गरेको थियो ।

ती विद्यालय प्रविधिबाट शिक्षण सिकाइको अभ्यास गर्ने लक्ष्य राखिएको भए पनि त्यो चलाउने दक्ष जनशक्ति नहुँदा कसरी चलाउने भन्ने समस्या भएको सुर्खेत लेकबेसी नगरपालिका–६ सरस्वती माध्यमिक विद्यालय कल्याणका प्रधानाध्यापक नारायणदक्त तिवारीले बताए ।

‘विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्ने भनेर ल्यापटप, स्मार्ट बोर्ड र प्राजेक्टर किनेका थियौं ।’ उनले भने, ‘कक्षा १ देखि ३ र कक्षा ८ देखि १० कक्षा विद्यार्थी अध्यापन गर्ने कोठामा स्मार्ट अध्यापन गर्ने भनेका हौं । शिक्षक कसैलाई कम्प्युटर चलाउन आउँदैन । एक जना सरले मात्र स्मार्ट कक्षा पठाउनुहुन्छ ।’

लोकसेवा आयोगले शिक्षा भर्ना गर्दा कम्प्युटर अनिवार्य नभनेका कारणले प्रायः शिक्षकलाई स्मार्ट कक्षा सञ्चालनमा समस्या भएको प्रधानाध्यापक तिवारीले बताए । ‘सबै शिक्षकहरू पुराना हुनुहुन्छ । उहाँहरूलाई स्मार्ट कक्षा सञ्चालनमा समस्या भएको छ ।’ उनले भने, ‘तालिम दिने निकाय कुनै छैन । विद्यालयले तालिमको व्यवस्था पनि गर्न सकेको छैन ।’

कर्णाली प्रदेश सरकारले शिक्षकको दक्षता विद्यालयको आवश्यकता आधारमा प्रविधिबाट विद्यार्थीलाई अध्यायन गराउन चुकेका कारणले कर्णालीका डिजिटल स्कुलका अध्यायन गराउन समस्या भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय पूर्व डिन पिताम्बर ढकालले बताए ।

‘हाम्रो प्रदेशमा डिजिटल प्रविधिबाट विद्यार्थीलाई अध्यायन गराउने काम राम्रो हो ।’ उनले भने, ‘तर, कर्णाली प्रदेशका शिक्षक दक्षता, विद्युतको उपलब्धता लगायतका प्राविधिक कुरामा ध्यान नदिदाँ यो समस्या आएको हो ।’

स्मार्ट कक्षा सञ्चालनका प्रदेश सरकारले पैसा पठाएर मात्र नहुने त्यसका लागि शिक्षकहरूलाई प्रविधिसम्बन्धी जानकारी दिन आवश्य रहेको पूर्व डिन ढकालले बताए ।

कम्युटरमा शिक्षकका परिवार फिल्म हेर्छन्

स्मार्ट कक्षा सञ्चालनका लागि विद्यालयले खरिद गरेर ल्यापटपहरू शिक्षकको छोराछोरी फिल्म हेर्ने गरेका छन् । विद्यालयमा स्मार्ट कक्षा सञ्चालनका लागि १४ वटा ल्यापटप खरिद गरिएका ती सबै शिक्षकलाई सिक्नका लागि दिएको शिक्षकहरूले हालसम्म सिक्न नसकेकोे सुर्खेत लेकबेसी नगरपालिका–६ सरस्वती माध्यमिक विद्यालय कल्याणका प्रधानाध्यापक नारायणदक्त तिवारीले बताए ।

उनले भने, ‘सरहरूलाई कम्प्युटर सिक्नोस् भनेर दिएका छौँ । उहाँहरूले अझै सिकिसक्नुभएको छैन । घरमा लिएर छोराछोरी फिल्म देखाउने काम भएको छ ।’ उनले भने,‘त्यसका लागि शिक्षकहरूलाई कम्प्युटर सिकाउने तालिम आवश्यक रहेको छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved